
सुनसरी, १ फागुन । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गठबन्धन सरकारको दोहोरो खेलकै कारण विदेशी राष्ट्रले हेप्न थालेको बताएका छन् ।
आइतबार सुनसरीको इटहरीमा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै उनले विदेशीको इसारामा गठबन्धन सरकार चल्न थालेको बताए ।
एमसीसी मुख्यालयलाई एमसीसी पास गर्ने भनेर लिखित प्रतिवद्धता देखाउने अनि जनतालाई चाँहि ढाँट्ने दोहोरो चरित्रले गर्दा नेपाललाई विदेशीले हेप्न थालेको पोखरेलको भनाइ थियो ।
‘गोप्य पत्रमा हामी जसरी नि पास गछौं, एक दुई महिना पर्खिदिनु पर्यो’ भन्दै हस्ताक्षर गर्नुले बाहिरी देशले नेपाललाई हेप्न थालेको उनले बताए ।
प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पत्रले सरकार देशप्रति कुनै संवेदनशील नरहेको पोखरेलको भनाइ छ । ‘सरकार यतिबेला काठ काट्ने आरा जस्तो उता तान्दा नि काटिन्छ, यता काट्दा पनि काटिन्छ जस्तै भएको छ ।
प्रचण्डको ढाडमा टेकेर टाउकामा हान्ने र अन्तरविरोधमा खेल्ने बानीका कारण आज यस्तो भयो,’ उनले भन्नुभयो, ‘अहिले नै हामी बोलेर हिँड्दैनौ, संसदमा लेऊ जे गछौं हामी गर्छौं ।’
एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलले आजै इटहरी उपमहानगरपालिकाले निर्माण गर्न लागेको प्रशासनिक भवनको समेत शिलान्यास गरेका छन् ।
नौ करोडभन्दा बढी लागत अनुमान गरिएको भवन २०८० सालसम्म बनिसक्ने छ । उनले इटहरी–१७ लविपुरमा बनेको पुलको समेत उद्घाटन गरेका छन् ।












प्रतिक्रिया