
काठमाडौं, १७ माघ । माटोको झुपडीभित्र एउटा साँघुरो कोठा छ ।
दिउँसो मुस्किलले छिर्छ घाम । जहाँ एउटा गाई र एउटा पाडी बाँधिएका छन् । त्यहीँं नै सुतेको अवस्थामा भेटिइन् ८० वर्षीया रामकुमारी महतो। उनले भुइँमा परालमाथि परालकै गुन्द्री ओछ्याएकी थिइन् । एउटा पात्लो तन्ना ओढेर गुटुमुटु परेकी थिइन् ।
तपाईं यसरी किन बस्नुभएको हो ? उनले भनिन्, ‘यहाँ गाईवस्तुको उपस्थितिले अलिक न्यानो हुन्छ। घरको भएभरको एउटा अर्को कोठामा बुहारी र दुई नातिनी सुत्छन् । अनि म बूढी कहाँ जानु ?’ गर्मी मौसममा उनी आँगनमा भुइँमै सुतेर समय कटाउँछिन् । तर, जाडोमा शीतलहरबाट जोगिन गोठ एक मात्र सहारा बनेको उनले सुनाइन् ।
महोत्तरीको मटिहानी नगरपालिका–५ गोबरौराको पीडादायक दृश्य हो यो। रामकुमारीका श्रीमान् कञ्चाको निधन भएको धेरै वर्ष भयोे । श्रीमान् जीवित हुँदा जेठानहरूसँग बस्नुपथ्र्यो। श्रीमान्–श्रीमतीले अर्काको खेतमा मजदुरी गरे । जेनतेन पैसो बचाएर गाउँको बाहिरी भागमा पाँच धुर घडेरी जोडे । घर बनाए । खरको छानो हाले । तर, त्यसको केही महिनामै कञ्चा बिरामी परे । उपचार अभावमा उनको ज्यान गयो ।
रामकुमारीले अहिले उपचार पाएकी छैनन् । ‘करिब पाँच वर्ष भयो यसरी खोकी लागेको’, मधुरो आवाजमा उनले अन्नपूर्ण पोस्ट्सित आफ्नो व्यथा पोखिन्, ‘छाती निरन्तर दुखिरहन्छ । कहिलेकाहीँ त सास फेर्न पनि गाह्रो हुन्छ । चिसोको बेला व्यथा अझै बढ्छ । भगवान्ले न मृत्यु दिन्छ न रोगको उपचार ।’
रामकुमारीले दुई छोरा र दुई छोरीलाई जन्म दिएकी थिइन् । एक छोराको सानैमा निधन भयो । एक छोरी १० वर्षजतिको हुँदा बितिन् । कान्छी छोरीको बिहे भइसकेको छ । अर्का छोरा भोगी बोल्न नसक्ने र शारीरिक रूपमा अशक्त थिए । उनको विवाह रामकुमारीले शारीरिक अपांगता भएकी रामविराजी देवीसँग १५ वर्षअघि गरिदिइन् । दुःखले चलेको रामकुमारीको परिवारमा अर्को बज्रपात पाँच वर्षअघि पर्यो । जब छोरा भोगीको पनि निधन भयो । तीन छोरी र रोगी सासू पाल्ने जिम्मा रामविराजीमाथि आइपुगेको छ ।
‘दुःख यति धेरै छ कि सुनाएर साध्य छैन,’ रामविराजीले गहभरि आँसु पार्दै भनिन्, ‘म कमाउन सक्षम छैन । तीन बालबच्चाको भार छ । रोगी सासूलाई पनि खुवाउनुपर्छ । अर्काको घरमा थोरबहुत काम गरेर जेनतेन पेट पालेकी छु ।’ कहिलेकाहीँ माइतीले सहयोग पठाउने उनले सुनाइन् । उनले एक छोरीलाई माइतमै राखेकी छन् ।
‘श्रीमान् हुँदासम्म दाउरा जोहो गर्नुहुन्थ्यो । उहाँ बितेदेखि घाँसदाउरा ल्याउन पनि निकै समस्या छ’, उनले भनिन्, ‘एउटा ग्यास चुल्हो वर्षौंदेखि भोट माग्न आउने नेताहरूसँग माग्दै आएकी छु तर, कसैले दिँदैन ।’ आजको अन्नपूर्ण पोष्ट दैनिकमा मनिका झाले महोत्तरीबाट समाचार लेखेकी छिन् ।















प्रतिक्रिया