८ कार्तिक २०८३, आइतबार

डेढ करोड रुपैयाँ बराबरका २९६ कार्टुन अवैध मदिरासहित चार जना पक्राउ

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ माघ । विभिन्न ब्राण्डका मदिराहरु भारतबाट चोरी पैठारी गरी नेपाल ल्याई कारोबार गरेको अभियोगमा उपत्यकाका रामकोट, बानेश्वर, कपन लगायत विभिन्न स्थानहरूबाट २९६ कार्टुन मदिरासहित ४ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौं कपन बस्ने पर्सा गादी गाविस–८ ठेगाना भएका ३९ वर्षीय सन्तोष चन्द्र बख्रेल, काठमाडौं कागेश्वरीमनहरा नगरपालिका–६ बस्ने ३० वर्षीय शैलेश पन्त, काठमाडौं हाँडीगाउँ बस्ने पर्सा सुवर्णपुर गाविस–५ ठेगाना भएका २८ वर्षीय रविन पाख्रिन र काठमाडौं चावहिल बस्ने सर्लाही वरथहवा नगरपालिका–९ ठेगाना भएका ३८ वर्षीय नारायण प्रसाद घिमिरे रहेका छन् ।

सन्तोष चन्द्र बख्रेल समेतका व्यक्तिहरूले विभिन्न ब्राण्डका मदिरा चोरी पैठारी गरी कारोबार गर्ने गरेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उक्त कारोबारमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो ।

अनुसन्धानको क्रममा रवि भन्ने भारतीय नागरिक र सन्तोषको योजनामा भारतबाट राजश्व छली विभिन्न ब्राण्डका मदिराहरू बिक्री गर्ने गरेको, सन्तोषले विगत ३ महिना अगावै ६६० कार्टुन ब्ल्याक लेवल, रेड लेवल, चिभास रिगल र ऐब्सुलेट भोड्का ल्याई गैर कानूनी रुपमा बिक्री गरेको तथा बजारमा बिक्री गर्न ईन्फिनिटि लिक्योर मुलपानीका संचालक शैलेशसँग मिलेर काम गर्दै आएको, नारायणले उक्त ब्राण्डका मदिराहरू डिउट फ्रिको हो भनि ग्राहकलाई विश्वास दिलाई बिक्री गर्दै आएको तथा उक्त मदिराहरू विशेषतः पार्टी प्यालेसमा बिक्री गर्ने गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।

उनीहरुलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर पठाइएको तथा बरामद मदिराहरुको गुणस्तर परीक्षणको लागि समेत पठाइएको उक्त महाशाखाले जनाएको छ ।