२९ आश्विन २०८३, बिहिबार

मधेसमाथि ‘राजनीतिक बलात्कार’ नै सीके राउतको अस्वभाविक उदयको कारण

13.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आजभोलीका घटनाक्रम र समाचारका रेखा कोरिरहँदा दशकअघि आफैंले लेखेको ‘गजेन्द्रनारायणको सपना कता हरायो?’ शीर्षकको आलेखको स्मरण भयो। नीजि ब्लगमा त्यसलाई साँचेर राखेको थिएँ।

मधेसमाथि सामाजिक रुपमा मात्र अत्याचार गरिएको छैन। सामाजिक अत्याचार मेटाउनका लागि भएका राजनीतिक क्रान्ति वा मधेस आन्दोलनका नाममा जसरी राजनीतिक बलात्कार गरिएको छ, त्यसको बाछिटा र परिणामका रुपमा अस्वभाविक उदयहरू पनि स्वभाविक मान्नुपर्छ।

मधेस आन्दोलन उपेन्द्र यादव नामको एउटा स्कुल मास्टरलाई उपप्रधानमन्त्री बनाउन या अनेकथरी नामका व्यक्तिलाई मन्त्री बनाउन र सत्ता साझेदारीको चलखेलमा लट्याउनका लागि भएको थिएन। यसको परिणाम नै हो– जनमत पार्टी र डा. सीके राउत।

विनोद ढकाल

राउतको अहिलेको आन्दोलनको मुद्दा आजको हुँदै होइन। दशकौंदेखि मुद्दा मात्र बनाइएको तर सत्ताका निम्ति सँधै सहज बनिदिने स–साना छन्। किसानलाई पानी, मल, खाद्य, भ्रष्टाचारमुक्त मधेसको सवाल छन्। यी सवाल राष्ट्रव्यापी नै पनि हुन्। मुलुकमाथि नै राजनीतिक बलात्कार भएको छ। तर, त्यो भन्दा बढी सुगम भएर पनि दुर्गम र अति निरक्षर अवस्थामा बस्नुपरेको मधेसमाथि त आततायी प्रकारको बलात्कार भएको छ। एक हिसाबले त सामूहिक राजनीतिक बलात्कार। नेताको सत्ता स्वार्थका निम्ति सद्भावना पार्टीदेखि टुटफुट, मधेसी जनाधिकार फोरम, मधेसी जनाधिकार फोरम लोकतान्त्रिक, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी या अनेक नाममा। नेता तिनै, अनुहार तिनै तर हेर्नुस् त पार्टीका नाम परिवर्तन गरिएका। मधेसका जनताको अनुहारमा के परिवर्तन भयो त? खेत बाँझो राखेर परदेशिनेको संख्या न्युनिकरण भयो? कृषिको आधुनिकिकरण गरियो? रोजगारी भयो? समाज परिवर्तनका निम्ति पूर्वाधारको कस्ता विकास भए? यीनै सवालहरूको उत्तरमा सीके राउतको उदय स्वभाविक छ र त्यो मार्ग अस्वभाविक रुपमा तय भइसक्यो।

पहिलो त परिवर्तनका नाममा मधेसी मुक्ति मोर्चा गठन गरी माओवादी स्थापित भएको थियो। त्यसपछि मधेसमा भूमिगत समूहका नाममा तराई जनतान्त्रिकका अनेक नाममा खुले, टाइगर्सलगायत पनि खुलाएर पटक–पटक मधेसी जनताको राजनीतिक बलात्कार गरियो। मुद्दा उठाउने तर त्यसको समाधान पटक्कै नगर्ने, सत्ता स्वार्थमा रमाउनेहरू मात्र भेटिए। यो राजनीतिक मन्थनबीच केही न केही कुनै न कुनै शक्तिका रुपमा उदाउनु नै थियो र सीके राउत नामबाट एउटा मार्ग खुल्यो। पृथकतावादी कित्ताबाट उनको उदय हुने उपक्रम अब मूलधारको राजनीति र मधेसको मुद्दामा केन्द्रित भइसकेको छ, स्मरणीय होस्।

जसरी मधेसमा उपेन्द्रहरूले निषेधको चुनावी राजनीतिलाई स्थापित गरे अब सीकेहरूको पदचाप पनि त्यहि हुनेछ। आगामी संघीय र प्रादेशिक निर्वाचनमा अत्यधिक जनप्रतिनिधि जिताएका यीनै पार्टीका सांसदमाथि निषेधको राजनीतिमा जनमत पार्टी अब्बलताका साथ उत्रिनेछ। यहि मार्गचित्र राउतले कोरिसकेका छन्

मधेसमा कुनै पनि शक्ति स्थापनाका लागि आन्दोलनको एउटै प्रकारको पदचाप छ। अहिले जसपाका नेतालाई घेराबन्दी गरे, लाठी भाला बोके भनेर उफ्रिनुको तुक छैन, किन भने यो पदचाप तिनैहरूको हो, जसले मधेसका भूमिहिनदेखि किसानको मुद्दालाई लथालिङ्ग बनाए।

