शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

धादिङमा अन्नपूर्ण क्वारिजको खानीमाथि नागरिकका घर

अवैध उत्खनन गरेपछि बन्द गरिएको खानी फेरि सञ्चालनमा

दैनिक नेपाल २०७८ माघ ८ गते ८:१०

काठमाडौं, ८ माघ । धादिङको बेनीघाट–रोराङ गाउँपालिका– १० जोगीमारामा अन्नपूर्ण क्वारिज प्रालिको चुनखानी छ ।

दैनिक सातवटा एक्स्काभेटर र एउटा डोजरले डाँडो उधिनिरहेका छन् । ताछेको डाँडोनजिकै जोखिमपूर्ण अवस्थामा छन् नागरिकका घर । चुनखानीले बेनीघाटको जवाङ र जोगीमारा पनि जोखिममा पर्न सक्ने स्थानीयको गुनासो छ ।

मापदण्डविपरीत उत्खनन भएको भन्दै खानी विभाग र वन विभागले केही अवधि खानी नै बन्द गरिदिएको थियो । तर, तीन महिनादेखि पुनः सञ्चालनमा आएको छ । नयाँ नीतिअनुसार वनको प्रयोग गरेको जग्गाबराबर अन्यत्र किनिदिएपछि खानी खुला भएको अन्नपूर्ण क्वारिजका म्यानेजर भोजराज कोइरालाले बताए ।

‘हाम्रो कम्पनीले ०३९ मा लाइसेन्स लिएर ०४२ बाट उत्खनन सुरु गरेको हो । जथाभावी उत्खनन गर्‍यो भनेर केही समय बन्द भयो । पछिल्लो समय धेरै मापदण्ड पूरा गर्‍यौँ । सरकारको निर्णयपछि २१ असोजदेखि पुनः सञ्चालन गरेका हौँ,’ उनले भने, ‘नयाँ नियमअनुसार कम्पनीले सरकारलाई अन्यत्र सट्टा जग्गा किनिदिएको छ । खानी प्रयोगबापत प्रयोग भएको ९५ रोपनी जग्गाको सट्टा बेनीघाट–रोराङ– २ को ताल्तीमा ९८ रोपनी किनेर सरकारको नाममा पास गरिदिएपछि सञ्चालन गर्न पाएको हो ।’

अहिले प्रयोग गर्न पाउने जग्गाको सिमानामा पिलर नै राखेर चुन निकालिएको साइट इन्चार्ज ठाकुर गुरुङको दाबी छ । उनका अनुसार दैनिक आठवटा टिपरले करिब एक सय ५० ट्रिप चुन खानीबाट तल गोदामसम्म ओसार्छन् । तर, टिपरभरि चुन लान नसक्ने भएकाले दैनिक करिब ५० ट्रिप मात्रै हुने उनले बताए ।

यो खानीबाट निकालेको चुन भैरहवास्थित युनिटेक र रिलायन्स कम्पनीमा पठाउने गरेको छ । त्यस्तै, हेटौँडाका शिवम् र रिद्धिसिद्धि सिमेन्ट कम्पनीमा पनि निर्यात हुने गुरुङले बताए । कम्पनीले केजीको हिसाबमा चुन बिक्री गर्छ, आजको नयाँ पत्रिका दैनिकमा अर्जुन श्रेष्ठले धादिङबाट समाचार लेखेका छन् ।

प्रतिक्रिया
सम्बन्धित