
काठमाडौं, १९ माघ। अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सदनमा टेबुल गराउन प्रधानमन्त्री शेरबहादुर देउवा कस्सिएपछि सत्ता गठबन्धन धरापमा पर्ने भएको छ।
गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी संशोधनसहित एमसीसी सदनमा टेबुल गर्नुपर्ने अडानमा छन्। तर प्रधानमन्त्री देउवाले जस्ताको तस्तै टेबुल गराउनुपर्ने अडान राखेपछि सभामुख अग्नी सापकोटामार्फत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधि सभाको बैठक स्थगित गराएर ठेलेका छन्।
एमसीसी प्रकरणमा गठबन्धनमा रहेका प्रचण्ड र माधव नेपाल नैतिक संकटमा परेका छन्। सदन खुलाउना साथ सहमति भए या नभए पनि प्रधानमन्त्री देउवाले उक्त प्रस्ताव सरकारका तर्फबाट राख्ने तयारी भएको छ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विरोध गरे पनि जबरजस्त हिसाबमा सरकारका तर्फबाट प्रस्ताव लैजाने देउवाको तयारी जानेपछि नैतिक संकटमा परेका प्रचण्ड र माधव नेपाललाई सत्ता गठबन्धन ‘खाउँ भने दिनभरीको सिकार, नखाउँ भने …मुहार’ जस्तो बनेको छ, यतिबेला।
प्रधानमन्त्री देउवाले गठबन्धनमा नै कुनै विकल्प निकाल्नका लागि आफ्ना सन्देशसहित दुई दूतलाई खटाइसकेका छन्। उनले गृहमन्त्री बालकृष्ण खाँण र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई दूतका रुपमा प्रचण्ड निवास पठाएका थिए। उनीहरूले प्रधानमन्त्री देउवाको तयारीबारे प्रचण्डलाई कन्भिन्स गर्न कोशिश गरेका थिए। तर, प्रचण्डले माओवादीभित्र नै दबाब र विवाद रहेका कारण अहिले नै निर्णय दिन नसक्ने जवाफ फर्काएको स्रोतको दाबी छ।
उता, बुधबार गृहमन्त्री खाँण देउवाको सोही सन्देश लिएर एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको घर पुगेका थिए। नेता नेपालले पनि अहिले नैतिक संकट पर्ने भएकाले एमसीसीको संशोधनविनाको प्रस्तावमा सहमति जनाउन नसकिने बताएको उच्च स्रोतको दाबी छ।
योसँगै स्थानीय तहको निर्वाचन ४ जेठका लागि घोषणाको तयारी प्रधानमन्त्री देउवाले गरेको सन्देश पनि दुवै नेतालाई दिइएको छ। तर माओवादी र एकीकृत समाजवादी देउवाले तोकेको समयमा चुनाव गर्न अनिच्छुक छन्।















प्रतिक्रिया