शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

विमानको पाङ्ग्रामा लुकेका व्यक्ति ११ घण्टाको उडान पछि पनि जीवितै भेटिए

दैनिक नेपाल २०७८ माघ १२ गते ७:३९

एम्स्टर्ड्याम, १२ माघ । दक्षिण अफ्रिकाबाट आएको एउटा मालवाहक विमानको पाङ्ग्रा भएको भागमा लुकेर बसेका एक व्यक्तिलाई डच प्रहरीले एम्स्टर्ड्यामस्थित स्किपोल विमानस्थलमा जीवितै फेला पारेको छ ।

सामान्यतया जोह्यानिस्बर्गबाट एम्स्टर्ड्यामको उडानका लागि ११ घण्टा लाग्छ । दक्षिण अफ्रिकाको उक्त सहरबाट उडेको कार्गो विमान केन्याको राजधानी नाइरोबीमा एक पटक रोकिएको थियो ।

आकाशमा निकै माथि पुगेपछि अक्सिजनको मात्रा तथा तापक्रम घट्ने हुँदा सास फेर्न नसकेर र कठ्याङ्ग्रिएर मानिसको मृत्यु हुन्छ । प्रहरीले ती व्यक्ति केन्याका नागरिक भएको र उनको उमेर २२ वर्षको भएको सोमबार पुष्टि गरेको छ ।

तर केन्याबाट वा दक्षिण अफ्रिकाबाट विमानमा त्यसरी किन लुके भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । उनले नेदरल्यान्ड्समा शरण लिने इच्छा राखेको बताइएको छ ।

ती व्यक्ति होसमा रहेको र कुराकानी गर्न सक्ने अवस्थामा उनको अस्पतालमा उपचार भइरहेको छ । ‘उनले नेदरल्यान्ड्समा शरणका लागि आवेदन दिन्छन् भन्ने लागेको छ । तर अहिले उनको उपचार प्राथमिक कुरो हो,’ डच प्रहरीकी एक प्रवक्ताले बताइन् ।

लामो दूरीको उडानमा विमानको बाहिरी भागमा लुकेर त्यसरी चढ्ने मानिस जीवित फेला पर्नु असामान्य मानिन्छ । ‘ती व्यक्ति उक्त विमानको नोज ह्वील भएको भागमा जीवित फेला परे र उनलाई स्थिर अवस्थामै अस्पताल लगियो,’ यसअघि प्रहरी प्रवक्ता योआना हेल्मन्ड्सले समाचार संस्था एएफपीलाई बताएकी थिइन् ।

‘ती व्यक्ति अझै जीवित हुनु अद्भुत कुरा हो,’ उनले भनिन् ।विमानको अग्रभागमुनि रहेको र विमान अवतरण गर्दा प्रयोग हुने पाङ्ग्रालाई नोज ह्वील भनिन्छ ।

नेदरल्यान्ड्समा विगत पाँच वर्षमा सात जनालाई विमानमा लुकेर यात्रा गर्न खोजेका थिए । तर तीमध्ये केवल दुई जना जीवित फेला परे ।

डच प्रसारक एनओसका अनुसार विमानस्थलमा फेला परेपछि ती व्यक्तिको शरीरको तापक्रम बढाइएको थियो । एम्बुलेन्स आउँदासम्म सोधिएका प्रश्नको उनले उत्तर दिएका थिए ।

कार्गो विमान कम्पनी कार्गोलक्सकी एक प्रवक्ताले समाचार संस्था रोएटर्सलाई ई–मेलमार्फत् कार्गोलक्स इटालियाले सञ्चालन गरेको विमानमा ती व्यक्ति लुकेर आएको पुष्टि गरेकी थिइन् ।

आइतबार जोह्यानिस्बर्गबाट स्किपोल उडेको कार्गोलक्सको मालवाहक विमान नाइरोबीमा एकचोटि ओर्लिएको उडानसम्बन्धी डेटाले देखाएको थियो । बीबीसीबाट

प्रतिक्रिया
सम्बन्धित