३० आश्विन २०८३, शुक्रबार

गठबन्धनमा आज ‘निर्णायक’ वार्ता

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवा जुनसुकै अवस्थामा पनि एमसिसी संसद्मा लगिछाड्ने अडानमा रहेपछि पाँचदलीय सत्तागठबन्धनमा ठूलो मतभेद देखिएको छ ।

सत्ता सहकार्य र एमसिसीको भविष्यबारे बिहीबार दिउँसो ३ बजे बालुवाटारमा गठबन्धनको ‘निर्णायक’ बैठक बस्दै छ ।

हरहालतमा एमसिसी संसद् लैजाने प्रधानमन्त्री देउवाको तयारी र एक्लै अघि बढे सरकारबाट बाहिरिने माओवादी र एकीकृत समाजवादीको अडानपछि गठबन्धनको भविष्य अन्योलमा छ । यही अन्योलबीच माओवादी अध्यक्ष प्रचण्डको आग्रहमा प्रधानमन्त्री देउवाले बिहीबार गठबन्धनको ‘निर्णायक’ बैठक बोलाएका हुन् ।

प्रधानमन्त्री देउवा बुधबार संसद् बैठकमा एमसिसी टेबुलको पक्षमा थिए । यसका लागि उनले कानुनमन्त्री दिलेन्द्र बडूमार्फत कार्य व्यवस्था परामर्श समिति बैठकमा एजेन्डासमेत प्रवेश गराएका थिए । तर, त्यहाँ सत्तारुढ दलहरूबीच सहमति नभएपछि बुधबार एमसिसी संसद्मा टेबुल हुन सकेन । संसद्को अर्को बैठक शुक्रबार बस्दै छ ।

आगामी बैठकमा जसरी पनि एमसिसी टेबुल गर्ने प्रधानमन्त्री देउवाको तयारी छ । आफ्नो पार्टीको संसदीय दलको बैठक सकेर प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार गएका माओवादी अध्यक्ष प्रचण्डले गठबन्धनमा अन्तिम छलफल गरेर मात्र अगाडि बढ्न सुझाएका थिए । सोहीअनुसार बिहीबारको बैठक गठबन्धनको भविष्यका लागि निर्णायक हुने सम्भावना छ ।

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले बिहीबारको बैठकले गठबन्धन र एमसिसीबारे अन्तिम फैसला गर्ने बताए । ‘एमसिसीमा अहिलेसम्म धेरै नै छलफल र बहस भइसकेको छ । गठबन्धनभित्र र बाहिर पनि कांग्रेसले सम्पूर्ण प्रयास गरेको छ । बिहीबार गठबन्धनभित्र रहेका अन्य दलको धारणा सुन्छौँ, त्यसपछि धेरै पर्खिने हुँदैन,’ प्रवक्ता महतले भने, ‘कांग्रेस आगामी बैठकमा एमसिसी टेबुल गर्ने पक्षमा छ । गठबन्धनभित्र सहमति जुटाउनैका लागि अन्तिम प्रयास गर्न बैठक बोलाइएको छ ।’ उनले बैठकमा पक्ष वा विपक्ष जे–जे भए पनि सबैले आ–आफ्नो धारणा राख्ने र अघि बढ्ने बताए ।

पाँचदलीय गठबन्धनमा रहेको जसपाबाहेक अन्य सबै दल एमसिसीमा स्पष्ट छन् । सबै दलले गठबन्धन जोगाएरै एमसिसी किनारा लगाउने प्रयास जारी राखेका छन् । तर, गठबन्धन बनाएर एउटै सरकारमा रहेका दलहरू कोही प्रस्तावको पक्ष त कोही विपक्षमा हुँदा सँगै रहने वा छुट्ने भन्ने बिन्दुमा पुगेका छन् ।

कांग्रेसले एमसिसी संसद्मा टेबुल गर्न पार्टीभित्र एकमतले निर्णय गरिसकेको छ । त्यस्तै, माओवादी केन्द्रले पनि संसदीय दलको बैठकबाट राष्ट्रिय सहमतिविना एमसिसी संसद्मा टेबुल गर्न नहुने र यथास्थितिमा पारित गर्न नहुने धारणा तय गरेको छ ।

जबर्जस्ती भए सरकारबाट बाहिरिने माओवादी केन्द्रको निर्णय छ । माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले भने, ‘गठबन्धनको निर्णयविना सरकार वा कुनै घटकले एमसिसी अगाडि बढायो भने गठबन्धन तोडियो भन्ने हुन्छ । गठबन्धन तोडिनु भनेको सरकारबाट अलग हुने हो ।’

बुधबार एमसिसी संसद्मा टेबुल गर्ने प्रधानमन्त्री देउवाको तीव्र चाहना भए पनि माओवादी केन्द्रले संसदीय दलबाट गरेको निर्णयपछि उनी पछि हटेका थिए । बैठकस्थलबाट देउवालाई भेट्न बालुवाटार पुगेका प्रचण्डले पार्टीको निर्णयबारे जानकारी गराएका थिए, आजको नयाँ पत्रिका दैनिकमा दीपेश शाही र किरण दहालले समाचार लेखेका छन् ।