शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

‘मलाई पनि पढ्न मन छ’

दैनिक नेपाल २०७८ माघ ८ गते ८:१६

काठमाडौं, ८ माघ । सडकको छेउतिर एउटा सानो घर छ ।

घरमा एउटी बालिका हात टेकेर घर्सदै बाहिर—भित्र गर्छिन् । कहिले उनी घर्सदै आँगन डुल्छिन् । कहिले उनी हातको सहाराले सडकसम्म पुग्न डिल उक्लने कोसिस गर्छिन् ।

घर माथिको सडकमा पुग्दा उनी औधी खुसी हुन्छिन् ।

हिँड्ने संघर्षले जमिनमा घोटिएका उनका हातहरू पिल्सिएका छन् । पिल्सिएको हातको पीडाले उनलाई एकै ठाउँमा रोक्न सक्दैन । हिँड्ने चाहनाले उनलाई घरभित्र, बाहिर, आँगन र सडकसम्म घिसारिरहेको छ।  उनलाई स्कुल जाने मन छ । लेख्ने अनि बढ्ने तीव्र इच्छा छ। घरमा आउने मान्छेसँग उनी मुस्कुराउँदै गफ गर्छिन् र भन्छिन्, ‘मेरो नाम मनिषा नेपाली हो । मलाई पनि पढ्ने मन छ ।’

पाँचथरको तुम्बेवा गाउँपालिका— १ तीनघरेकी १३ वर्षीया मनिषा खट्टा टेकेर हिँड्न सक्दिनन् । सानैदेखि मनिषाको कम्मरमुनिको भाग चल्न सकेन । आर्थिक अभावका कारण उनका बुवाआमाले छोरीलाई उपचारमा लैजान सकेनन् । ‘छोरीको समस्या के हो अहिलेसम्म थाहा छैन,’ मनिषाकी आमा पवित्रा नेपाली भन्छिन्, ‘छोरी एकदम बाठी छ । लेखपढ गर्न रुचाउँछे तर, हिँड्न सक्दिनँ ।’

मनिषा कापीकलम भेट्नेबित्तिकै कोर्न थाल्छिन् । उनी आफूले कोरेको रेखाहरू हेर्दै आफैँ रमाउँछिन् । तर, उनी लेख्न जान्दिनन् । आफूलाई पढ्न सिकाउने मान्छे भए मज्जाले लेख्न सक्ने मनिषा बताउँछिन् । ‘म मज्जाले कलम समाउन सक्छु । मलाई पढाउने मान्छे भएन,’ मनिषा भन्छिन् । मनिषा हात चलाउँदै गफ गर्छिन् ।  गफ गर्ने मान्छे भए उनी खुसी हुँदै गफ गर्छिन् । घरको आर्थिक अवस्था कमजोर भएपछि मनिषाका बुवा भगीदल नेपाली विदेश गए । मलेसिया गएको ११ वर्षसम्म भगीदल घर फर्किएका छैनन् ।

‘छोरी पछि एउटा छोरो जन्मियो । त्यसपछि श्रीमान् विदेश गएका अहिलेसम्म आउनु भएको छैन,’ पवित्रा भन्छिन्, ‘केही वर्ष अघिसम्म त खर्च पठाउँदै हुनुहुन्थ्यो, अहिले त्यो पनि छैन ।’  विदेशबाट श्रीमान् अहिलेसम्म नआएपछि अपांंग छोरी र छोरो हुर्काउन अनितालाई निकै हम्मे परेको छ । ‘घरमा काम सघाउने कोही छैन,’ अनिता भन्छिन् ‘अब त श्रीमान् आइदिए हुन्थ्यो ।’ छोरीको पढ्ने इच्छा पूरा गर्न नसक्दा अनितालाई खल्लो लागेको छ, आजको अन्नपूर्ण दैनिकमा भीमकुमार बाँस्कोटाले गोरखाबाट समाचार लेखेका छन् ।

प्रतिक्रिया
सम्बन्धित