शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

मन्त्रीको ‘बेलगाम बोली’ मा प्रधानमन्त्री मौन

दैनिक नेपाल २०७८ माघ ८ गते ८:०३

काठमाडौं, ८ माघ । गौर नरसंहार दोहोर्‍याइदिने भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवको सार्वजनिक अभिव्यक्तिप्रति आलोचना भइरहँदासमेत सरकारले हालसम्म कुनै प्रतिक्रिया जनाएको छैन ।

मन्त्री यादवकै दल जनता समाजवादी पार्टी पनि बेखबर जस्तै छ । रौतहटको गौरमा २०६३ चैत ७ मा तत्कालीन मधेसी जनअधिकार फोरमका कार्यकर्ताको आक्रमणबाट माओवादीका २७ कार्यकर्ताको ज्यान गएको थियो । घटनाको अनुसन्धान फाइल राजनीतिक दबाब र प्रभावमा अघि नबढाइँदा आरोपित कानुनी दायरामै आएनन् ।

घटनाको डेढ दशकपछि मन्त्री यादवले बुधबार रौतहटमा आयोजित कार्यक्रममा जनमत पार्टीका अध्यक्ष सीके राउतलाई लक्ष्य गर्दै गौर घटना दोहोरिने धम्की दिएकी हुन् । उक्त अभिव्यक्तिलाई लिएर सर्वत्र निन्दा भइरहेको छ । बर्खास्तीकै मागसमेत उठिरहेको छ । बर्खास्त गर्ने अधिकार रहेका प्रधानमन्त्री शेरबहादुर देउवा भने दुई दिन बितिसक्दा पनि मौन छन् ।

राजनीतिकशास्त्रका प्राध्यापक लोकराज बराल सार्वजनिक पदमा बसेका अझ राजनीतिक व्यक्तिको बोलीमा लगाम नलाग्दा यस्ता विवाद बाहिर आउने गरेको बताउँछन् । ‘मन्त्री यादवको अभिव्यक्ति आफूविरुद्ध कालोझन्डा देखाएको प्रतिक्रिया स्वरूपको उत्तेजना हो । यसरी बोल्न हुँदैन थियो । लोकतन्त्रमा विरोध गर्न पाइन्छ,’ उनले भने, ‘कसैलाई सिध्याउने गरी मन्त्रीबाटै अभिव्यक्ति आउनु झनै असुहाउँदो हो । यसले नेता तथा मन्त्रीहरूको बोलीमा लगाम छैन भन्ने देखाउँछ ।’ यस्ता घटनाले सरकार र पार्टी दुवैलाई बदनाम गराउने उनको टिप्पणी छ ।

जसपा नेता तथा सांसद मोहम्मद इस्तियाक राईले मन्त्री यादवको अभिव्यक्ति पार्टीको लाइन, विचार र सिद्धान्तविपरीत तथा अमर्यादित भएको बताए । उनले यस विषयमा पार्टीभित्र समीक्षा र छलफल हुने पनि जानकारी दिए । ‘मन्त्रीज्यूको अमर्यादित अभिव्यक्ति आएको छ, यो स्वीकार्य हुँदैन,’ उनले भने, ‘यस्तो अभिव्यक्ति गौर घटना पार्टीले सुनियोजित रूपमा गराएको हो भन्ने पुस्ट्याइँ गर्न खोजिए जसरी आएको छ, यसमा हाम्रो विमति छ ।’

मनोविद् गोपाल ढकाल मन्त्री यादवको अभिव्यक्तिलाई संवेगात्मक दुर्बलताको परिणाम हुन सक्ने ठान्छन् । मनोवैज्ञानिक कुण्ठा र नियतवश पनि त्यस्तो अभिव्यक्ति आएको हुन सक्ने उनले बताए । ‘मानिसमा संवेगात्मक सबलता र दुर्बलता हुन्छन् । जोसँग संवेगात्मक सबलता छ, उसले रिस, क्रोध, आवेग, ईर्श्या, खुसी, सन्तुष्टि आदि व्यवहार र स्वभाव देखाइहाल्दैन । संवेगात्मक दुर्बलता हुनेबाट निम्त्याइने नतिजा पनि हानिकारक नै बन्न पुग्छन् र पछि आफैंले गरेको व्यवहारप्रति आत्म हीनताबोध हुन्छ ।’ त्यस्ता मानिसलाई मनोवैज्ञानिक भाषामा ‘बोर्डर लाइन इन्टेलिजेन्ट’ का रूपमा पनि चित्रण गरिने उनले बताए ।

यसअघि मन्त्री तथा सांसदले पदीय मर्यादा र आचरणविपरतका अभिव्यक्तिले विवादमा तानिएपछि राजीनामा दिएका थिए । राजीनामा दिन नमान्ने बर्खास्तमा परेका थिए । बाबुराम भट्टराई नेतृत्वको सरकारका पालामा राष्ट्रिय अखण्डताविरोधी अभिव्यक्ति दिएको कसुरमा तत्कालीन रक्षामन्त्री शरदसिंह भण्डारी बर्खास्तमा परेका थिए । त्यस्तै व्यक्ति हत्या आरोपितलाई मन्त्री बनाएको भन्दै सर्वत्र विरोध भएपछि तत्कालीन भूमिसुधारमन्त्री प्रभु साह पनि बर्खास्त भएका थिए ।

सुशील कोइराला नेतृत्वको सरकारका पालामा कृषिमन्त्री रहेका हरि पराजुली महिलामाथि दुर्व्यवहार गरेको आरोपमा विवादमा तानिएपछि राजीनामा दिन बाध्य भए । त्यस्तै २०७५ साउनमा कानुनमन्त्री शेरबहादुर तामाङले बंगलादेशमा एमबीबीएस अध्ययनरत छात्रामाथि गरेको आपत्तिजनक अभिव्यक्तिका कारण पदबाट राजीनामा दिनुपर्‍यो ।

नेपालको राष्ट्र्रिय अखण्डताविरुद्ध अभिव्यक्ति दिएकै कसुरमा समाजवादी पार्टीकी तत्कालीन सांसद सरिता गिरी बर्खास्तमा परेकी थिइन् । उनलाई २०७६ असार २३ मा सांसद र पार्टीका सबै जिम्मेवारीबाट बर्खास्त गरिएको थियो, आजको कान्तिपुर दैनिकमा मातृका दाहालले समाचार लेखेका छन् ।

प्रतिक्रिया
सम्बन्धित