
बोस्टन (अमेरिका), ५ फागुन । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)ले प्रत्येक दुई वर्षमा प्रदान गर्दै आएको ‘अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार–२०२१’ आगामी शनिबार एक समारोहबीच सर्जकहरूलाई समर्पण गरिने भएको छ ।
अनेसास बोर्ड अफ ट्रस्टिज पुरस्कार समितिको आयोजनामा हुने यो कार्यक्रममा ११ जना सर्जक पुरस्कृत हुँदैछन् । अनेसासले सन् २००३ देखि हरेक दुई–दुई वर्षमा प्रदान गर्दै आएको यो पुरस्कार कोभिडको महामारीका कारण यसपटक जुमका माध्यमबाट आयोजना गर्न लागिएको हो ।
नेपाली भाषामा सन् २०१९ जनवरी १ देखि सन् २०२० डिसेम्बर ३१ भित्रमा प्रकाशित विभिन्न विधाका पुस्तकहरू पुरस्कारका लागि छनोट भएका थिए । यसपटक पुरस्कृत हुनेहरूमा ‘मैदारो’ उपन्यासका लागि भूपिन खड्का (अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार, २१ सय डलर), ‘आमा किरणहरुकी छालमा’ र ‘वीर्य जमीन’ कृतिका लागि क्रमशः गीता कार्की र बादलदेवी चामलिङ (अनेसास माधव घिमिरे काव्य पुरस्कार, दुई हजार डलर, संयुक्त रुपमा), ‘वासदेखि पुनर्वाससम्म’ कृतिका लागि डा. लक्ष्मीनारायण ढकाल (होमनाथ सुवेदी डायस्पोरा वाङ्मय पुरस्कार, १२ सय डलर), ‘लेखककी छोरी’ कृतिका लागि जेएन दाहाल– (अनेसास सर्वोत्कृष्ट डायस्पोरा पुस्तक पुरस्कार, ११ सय अमेरिकी डलर), ‘पत्थरको देवता’ कृतिका लागि विद्याप्रसाद घिमिरे–(अनेसास सर्वोत्कृष्ट निबन्ध पुरस्कार, एक हजार डलर), ‘निर्वेद’ कृतिका लागि शैलैन्द्र अधिकारी– (अनेसास सर्वोत्कृष्ट उपन्यास पुरस्कार, एक हजार अमेरिकी डलर), ‘मरीचिका’ कृतिका लागि महेश थापा– (अनेसास सर्वोत्कृष्ट कथा पुरस्कार, एक हजार डलर), ‘घोराहीको थारु प्रदर्शनकारी कला’ कृतिका लागि डा. गोविन्द आचार्य र अशोक थारु– (अनेसास सर्वोत्कृष्ट समालोचना–दर्शन–संस्कृति पुरस्कार, एक हजार डलर, संयुक्त रुपमा) र ‘युगको सङघार’ कृतिका लागि टीका ‘आत्रेय’ पौड्याल– (अनेसास सर्वोत्कृष्ट गीत गजल हाइकू मुक्तक पुरस्कार, पाँच सय डलर) रहेका छन् ।
कार्यक्रममा विभिन्न सामाजिक सञ्जालबाट प्रत्यक्ष प्रशारण गरिने छ ।















प्रतिक्रिया