७ कार्तिक २०८३, शनिबार

दिक्तेल बजारमा ‘फायर हाइड्रेन्ट गेटभल्भ’

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

खोटाङ, ४ फागुन । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा जडान गरिएका ‘फायर हाइड्रेन्ट गेटभल्भ’ परीक्षण सफल भएको छ । दिक्तेल सहरी खानेपानी तथा सरसफाइ आयोजनाअन्तर्गत १० स्थानमा फायर हाइड्रेन्ट गेटभल्भ जडान गरिएको हो ।

खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेपछि मङ्गलबार दिक्तेलस्थित रत्नपार्कमा जडान गरिएको फायर हाइड्रेन्ट गेटभल्भ परीक्षण गरिएको थियो । पहाडी जिल्लामा दिनानुदिन आगलागीका घटना बढिरहेको बेला दिक्तेलमा जडान गरिएका फायर हाइड्रेन्ट गेटभल्भ परीक्षण सफल भएपछि स्थानीयवासी हर्षित भएका छन् ।

दिक्तेल बजारमा आगलागी भएको बेलामा पानीको फोहरा फालेर दमकल सरह उपयोग गर्ने गरी विभिन्न १० ठाउँमा फायर हाइड्रेन्ट गेटभल्भ जडान गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दीपनारायण रिजालले जानकारी दिनुभयो । “दिक्तेल बजारमा सञ्चालन गरिएको सहरी खानेपानी आयोजनाको काम अहिले अन्तिम चरणमा पुगेको छ,” उहाँले भन्नुभयो, “निर्माणाधीन अवस्थामा रहेको खानेपानी आयोजनाको पाइपमा फायर हाइड्रेन्ट गेटभल्भ जडान गरेर १०० मिटर वरपरको क्षेत्रमा हुने आगलागीका घटनालाई सहजै नियन्त्रण गर्न सकिन्छ ।”

जस्तापाताको छाना तथा ढुङ्गा र माटो प्रयोग गरेर बनाइएका पुरानो संरचनाका घरहरु भएका सो बजारमा बर्सेनि आगलागीका घटना हुँदा लाखौँको क्षति हुने गरेको छ । हाइड्रेन्ट गेटभल्भ जडान गर्नका लागि नगरपालिकाका तर्फबाट रु १५ लाख र बाँकी सहरी खानेपानी आयोजनाको बजेट लगानी रहेको जनाइएको छ ।

विशेष किसिमको पाइप जडान गरिएको फायर हाइड्रेन्ट गेटभल्भमार्फत करिब १० मिनेटमै एउटा दमकल ९बारुणयन्त्र०मा पानी भर्न सकिने नगरपालिकाले जनाएको छ । नगरपालिका र सहरी खानेपानी आयोजना उपभोक्ता समितिबीचको सहमतिअनुसार दिक्तेल बजारको विभिन्न ठाउँमा हाइड्रेन्ट गेटभल्भ राख्ने निर्णय गरेको हो ।

सो बजारमा २०७२ साल पुस २ गते रत्नपार्कका व्यापारी हीरालाल पुरीको घरबाट सुरु भएको आगलागीबाट पुरीसहित सात स्थानीय बासिन्दाको घरमा क्षति पुगेको थियो । विद्युत् फल्ट भएर सुरु भएको आगलागी नियन्त्रण गर्न तत्कालीन दिक्तेल नगरपालिकाको दमकलमा पानी नहुँदा ठूलो क्षति पुगेको थियो ।

बजार तथा आसपासका वडामा प्रशोधित एवम् शुद्ध पानी वितरण गर्ने लक्ष्यका साथ २०७५ साल चैत १४ गतेदेखि खानेपानी तथा सरसफाइ योजनाको काम सुरु गरिएको थियो । सोही खानेपानी आयोजनाअन्तर्गत दिक्तेल बजारका विभिन्न ठाउँमा अग्नि नियन्त्रणका लागि फायर हाइड्रेन्ट गेटभल्भ बनाइएको हो ।

सरकारको ७०, काठमाडौँ महानगरपालिकाको नगर विकास कोषमार्फत २० र उपभोक्ताको पाँच प्रतिशत लगानीमा आयोजनाको काम सुरु गरिएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष धनकुमार जोशीले बताउनुभएको छ । आयोजनामार्फत मुहान संरक्षण तथा नयाँ मुहान थप, ट्याङ्की निर्माण, घरघरमा नयाँ धारा विस्तार तथा धारामा मिटर जडान लगायतका काम गरिने जनाइएको छ ।

पन्ध्र वडावडा रहेको नगरपालिकाको केन्द्रसमेत रहेको दिक्तेल बजार तथा बाम्राङका स्थानीय बासिन्दालाई स्वच्छ, सफा र गुणस्तरीय खानेपानी वितरण गर्ने लक्ष्यका साथ रु २२ करोड ५५ लाख ५८ हजार लागतमा खानेपानी आयोजनाको काम भइरहेको छ ।–रासस