८ कार्तिक २०८३, आइतबार

संविधानको संरक्षण गर्नु सहिदहरूप्रति सम्मान गर्नु पनि हो : उपराष्ट्रपति

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ माघ । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले संविधानको संरक्षण गर्नु सहिदहरूप्रति सम्मान गर्नु भएको बताएका छन् ।

सहिद दिवस, २०७८ को अवसरमा एक सन्देश जारी गर्दै उनले सहिदहरूको बलिदानीबाट प्राप्त गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्था जस्ता उपलब्धीहरूलाई संस्थागत गरेको संविधानको संरक्षण र पूर्ण पालन गर्नु हामी सबैको दायित्व भएको उल्लेख गरेका छन् ।

‘संविधानको संरक्षण गर्नु सहिदहरूप्रति सम्मान गर्नु पनि हो,’ उनको सन्देशमा लेखिएको छ, ‘नेपाली जनताले राजनीतिक अधिकार धेरै हदसम्म प्राप्त गरिसकेका तथा देश विकास र समृद्धिको मार्गमा अघि बढिरहेको सन्दर्भमा सहिदहरूको सपना साकार पार्न एक भएर लाग्न सबैको ध्यानाकर्षण गराउन चाहान्छु ।’ सहिदहरूको बलिदानी सबै नेपाली जनतालाई अधिकार सम्पन्न, सुखी, खुसी र समृद्ध बनाउँदै शान्त, समुन्नत र समृद्ध राष्ट्र निर्माणका लागि भएकाले सबै नेपाली त्यसतर्फ लाग्नुपर्नेमा उपराष्ट्रपति पुनको जोड छ ।

‘जहानियाँ राणा शासनविरोधी आन्दोलन तथा त्यसपछिका ठूल–ठूला राजनीतिक क्रान्ति तथा संघर्षमा आफ्नो जीवन आहुती दिनुहुने सम्पूर्ण ज्ञात अज्ञात महान् सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु,’ सन्देशमा अगाडि भनिएको छ, ‘नेपाली जनताको लामो राजनीतिक संघर्षपछि गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्था स्थापना भएको हो । यी उपलब्धीहरूलाई हाम्रो सविधानले संस्थागत गरेको छ । सबैखाले क्रान्ति तथा आन्दोलनमा नेपाली वीर सपुतहरूको बलिदानी रहेको छ । प्रजातन्त्र, लोकतन्त्र, संघीय लोकतान्त्रिक गणतन्त्र लगायतका उपलब्धीहरू प्राप्तीको मुख्य श्रेय सहिदहरूलाई जान्छ ।’

सहिद दिवसको अवसरमा प्रजातन्त्र, लोकतन्त्र तथा गणतन्त्र स्थापनार्थ आफ्नो जीवनको आहुती दिनुहुने सम्पूर्ण सहिदहरूको योगदानको उच्च मूल्याङ्कन गर्दै सहिद परिवारजनमा उनले उच्च सम्मान व्यक्त गरेका छन् ।