
काठमाडौं, १९ माघ । सरकारले दूधको मूल्य बढाएकोमा उपभोक्तकर्मीले आपत्ति जनाएका छन् ।
सोमबार सरकारले किसानको नाममा बढाएको प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा वास्तविक किसानको हातमा नपुग्ने र बिचौलियाको मात्र पोसिने उपभोक्ताकर्मीको भनाइ छ ।
राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले बिचौलिया पोस्न सरकारले किसानको नाममा दूधको मूल्यवृद्धि गरेकोे आरोप लगाए । ‘एउटा गाईको गोठ, एउटा बाल्टिनसमेत नभएका बिचौलियालाई पोस्नु किसानको नाममा सरकारले दूधको मूल्यवृद्धि हो,’ अध्यक्ष महर्जन भने, ‘सरकारले दूधको मूल्य ५६ रुपैयाँ ४ पैसा पु¥याए पनि गाईको गोठमा गोबर सोहोर्ने किसानले पाउने मूल्य भनेको ४० देखि ४५ रुपैयाँ मात्र हो ।’
उपभोक्ता अधिकार मञ्चका अध्यक्ष माधव तिमल्सिना सरकारले कुनै अध्ययन अनुसन्धान नगरी हचुवाको भरमा दूधको मूल्य बढाएको बताउँछन् । किसानका नाममा सीमित व्यापारीलाई पोस्न सरकारले दूधको मूल्यवृद्धि गरेको अध्यक्ष तिमल्सिनाको भनाइ छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दूधको समर्थन मूल्य प्रतिलिटर ६ रुपैयाँ ५२ पैसाले वृद्धि गरेर ५६.०४ रुपैयाँ कायम गर्ने निर्णय गरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । प्रशोधन नगरिएको दूधको यस्तो मूल्य किसान र दूध खरिदकर्ताका लागि मात्रै लागू हुने मन्त्रालयको भनाइ छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सन्जेलले सरकारले बढाएको मूल्य व्यापारीका लागि नभएर किसानले पाउने बताए । प्रवक्ता सन्जेलले उपभोक्ताले पाउने मूल्य अहिले नबढेको जानकारी दिए ।
‘किसानले फ्याटको आधारमा पाउने मूल्य बढाइएको हो, अहिलेलाई उपभोक्ताका लागि मूल्य निर्धारण भएको छैन, ‘प्रवक्ता सन्जेलले भने ‘कच्चा दूधको मूल्यवृद्धि फ्याट र एसएनएफका आधारमा हुन्छ ।’ सरकारले दूधको न्यूनतम् फ्याट ४ प्रतिशत र एसएनएफ ८ प्रतिशत कायम गरेको छ । ‘फ्याट र एसएनएफ बढी भए किसानले दूधमा बढी मूल्य पाउँछन्,’ प्रवक्ता सन्जेलले बताए ।
किसानबाट खरिद गर्ने दूध प्रशोधनका लागि लाग्ने लागत जोडेर उपभोक्ता मूल्य मन्त्रालयले पछि तय गर्ने प्रवक्ता सन्जेलको भनाइ छ । राष्ट्रिय दुग्ध विकास बोर्ड, दुग्ध विकास संस्थान र मन्त्रालयको आपसी छलफलमा लागतका आधारमा उपभोक्ता मूल्यपछि निर्धारण हुने प्रवक्ता सन्जेलले जानकारी दिए ।
मन्त्रालयको सहमतिमा दुग्ध विकास बोर्डले मूल्य निर्धाण गरेको दूधको मूल्य दुग्ध विकास संस्थानलाई मात्र लागू हुने उनले बताए । ‘अन्य दुग्ध कम्पनीले सरकारले निर्धारण गरेको मूल्यका आधारमा मूल्य बढाउन सक्छन्,’ प्रवक्ता सन्जेलले भने । अन्य दुग्ध कम्पनीले दूधको गुणस्तरका आधारमा आप्mनो मूल्य निर्धाण गर्न सक्ने उनको भनाइ छ ।
दुग्ध विकास बोर्डले दुग्ध विकास संस्थानका लागि दूधको मूल्य निर्धारण गर्न मन्त्रालयबाट अध्ययन प्रतिवेदन लिइसकेको र केही दिनमा मन्त्रालयको सहमतिमा मूल्य निर्धारण गर्ने प्रवक्ता सन्जेलले जानकारी दिए ।
राष्ट्रिय दूग्ध विकास बोर्डका कार्याकारी निर्देशक राजेन्द्र यादवले उपभोक्ता र उद्योगीका लागि दूधको मूल्य निर्धारण हुन केही समय लाग्ने जानकारी दिए । उनले सरकारले पहिलोपटक किसानको न्यूनमत मूल्य निर्धारण गरेको हुँदा केही अध्ययन गरेर मूल्य निर्धारण गर्नुपर्ने भएकाले केही समय लाग्ने बताए । बोर्डका कार्यकारी निर्देशक यादवले उद्योगी र उपभोक्तालाई असर नपर्ने गरी राम्रो अध्ययन गरी मूल्य निर्धारण हुने जानकारी दिए ।
उनले मूल्य निर्धारणका लागि पहिलो चरणको अध्ययन भइरहेको थप अध्ययन गरी मन्त्रालयको सहमतिमा बोर्डले दूधको मूल्य निर्धारण गर्ने बताए । निर्देशक यादवले भने, ‘सरकारले पहिलोपटक किसानले दूधको मूल्य निर्धारण गरेको हुँदा हामीलाई नयाँ भएको छ । बोर्डले पहिलो चरण पूरा गरेको भए पनि थप दोस्रो चरणको अध्ययन गर्नुपर्नेछ । सरकारले दूधको मूल्य १३.१७ प्रतिशत बढेको छ । उद्योगी र उपभोक्तालाई भार नपुग्नेगरी यो साताभित्र बोर्डले मूल्य निर्धारण गर्ने निर्देशक यादवले जानकारी दिए, आजको राजधानी दैनिकमा कौशिला कुँवरले समाचार लेखेकी छिन् ।















प्रतिक्रिया