आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

‘सूचनाको हकसम्बन्धी ऐनको प्रभावकारी कार्यान्वयन गर्नुपर्छ’

दैनिक नेपाल २०७८ फागुन ५ गते १६:०५

भादगाउँ, ५ फागुन । भक्तपुरका सरकारी कार्यालयले सूचनाको हकको प्रभावकारी कार्यान्वयन नगरेको पाइएको छ । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा गत कात्तिक ८ गते जिल्लास्थित सरकारी कार्यालयका सूचना अधिकारीको बैठकले सूचनाको हकको पूर्ण कार्यान्वयन गर्ने निर्णय गरेको भएपनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको पाइएको हो ।

बैठकले सूचनाको हकसम्बन्धी ऐन २०६४ को दफा ५ को उपदफा ३ र ४ तथा नियमावली २०६५ को नियम ३ बमोजिम प्रत्येक कार्यालयको प्रगती विवरणलगायतका सूचना तीन÷तीन महिनामा प्रकाशन गर्ने निर्णय गरेको थियो । तर सो निर्णय हालसम्म कार्यान्वयन हुन नसकेको बताइएको छ ।

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा आज यहाँ बसेको जिल्लास्थित सरकारी कार्यालयका सूचना अधिकारीको बैठकले विगतमा गरेको निर्णयको समीक्षा गर्दै सूचनाको हकसम्बन्धी ऐनको प्रभावकारी कार्यान्वयन गर्न थप निर्देशन दिएको सहायक प्रमुख जिल्ला अधिकारी सीता परियारले बताउनुभयो ।

“बैठकमा विगतका निर्णयको समीक्षा भयो । विविध कारणले निर्णय कार्यान्वयन नभएको पाइएपछि थप निर्देशन दिईएको छ,” उहाँले भन्नुभयो ।

बैठकले आर्थिक वर्ष २०७८÷७९ को साउनदेखि पुससम्मको विवरण तयार गरी आ–आफ्नो कार्यालयको वेबसाइट, सूचना पाटी तथा आधिकारिक सामाजिक सञ्जालमा सार्वजनिक गर्नुपर्ने र सोको जानकारी जिल्ला प्रशासन कार्यालयमा उपलब्ध गराउने निर्णय भएको सहायक प्रजिअ परियारले जानकारी दिनुभयो ।

त्यस्तै जिल्लाभरको सूचना माग र प्रवाहको तीन÷तीन महिनाको विवरण जिल्ला हुलाक कार्यालयले समन्वय गरी तयार गर्ने र सूचना अधिकारीको कामलाई चुस्त, दुरुस्त बनाउने विषयमासमेत निर्णय भएको उहाँले बताउनुभयो ।–रासस

प्रतिक्रिया
सम्बन्धित