बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

ठाकुर–महतो बोलचाल बन्द

दैनिक नेपाल २०७८ माघ ११ गते ७:४३

काठमाडौं, ११ माघ । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)भित्र चर्किँदै गएको विवाद पार्टी बैठकसमेत बस्न नसक्ने अवस्थासम्म पुगेको छ ।

प्रदेश अध्यक्ष तथा जिल्ला अध्यक्ष नियुक्तिको विषयलाई लिएर अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो समूहबीच चर्केको विवाद अहिले बोलचालसमेत नहुने अवस्थामा पुगेको छ । अध्यक्ष ठाकुरको व्यवहार र कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै वरिष्ठ नेता महतो पार्टी कार्यालय जान पनि छाडेका छन् ।

‘महन्थजी र राजेन्द्रजीको बीचमा बोलचालसमेत बन्द भएको अवस्था छ । राजेन्द्रजी त पार्टी कार्यालयमा समेत आउन छाडेको छन् । महिनौं बितिसक्दा पनि राजेन्द्रजीलाई पार्टी कार्यालयमा देखिएको छैन, पार्टी बैठक नबसेको पनि लामै समय भयो, यसले सबैलाई निराश बनाएको छ,’ जसपा स्रोतले भन्यो । अध्यक्ष ठाकुरले पार्टीमा छलफल नै नगरी जिम्मेवारी बाँड्न थालेपछि पार्टी पार्टीका रूपमा अघि नबढेको एक असन्तुष्ट नेताले बताए ।

अध्यक्ष ठाकुरले पार्टीको प्रदेश २ मा जितेन्द्र सोनललाई अध्यक्ष नियुक्त गर्नुका साथै विभिन्न जिल्लामा अध्यक्ष तोक्न थालेपछि विवाद बढेको छ । प्रदेश २ का पूर्वमन्त्री समेत रहेका सोनल प्रदेश सांसद तथा लोसपा कार्यकारिणी समितिका सदस्यसमेत हुन् । उनी तत्कालीन तमलोपा ठाकुर समूहका नेता हुन् ।

यस्तै, अध्यक्ष ठाकुरले विभिन्न जिल्लामा अध्यक्ष नियुक्त गरेका छन् । बारामा नवलकिशोर सिंह, पर्सामा पुरुषोत्तम झा, रौतहटमा लिला साह, सर्लाहीमा रामप्रसाद यादव, महोत्तरीमा रामबाबु साहलाई ठाकुरले अध्यक्ष नियुक्त गरेका छन् ।

यसैगरी धनुषामा प्रमेश्वर साह, सिराहामा रामदयाल यादव, सप्तरीमा सुनिलकुमार झा, कपिलवस्तुमा कैलाश अग्रहरी र मोरङमा काविर अलीलाई जिल्ला अध्यक्ष नियुक्त गरेका छन् ।

बाराका सिंह, पर्साका झा, धनुषाका साह, सर्लाहीका यादव र मोरङका अली ठाकुर निकट नेता हुन् । यी अध्यक्ष ठाकुर अध्यक्ष रहेको तत्कालीन तमलोपा समूहका हुन् । यस्तै महोत्तरीका साह, सिराहामन यादव लोसपाका वरिष्ठ नेता शरदसिंह भण्डारी निकट हुन् । यी अध्यक्षहरू भण्डारी अध्यक्ष रहेको तत्कालीन रामसपा समूहका हुन् ।

रौतहका अध्यक्ष साह लोसपा नेता अनिल झा निकट रहेका छन् । सप्तरीका अध्यक्ष झा, कपिलवस्तुका अध्यक्ष अग्रहरी वरिष्ठ नेता राजेन्द्र महतो समूहका हुन् । यी अध्यक्ष महतो अध्यक्ष रहेको तत्कालीन सद्भावना पार्टीका नेता हुन् ।

