१८ कार्तिक २०८३, बुधबार

योगदान, क्षमता र दक्षताका आधारमा उम्मेदवार चयन गर्नुपर्छ वरिष्ठ नेता पौडेल

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गण्डकी, २३ माघ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले योगदान, क्षमता र दक्षताका आधारमा आसन्न निर्वाचनका लागि कांग्रेसले उम्मेदवार चयन गर्नुपर्नेमा जोड दिनुभएको छ ।

नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यालयको आज पोखरामा उद्घाटन गर्दै उहाँले पार्टीमा मेरो वा तेरो नभनी योगदान, क्षमता र दक्षताको पहिचान गर्ने गरी उम्मेदवार पहिचानको अभियान थाल्न आग्रह गर्नुभयो ।

दलहरुबीचको गठबन्धनबारे पार्टीको स्पष्ट धारणा हुनुपर्नेमा जोड दिँदै नेता पौडेलले चुनाव लड्नका लागि नभई जित्नका लागि हुनुपर्ने भएकाले पार्टी सङ्गठनको विद्यमान अवस्थासमेतलाई दृष्टिगत गरी अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

गण्डकी प्रदेशलाई कृषि, पर्यटन र ऊर्जाका माध्यमबाट समृद्ध बनाउन सकिने जनाउँदै उहाँले यसको उपयोग गर्न नसकिएको बताउनुभयो । गण्डकीले राज्यलाई धेरै योगदान दिए पनि राज्यबाट विशेष सहुलियत पाउन नसकेको उल्लेख गर्दै उहाँले हामी आफैँमा एकले अर्काको खुट्टा तान्ने प्रवृत्तिका कारण पनि स्वयं बाधक भएको हुनसक्नेमा जोड दिनुभयो ।

एमसिसी जस्ता विषयमा जनतालाई स्पष्ट पार्न यथार्थता बुझाउनुपर्ने उहाँको भनाइ छ ।

सङ्घीय संरचनाअनुसार बनेको पार्टीको प्रादेशिक समितिले कार्यालय स्थापना गरी आफ्नो काम थाल्नु प्रशंसनीय भएको बताउँदै पौडेलले आसन्न निर्वाचनमा पार्टीलाई पहिलो बनाउने गरी सङ्गठन मजबुद बनाउने गरी लाग्न आग्रह गर्नुभयो ।

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले केन्द्रदेखि वडा तहसम्म भ्रष्टाचार मौलाउँदा त्यसले देश, लोकतन्त्र सबैलाई नकारात्मक असर पारिरहेको बताउनुभयो । भ्रष्टाचारमुक्त राष्ट्र बनाउनेतर्फ लाग्नु आवश्यक भएको उहाँले बताउनुभयो ।

संसद् र न्यायालय अनिर्णयको बन्दी बन्न नहुने उहाँको भनाइ छ । इतिहासले कांग्रेसलाई दिएको जिम्मेवारीलाई ठीक ढङ्गले उपयोग गर्नुपर्नेमा जोड दिँदै उहाँले वर्तमानमा आएको जिम्मेवारीलाई आत्मसात् गरी अघि बढ्नुपर्ने बताउनुभयो ।

यसअघि अधिवेशनमा भएका गुटउपगुट अब नरहेको उल्लेख गर्दै गुरुङले एकताबद्धरुपमा आसन्न निर्वाचनमा पार्टीलाई पहिलो बनाउने गरी सबै मिलेर लाग्नुपर्ने आवश्यकता औँल्याउनुभयो । –रासस