
काठमाडौँ, २९ माघ । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता अल्मल्याउन एमसीसीबारे दूर्भाग्यपूर्ण झिल्केमिल्के अभिव्यक्ति दिएको बताएका छन् ।
पूर्व उपप्रधानमन्त्री समेत रहेका वरिष्ठ उपाध्यक्ष पोखरेलले एमसीसीबारे झिल्केमिल्के कुरा गरेर जनतालाई अलमल्याउने र देशलाई गम्भिर नोक्सान पुर्याउने काम प्रचण्डले गरेको बताएका हुन् ।
शनिबार काठमाडाैँ महानगरपालिका–४ मा निर्माण गरिएको धुम्बाराही पार्कको उद्घाटन गर्दै उनले प्रचण्डको दोहोरो चरित्रको भण्डाफोर गरेका हुन् ।
दाहालले एमसीसीबारे विदेशीसँग एउटा कुरा, कार्यकर्तासँग अर्को कुरा र जनतासँग बेग्लै कुरा गर्ने गरेको पोखरेलको भनाइ छ ।
राजनीतिक पार्टीका नेताहरुले देश र जनताको हित विपरित हुने यस्ता खालका गतिविधिले समाजमा झनै विकृति बढनेतर्फ पनि पनि पोखरेलले सचेत गराए ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले भने, ‘राजनीतिक ढंगले अनेक खालका दूभाग्यपूर्ण विवादहरु देखिरहेका छौं हामीहरू । म एउटा राजनीतिक पार्टीको जिम्मेवार कार्यकर्ता पनि हुँ । राजनीतिक पार्टीका मान्छेहरूमा विकृति आयो भने समाजमा पनि विकृति बढ्छ । राजनीतिक पार्टीका नेता यता हेर्यो यतैका कुरा, उता हेर्यो उताका कुरा, ऊ पर हेर्यो, परका कुरा गर्ने खालका भए भने त्यो फट्याईबाट समाज आक्रान्त हुन पुग्छ । यो कुरालाई पनि चिन्नुपर्ने जरुरी हुन्छ ।’
उनले थपे, ‘राजनीतिक पार्टीका मान्छेहरुले जे जनताको हितमा, देशको हितमा हुन्छ । त्यो सही कुरा बोल्ने सामर्थ्य राख्नुपर्दछ । नत्र भने यता गयो यताका कुरा, उता गयो उताका कुरा गर्ने चरित्र देखायो भने त्यसले नोक्सानी हुन्छ । जो अहिले हामी देख्दैछौँ, भोग्दैछौँ । विदेशीसित गयो एउटा कुरा, कार्यकर्तासँग भेट भयो एउटा कुरा । जनतासँग गयो अर्कै कुरा । यस्ता खालका झिल्केमिल्के कुरा गरेर जनतालाई अलमल्याउने खालका कतिपय गतिविधि भएका छन । जो दूर्भाग्यपूर्ण कुरा हो । यस्तो हुनु हुँदैन । त्यसकारणले हामी राजनीतिक पार्टीका मान्छेहरु पनि जनताको निगरानीमा बसिराख्यौ भने हामीबाट भूलचुक हुन कमी हुन्छ । भूलचुक हुँदैन । भइहाल्यो भने थोरै होला, सच्याउन सकिन्छ । तर जनताको निगरानीमा बसिएन भने अनि कमजोरीहरू हुन्छन् ।’















प्रतिक्रिया