प्रदेश २ मा महतो निकट मानिने तत्कालीन सद्भावना पार्टीका नेतालाई जिम्मेवारी नदिएको भन्दै उनी निकटका नेताले विरोध गर्दै आएका छन् । जिल्ला जिल्लामा निर्णय गरेर विरोध हुनुका साथै पर्सासहित कतिपय जिल्लामा प्रदर्शन समेत भएका थिए ।

लोसपाका अध्यक्ष ठाकुरले आफू खुसी जिल्ला तथा प्रदेश अध्यक्ष तथा पर्यवेक्षक नियुक्त गर्न थालेपछि सोही पार्टीका वरिष्ठ नेता महतो समूह कडा रूपमा विरोधमा उत्रेका थिए । सोही क्रममा महतो समूहका नेता सन्तोष मेहताले आफ्नो फेसबुकमा लेखेका छन्, ‘लोसपा भनेको तमलोपा होइन होला नि’

अध्यक्ष ठाकुरले तत्कालीन तमलोपा जसरी चलाउँथे, त्यसरी नै लोसपा चलाउन खोजेको मेहताको आरोप छ । उनले भने, ‘जिल्ला तथा प्रदेशमा अध्यक्षलगायत विभिन्न पदमा मनोनयन गरिरहनुभएको छ तर त्यस’मा पार्टीमा कुनै सल्लाह भएको छैन, यो तरिकाले पार्टी चलाउन गाह्रो हुन्छ ।’

तर, अध्यक्ष ठाकुर समूहका नेता भने महतो समूहका नेताको आरोप स्वीकार गर्न तयारी छैनन् । प्रदेश, जिल्ला अध्यक्षको नियुक्ति वरिष्ठ नेता महतोकै सल्लाहमा भइरहेको ठाकुर समूहका नेता बताउँछन् । ठाकुर निकट नेता सञ्जय यादवले प्रदेश, जिल्ला अध्यक्षको नियुक्ति वरिष्ठ नेता महतोसहित अन्य नेताकै सल्लाहमा भएको बताए । सबै नेतासँग सल्लाह गरेरै ठाकुरले काम गरिरहेको उनको दाबी छ ।

उनीहरूका अनुसार अध्यक्ष ठाकुरले पार्टीमा छलफल गरेरै जिल्लामा मनोनयन गर्ने अधिकार लिएका छन् । त्यहीअनुसार पछिल्लो समय नियुक्ति तथा जिम्मेवारी तोक्ने काम भइरहेको यादव बताउँछन् ।

केन्द्रमा सबै कुरा ठिक छ भन्ने तर तल आफ्नो कार्यकर्ताबाट विरोध गराउने काम केही नेताबाट भइरहेको भन्दै उनले यसलाई ‘गलत प्रवृत्ति’को संज्ञा दिए । उनले भने, ‘महन्थ ठाकुरले राजेन्द्र महतोसँग सल्लाह नगरी काम गरेको हो भने त्यो कुरा महतोजीले भन्नुपर्ने हो । उनी आफैं केही पनि नबोल्ने अनि आफ्ना कार्यकर्ताबाट तल विरोध गराउनुले पार्टीको हित गर्दैन ।’

अध्यक्ष ठाकुरले २५ मंसिरमा लोसपाका कार्यकारिणी सदस्य सोनललाई प्रदेश २ को अध्यक्षमा मनोनयन गरेका थिए । त्यसपछि धनुषामा रहेका वरिष्ठ नेता महतो पक्षका कार्यकर्ताले विज्ञप्ति निकालेर विरोध जनाएका थिए । त्यसपछि धनुषामै महन्थ ठाकुर पक्षका नेता तथा कार्यकर्ताले विज्ञप्ति जारी गरेर सो मनोनयनलाई समर्थन जनाएका थिए, आजको राजधानी दैनिकमा सुभाष साहले समाचार लेखेका छन् ।

प्रतिक्रिया
सम्बन्धित