साम्प्रदायिक, हिंसात्मक र आक्रामक आन्दोलनका नाममा जसरी मधेसी जनाधिकार फोरमको उदय उपेन्द्र यादवहरूले गराए त्यो मधेसमा माओवादीका लागि प्रत्युत्पादक बन्यो। परिणाममा गौरमा २७ जना माओवादी कार्यकर्ताको सामूहिक हत्या भयो। त्यसरी नै सीके राउतको अहिलेको उदय असाधारण हुने लयमा पुगेको छ। यो अन्य कुनै दलका लागि नभई मधेस केन्द्रीत रहेका जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का लागि प्रत्युत्पादक बन्नेछ। चुनाव जति नजिक हुँदै जानेछ, सीके राउतको पार्टीका कार्यकर्ताको मुठभेड जसपा र लोसपासँगै हुनेछ, भौतिक रुपमा र चुनावी मैदानमा पनि। त्यसक्रममा भएका क्षतिहरू नै राउतको उदयको अर्थपूर्ण परिणाम बन्नेछ।

मधेसको मनोविज्ञान हिंस्रक राजनीतिले लिड गराइएको थियो। मधेस आन्दोलनका क्रममा लहानदेखि भएको लामो संघर्षका विविध चरणहरू, तिनका परिणामहरू हुन् या घटनाका कत्थ्य हुन्, विस्मृतिमा गइसकेका छैनन्। तर, तिनै परिणामले स्थापित हुँदै गर्दा, मधेस आन्दोलनले उठाएका मुद्दालाई सम्बोधन गर्न नसक्दा त्यसको प्रत्युत्पादन हुन्छ नै भन्ने उदाहरणका रुपमा राउतको पार्टी निर्विकल्प स्थापित हुनेछ।

धेरै भएको छैन। सीके राउतको चर्चा कर्मचारीलाई कालोमोसो दल्ने, जसपाबाट मन्त्री बनेकी रेणु यादवलाई घेर्ने र यादवले दिएको हिंस्रक अभिव्यक्तिले नै गराएको छ। मन्त्री यादवले जुन तहमा उत्रिएर अभिव्यक्ति दिएकी छन् यसले राउतको पार्टीप्रति सहानुभूतिमात्र होइन, राष्ट्रिय अन्तर्राष्ट्रिय चर्चा पाउने अवसर पनि बनेको छ। यसले अझ उक्त पार्टीका कार्यकर्तालाई हौसायो र अब जनप्रतिनिधिमाथि पनि भौतिक आक्रमण सुरु भइसकेको छ।

हेक्का होस्– सीके राउतको आन्दोलनको गति यहि हिसाबमा अझ प्रभावकारी हुँदै जानेछ। राउत आजको लागि होइन, बर्षदिन या आगामी चुनावका लागि लक्षित राजनीतिक गतिविधि हुन्। जसरी मधेसमा उपेन्द्रहरूले निषेधको चुनावी राजनीतिलाई स्थापित गरे अब सीकेहरूको पदचाप पनि त्यहि हुनेछ। आगामी संघीय र प्रादेशिक निर्वाचनमा अत्यधिक जनप्रतिनिधि जिताएका यीनै पार्टीका सांसदमाथि निषेधको राजनीतिमा जनमत पार्टी अब्बलताका साथ उत्रिनेछ। यहि मार्गचित्र राउतले कोरिसकेका छन्।

जनमत पार्टीले मधेसको मनोविज्ञानलाई अध्ययन गर्न भ्याएको छ। मधेसी जनतामा रहेको नेताप्रतिको ‘फ्रश्टेशन’ नै विकल्पका रुपमा जनमत पार्टीले क्यास गर्नेछ। त्यो फ्रश्टेशनको सीमा यति मात्र हुनेछैन त्यसलाई हावा भर्ने काम अझ पनि हुनेछ। गाउँ–गाउँमा संगठन निर्माण र प्रतिरोध आन्दोलनको तयारी गर्नुको अर्थ पनि त्यहि हो। यसर्थ, सीकेको अस्वभाविक उदयलाई रोक्न सक्ने क्षमता अब मधेसका अन्य पार्टीमा मचाहिँ देख्दिन।

गजेन्द्रनारायण सिंहले मधेसको हक र हितका लागि एउटा सपना देखेका थिए। त्यो सपनाको बाटोमा आएकाहरूले तुसारापात गर्दै हिँडेको परिणाम अहिलेसम्म देखिइरहेको छ, अब जनमत पार्टीले त्यो सपनालाई पूरा गर्ला या नगर्ला डा. राउतको आगामी राजनीतिक व्यवाहारले पुष्टि गर्नेछ, हेर्दै जाऔं।