
काठमाडौ, ४ फागुन । ‘मिसेस नेपाल ग्लाम–२०२१’की विजेता उर्मिला कार्कीले यसपटकको प्रणय दिवस तथा आफ्नो जन्म दिनको अवसरमा अनाथ बालबालिकालाई सहयोग गरेकी छिन् ।
काठमाडौंको मुलपानी फुयाँल गाउँमा रहेको ‘स्नेह बाल आश्रम’मा सहयोग गर्दै उनले प्रणय दिवस तथा जन्म दिन मनाएको बताएकी छिन् । हास्य कलाकार सुलेमान शँकर ‘इकु’ले सञ्चालन गरेको सो आश्रममा आश्रित १४ जना बालबालिकालाई उर्मिलाले खाना खुवाएकी छिन् ।
विगतमा साथीहरुलाई पार्टी दिएर जन्मदिन मनाउने उर्मिलाले अबका दिनमा सामाजिक कार्य गर्दै जन्मदिन मनाउने बताएकी छिन् । आफ्नो जन्म दिनको अवसरमा उनले सो आश्रमका दुई जना बालबालिकालाई कक्षा १० सम्मका लागि खर्च व्यहोरेर पढाउने गरी अध्ययन खर्चको जिम्मा समेत लिएकी छिन् ।

यो उपाधि जित्दा आफूले सामाजिक कार्य गर्ने प्रतिवद्धता व्यक्त गरेअनुरूप सो कार्यलाई अघि बढाएको उर्मिलाको भनाइ छ । ‘यहाँ आश्रित १४ जना बालबालिकालाई सुलेमानले आफ्नै खर्चले पढाउनु भएको रहेछ । उहाँलाई केही सजिलो होस भनेर दुई जना बालबालिकालाई पढाउनको लागि आवश्यक खर्च मैले सहयोग गर्ने भएको छु,’ उनले भनिन्, ‘अब मेरो साथीहरुलाई विभिन्न शुभकामको खुशी यहाँका बालबालिकासँग साट्न र उनीहरुलाई सहयोग गर्न पनि आजैबाट अपिल गर्नेछु ।’
बालबालिकासँग जन्म दिन तथा प्रणय दिवस मनाउँदै गर्दा उर्मिलाले त्यहाँका अरु बालबालिकालाई पनि पढ्न सहयोग मिलोस भनेर सुलेमानलाई केही रकम पनि प्रदान गरेकी छिन् ।















प्रतिक्रिया