शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

कृषि, पशुपक्षी तथा मत्स्य क्षेत्र रुपान्तरण मार्गचित्र सार्वजनिक

दैनिक नेपाल २०७८ फागुन ५ गते १३:१७

मकवानपुर, ५ फागुन । बागमती प्रदेश, कृषि तथा पशुपक्षी विकास मन्त्रालयले ‘कृषि, पशुपक्षी तथा मत्स्य क्षेत्रको रुपान्तरण मार्गचित्र प्रतिवेदन’ सार्वजनिक गरेको छ ।

मन्त्रालयका प्रवक्ता तथा योजना तथा अनुगमन महाशाखा प्रमुख राजन ढकालले मार्गचित्र अन्तर्गत प्रदेश कृषि विकास विधेयक, २०७८ र प्रदेश पोल्ट्री विकास विधेयक, २०७८ बमोजिम प्रदेश पोल्ट्री विकास बोर्ड गठनको मस्यौदा तयारी गरिएको जानकारी दिनुभएको छ ।

प्रदेशमा प्रदेश बीउबिजन गुणस्तर केन्द्र स्थापना, अनुदान कार्यक्रमको प्रभावकारिता अध्ययन गर्नका लागि अध्ययन समितिकोसमेत गठन गरिएको पत्रकार सम्मेलनमा उहाँले बताउनुभयो । त्यस्तै मत्स्य प्रवद्र्धन नीति, दुग्ध प्रवद्र्धन नीति, अनुदानग्राहीको आचारसंहिता, कृषक वर्गीकरण कार्यविधि, पशुपालनलाई थप व्यवस्थित बनाउन असल व्यवस्थापन अभ्यास मापदण्ड जस्ता नीतिका विषयमा छलफल भइरहेको बताउँदै प्रवक्ता ढकालले प्रदेशका रैथाने जातका बाली, रासायनिक मलबारे, माछापालन, पिपिआर खोप आभियान, एक वडा एक पशु स्वास्थ्य क्लिनिक स्थापनाका विषयमा काम भइरहेको उल्लेख गर्नुभयो ।

अनुसन्धान तथा प्रविधि विस्तार, सुशासन प्रवद्र्धन, अनुगमन र मूल्याङ्कन, मार्गचित्रमा उल्लेख भएका सरकारका न्यूनतम साझा कार्यक्रमलाई अघि बढाउने कार्य भइरहेको ढकालले बताउनुभयो । मन्त्रालयले बैमौसमी वर्षाका कारण धानबालीमा पुगेको क्षतिलाई कृषकलाई हिउँदमा लगाइने गहुँ÷तोरीको बीउ अनुदानस्वरुप प्रदान गरिएको पनि जानकारी दिनुभयो ।

मन्त्रालयले पशुमा लाग्ने पिपिआर रोगविरुद्ध सप्ताहव्यापीरुपमा खोप अभियान सञ्चालन गरेको छ । गत माघ २५ गतेदेखि फागुन २ गतेसम्म अभियान सञ्चालन गरी प्रदेशको ६९।७६ प्रतिशत भेडाबाख्रामा खोप लगाइएको हो । प्रदेशका १३ वटै जिल्लाको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र र स्थानीय तहमा कार्यरत भेटेरिनरी डाक्टरमार्फत एकैसाथ खोप सेवा प्रदान गरिएको हो ।

सो अवधिमा ९८५ वटा खोपकेन्द्र र ४३२ भ्याक्सिनेटरमार्फत खोप सेवा प्रदान गरिएको हो । मन्त्रालयले खोप लगाउन उपयुक्त उमेरका आठ लाख ३० हजार १८७ भेडाबाख्रालाई सो खोप लगाउन सफल भएको हो । उक्त अभियानअन्तर्गत काभ्रेपलाञ्चोकका ९९ हजार १८२, ललितपुरका २७ हजार ५८७, काठमाडौँका ३१ हजार ५५७, भक्तपुरका छ हजार १८१, सिन्धुपाल्चोकका १५ हजार ९५२ भेडाबाख्रालाई खोप लगाइएको हो ।

त्यस्तै चितवनका ७१ हजार ४१८, मकवानपुरको एक लाख ६६ हजार ४२३, धादिङको ८३ हजार २७०, नुवाकोटको एक लाख २० हजार १९, रसुवाको २३ हजार १६५, सिन्धुलीको ४५ हजार ८२५ र रामेछापको ४४ हजार ६१० भेडाबाख्रालाई पनि खोप लगाइएको मन्त्रालयको तथ्याङ्क छ ।

अभियानअन्तर्गत थोरै भेडाबाख्रापालन गर्नेको हकमा सामूहिकरुपमा र २० वटाभन्दा बढी भेडाबाख्रा भएको फार्ममा भने सम्बन्धित जिल्लाको स्थानीय तहको पशु सेवा शाखा तथा भेटेरिनरी अस्पतालबाट भ्याक्सिनेटर खटाई खोप सेवा प्रदान गरिएको हो ।

प्रदेश सरकारले खोप अभियानको प्रभावकारी सञ्चालनका लागि ‘भेडाबाख्रामा लाग्ने पिपिआर रोग नियन्त्रण तथा रोकथामका लागि सप्ताहव्यापी खोप अभियान सञ्चालन कार्ययोजना २०७८’ स्वीकृत गरी कार्यान्वयन गरेको छ । पिपिआर रोग लागेमा पशु बाँच्ने सम्भावना कम भएकाले यो रोग लाग्नै नदिन तीन महिना उमेर कटेका भेडाबाख्रालाई खोप लगाउनुपर्ने पशुपक्षी तथा मत्स्यविकास निर्देशनालय बागमती प्रदेशका निर्देशक डा रामप्रकाश प्रधानले बताउनुभयो ।

उहाँले यो खोप एकपटक लगाएको पशुलाई तीन वर्षसम्म लगाउनु नपर्ने बताउनुभयो । सप्ताहव्यापीरुपमा खोप अभियान सम्पन्न भएको भए पनि बाँकी भेडाबाख्रामा सम्बन्धित जिल्लाको स्थानीय तहको पशु सेवा शाखामार्फत खोप कार्य निरन्तर सञ्चालनमा रहेको उहाँले जानकारी दिनुभयो ।–रासस

प्रतिक्रिया
सम्बन्धित