
काठमाडौं, २९ माघ । सरकारले विद्युतीय चुलो (इन्डक्सन/इन्फ्रारेड स्टोभ) मा लाग्दै आएको भन्सार दर बर्सेनिजसो घटाइरहेको छ ।
आयातित इन्डक्सनको भन्सारमा लाग्ने कर कम गर्दा उपभोक्ताले सस्तो मूल्यमा किन्न पाउने र बिजुली खपतसमेत बढाउन सकिने अपेक्षा गरेर यस्तो नीति अघि सारिएको सरकारले बताउँदै आएको छ । तर घटाइएको भन्सारका बाबजुद इन्डक्सनको मूल्य भने लगातार बढिरहेको छ ।
अहिले इन्डक्सन होलसेलमा ३६ सय ५० रुपैयाँ र खुद्रामा ४५ सय रुपैयाँसम्म बिक्री भइरहेका छन् । होलसेलमा ३८ सय रुपैयाँमा पाइने इन्फ्रारेड चुलोलाई खुद्रा बजारमा ४५ सय रुपैयाँसम्म पर्छ । यी सामानको बजार मूल्य र भन्सार जाँचपासका क्रममा खुलाइएको मूल्यांकन रकम भने पटक्कै मेल खाँदैन । भन्सार मूल्यांकनभन्दा बजार मूल्य दोब्बरभन्दा बढी छ ।
भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा २ करोड ३४ लाख २१ हजार मूल्य बराबरको १० हजार ९ सय १० गोटा इन्फ्रारेड चुलो नेपाल भित्रिएका छन् । १४ करोड १५ लाख ९१ हजार मूल्य बराबरको ६३ हजार १ सय ३७ वटा इन्डक्सन चुलो आयात गरिएको छ । विभागको यो तथ्यांकलाई आधार मान्ने हो भने इन्फ्रारेड स्टोभका लागि गरिएको भन्सार मूल्यांकन प्रतिगोटा औसत २ हजार १ सय ४६ रुपैयाँ हो । इन्डक्सन चुलो प्रतिगोटा औसत २ हजार २ सय ४२ रुपैयाँमा जाँचपास भइरहेको छ ।
भन्सार जाँचपासका क्रममा खुलाइएको यो मूल्यलाई बजार मूल्यसँग दाँज्ने हो भने सरकारले घटाइदिएको भन्सारको प्रत्यक्ष लाभ उपभोक्ताले पाएको देखिँदैन । अहिले बजारमा इन्फ्रारेड चुलोको मूल्य ३५ सयदेखि ४१ सय रुपैयाँसम्म पर्छ । इन्डक्सन चुलो भने २७ सयदेखि ४५ सय रुपैयाँसम्म खरिदबिक्री भइरहेको छ । व्यापारीहरूले न्यून भन्सारमा सामान ल्याइरहे पनि मूल्य भने घटाएका छैनन् । बरु मूल्य हरेक वर्ष बढिरहेको देखिन्छ ।
असनस्थित वज्राचार्य ट्रेड (होलसेल पसल) मा इन्डक्सन चुलोको मूल्य २ हजार ७ सय ५० देखि ३ हजार ६ सय ५० रुपैयाँसम्म पर्छ । त्यस्तै इन्फ्रारेडको ३ हजार ५ सय रुपैयाँदेखि ३ हजार ८ सय रुपैयाँसम्म पर्छ । ‘इन्डक्सनमा बटन र टच अनि इन्फ्रारेडमा ह्यान्डल र प्लास्टिकमा आउँछ । जसको मूल्य फरकफरक हुन्छ,’ ट्रेडका सञ्चालक सरोजमुनि वज्राचार्यले भने । ग्यास अभाव भएको अवस्थामा मात्र विद्युतीय चुलोको माग बढ्ने गरेको उनले सुनाए । अन्य समयमा नगन्य मात्रामा विद्युतीय चुलो खरिद गर्न आउने गरेको उनले बताए ।
शंखमूलस्थित शाक्य किचेन स्टोरमा इन्फ्रारेड चुलोको खुद्रा मूल्य ४५ सय रुपैयाँ पर्छ । इन्डक्सनको अधिकतम ३५ सय रुपैयाँ पर्छ । अर्को खुद्रा पसल कुलेश्वरको रेनुका ट्रेड सेन्टरमा इन्फ्रारेड चुलोको ४१ सय रुपैयाँ र इन्डक्सनको ४५ सय १८ रुपैयाँ पर्छ । ठाउँ र कम्पनीअनुसार इन्डक्सन र इन्फ्रारेड चुलोको मूल्य पनि फरक छ । हिजोआज बजारमा घर भएकाहरूले कस्टमाइज्ड चुलो र कोठामा बस्नेले सस्तो स्टिलको चुलो खरिद गर्नेको संख्या बढी रहेको व्यवसायी बताउँछन्, आजको कान्तिपुर दैनिकमा सीमा तामाङले समाचार लेखेकी छिन् ।















प्रतिक्रिया