३० आश्विन २०८३, शुक्रबार

एमसीसीमा दाहालको दोहोरो नीति

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ माघ । अमेरिकी सहयोग नियोग एमसीसीसँगको सम्झौतामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले खेलेको दोहोरो भूमिकालाई लिएर प्रश्न उठेको छ ।

दाहालले एकातिर एमसीसी सम्झौता यथास्थितिमा संसद्बाट अनुमोदन हुनै नसक्ने भन्दै आन्तरिक राजनीतिलाई तरंगित बनाइरहेका छन् भने अर्कातिर प्रधानमन्त्री शेरबहादुर देउवासँग मिलेर एमसीसी मुख्यालयलाई पत्र लेख्दै अनुमोदनको प्रतिबद्धता व्यक्त गरेका छन् ।

आइतबार कान्तिपुरमा प्रकाशित अन्तर्वार्तामा एमसीसीको डिपार्टमेन्ट अफ कम्प्याक्ट अपरेसन्सकी उपाध्यक्ष फतिमा सुमारले सेप्टेम्बर २९ (असोज १३) मा नै देउवा र दाहालको पत्र पाएको जानकारी दिएकी थिइन् । प्रतिबद्धताका लागि नेताहरूलाई धन्यवाद दिँदै उनीहरूले दिएको समय अर्थात् फेब्रुअरी २८ (फागुन १६) भित्रै अनुमोदन गर्न आग्रह गर्दै एमसीसीले शुक्रबार (माघ २१) मा जवाफ पठाएको पनि उनले बताएकी थिइन् । दुवै पत्र आइतबार सार्वजनिक भएका छन् जसमा सुमारले भनेजस्तै दुई नेताले सम्झौता कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

देउवा र दाहालले एमसीसीलाई लेखेको पत्रमा सम्झौताका कुनै पनि बुँदामा असहमति व्यक्त भएको छैन । ‘देशको आर्थिक विकासका लागि एमसीसी अनुदान स्वीकार गर्ने नेपाल सरकारको चाहनाप्रति हामी तपाईंलाई विश्वस्त बनाउन चाहन्छौं,’ पत्रमा भनिएको छ, ‘तर, संसद्को बहुमतबाट सम्झौता पारित गर्ने वातावरण सुनिश्चित गर्न हामीलाई चार–पाँच महिना लाग्नेछ ।’

सम्झौताबारे ‘नेपाली जनतामा देखिएका भ्रम र असमझदारी चिर्न’ सरकारी स्रोत तथा संयन्त्रबाट जनचेतना कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता पनि नेताहरूले व्यक्त गरेका छन् । ‘यसका लागि सरकारी सञ्चारमाध्यमबाट वास्तविक सूचना प्रसार गरिनेछ,’ उनीहरूले भनेका छन् ।

एमसीए नेपाललाई सूचना तथा प्रविधिका बाँकी काम पूरा गर्न प्रोत्साहित गर्ने र त्यसका आधारमा सम्झौता शीघ्र कार्यान्वयनमा लैजाने प्रतिबद्धता पनि उनीहरूले पत्रमा गरेका छन् । ‘अनुमोदनका लागि सम्झौता संसद्मा छिटोभन्दा छिटो प्रस्तुत गर्न सभामुखलाई संयुक्त रूपमा आग्रह गरिनेछ’ पत्रमा छ ।

एमसीसी सम्झौताकै सन्दर्भमा सुमारले भदौ २४ देखि २७ सम्म नेपाल भ्रमण गरेकी थिइन् । दुई सातापछि असोज १३ मा प्रधानमन्त्री देउवासँग एउटै पत्रमा हस्ताक्षर गरेर दाहालले एमसीसी मुख्यालयलाई पत्राचार गरेका थिए । एमसीसीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत महमुद बाहले शुक्रबार जवाफ पठाएका छन् । पत्रमा नेताद्वयको आग्रहलाई एमसीसीले सम्मान गरेको स्मरण गराउँदै अब आफ्नै प्रतिबद्धताको सम्मान गर्न उनीहरूलाई सचेत गराएका छन् ।

यो बीचमा प्रधानमन्त्री देउवा एमसीसी सम्झौता अविलम्ब पारित गर्न प्रतिबद्ध देखिएका छन्, तर मूलतः माओवादी असहमतिका कारण उनी अगाडि बढ्न सकेका छैनन् । दाहालले गठबन्धनका बैठकमा संशोधनबिना सम्झौता अनुमोदन हुन नसक्ने अडान लिँदै आएका छन् । उनले पुस दोस्रो साता सम्पन्न पार्टी महाधिवेशनबाट समेत एमसीसी सम्झौता परिमार्जनबिना अनुमोदन गर्न नसकिने दस्ताबेज पारित गराएका छन्, आजको कान्तिपुर दैनिकमा जगदीश्वर पाण्डेले समाचार लेखेका छन् ।