३० आश्विन २०८३, शुक्रबार

डिजेलको भाउ अहिलेसम्मकै महँगो, पेट्रोलको मूल्य पनि ‘रेकर्ड ब्रेक’ गर्ने अंकनजिक

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ माघ । नेपाल आयल निगमले बुधबार रातिबाट लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ ।

पछिल्ला ६ महिनामा चौथोपटक मूल्य बढाइएको हो । डिजेल त अहिलेसम्मकै महँगो बनाइएको छ भने पेट्रोलको मूल्य पनि ‘रेकर्ड ब्रेक’ गर्ने अंकनजिक पुर्‍याइएको छ ।

पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर तीन–तीन रुपैयाँ बढाइएको छ । त्यस्तै, आन्तरिक हवाई इन्धन प्रतिलिटर पाँच रुपैयाँ र अन्तर्राष्ट्रिय हवाई इन्धन प्रतिकिलोलिटरमा एक सय डलर वृद्धि गरिएको छ ।

नयाँ मूल्यअनुसार काठमाडौं उपत्यकामा पेट्रोल एक सय ३९ रुपैयाँ, डिजेल र मट्टीतेल समान एक सय २२ रुपैयाँ प्रतिलिटर हुनेछ । त्यस्तै, आन्तरिक हवाई इन्धनको मूल्य एक सय ६ रुपैयाँ र बाह्य हवाई इन्धनको मूल्य नौ सय ९५ रुपैयाँ प्रतिकिलोलिटर निर्धारण गरेको निगमका प्रवक्ता विनीतमणि उपाध्यायले बताए ।

निगमले ३० फागुन ०७० मा मूल्यवृद्धि गरी पेट्रोल एक सय ४० रुपैयाँ तथा डिजेल र मट्टीतेल एक सय नौ रुपैयाँ प्रतिलिटर पुर्‍याएको थियो । तर, बुधबार रातिबाट लागू हुने गरी निगमले डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर एक सय २२ रुपैयाँ निर्धारण गरेको छ, जुन अहिलेसम्मकै महँगो हो । त्यस्तै, पेट्रोलको मूल्य पनि सर्वाधिक महँगो हुने ‘रेकर्ड’नजिक पुगेको छ, एक रुपैयाँ मात्रै कम छ ।

प्रवक्ता उपाध्यायले मूल्यवृद्धिपछि पनि निगमलाई एक अर्ब ८८ करोड रुपैयाँ नोक्सान हुने प्रक्षेपण गरिएको बताए । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ निरन्तर बढेर निगमको खरिद दरसमेत बढेकाले मूल्य बढाउनुपरेको उनको भनाइ छ । ‘हामीले किन्ने मूल्य धेरै बढेर आएको छ । त्यो दाँजोमा अहिले वृद्धि गरिएको मूल्य थोरै हो,’ उनले भने, ‘त्यसैले मूल्य वृद्धिपछि पनि निगमलाई एक अर्ब ८८ करोड रुपैयाँ नोक्सान हुने अवस्था छ ।’

चालू आर्थिक वर्ष ०७८/७९ को साउनदेखि पुससम्म निगमले पेट्रोलियम पदार्थमा चारपटक मूल्यवृद्धि गरेको छ । ७ भदौमा मूल्यवृद्धि गर्दै पेट्रोल एक सय ३० तथा डिजेल र मट्टीतेल समान एक सय १३ रुपैयाँ प्रतिलिटर पुर्‍याइएको थियो । त्यस्तै, आन्तरिक हवाई इन्धन ८६ रुपैयाँ प्रतिलिटर, बाह्य हवाई इन्धन सात सय ७० डलर प्रतिकिलोलिटर र एलपी ग्यास प्रतिसिलिन्डर एक हजार चार सय ५० रुपैयाँ कायम गरिएको थियो । त्यसयता निगमले १२ कात्तिक, २४ कात्तिक हुँदै बुधबारसमेत मूल्यवृद्धि गरेको हो । हरेकपटक मूल्य बढाइएको छ ।

अन्तर्राष्ट्रिय बजारमा भाउ घट्दा पनि नेपालमा घटाइएन

आयल निगमले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेका कारण निरन्तर मूल्य बढाउनुपरेको दाबी गर्ने गरेको छ । तर, अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा भने निगम मौन बसेको थियो, अर्थात् मूल्य घटाएन । निगमले आफूअनुकूल मूल्य समायोजन गर्दै आएको छ ।

०७१ असोजदेखि निगमले स्वचालित मूल्य प्रणाली लागू गरेको हो । कात्तिक अन्तिमसम्म १० अर्ब ३५ करोड नोक्सानी खेपेको निगमको भनाइ छ । तर, मंसिर पहिलो सातादेखि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ घट्न थालेको थियो । १६ मंसिरमा नयाँ मूल्य पाउँदा अन्तर्राष्ट्रिय भाउ घटेर ६६.५ डलर कायम भएको थियो । त्यसको एक महिनाअघि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ ८१ डलर प्रतिब्यारेल थियो । त्यति ठूलो अन्तरमा कच्चा तेलको भाउ घट्दा पनि निगमले मूल्य घटाएन ।

त्यसलगत्तै २ पुसमा नयाँ खरिददर प्राप्त गर्दा पनि कच्चा तेलको भाउ घटेर ६८.६१ डलरमा आएको थियो । त्यतिखेर पनि निगमले मूल्य घटाएन । निगमका प्रवक्ता विनीतमणि उपाध्यायले चालू आवमा कुनै पनि समय निगम नाफामा नरहेकाले मूल्य नघटाएको बताए ।

‘निगमले चालू आवको पुस मसान्तसम्म १९ अर्ब २६ करोड रुपैयाँ नोक्सान खेपिसकेको छ । यति धेरै नोक्सान हुँदा पनि हामीले चारपटक मात्रै मूल्य समायोजन गरेर उपभोक्ता हितअनुकूल कारोबार गरिरहेका छौँ । चालू आवमा कच्चा तेलको भाउ निरन्तर बढिरहेका कारण मूल्य समायोजन गर्दा घटाउन नसकिरहेको स्थिति छ,’ उपाध्यायले भने । निगमका अनुसार गत ७ भदौमा मूल्यवृद्धि गर्दा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ ६८.४० डलर प्रतिब्यारेल थियो । बुधबार साँझ ८६.६० डलर प्रतिब्यारेल पुगेको छ ।

कर्मचारीलाई भने अस्वाभाविक रूपमा भत्ता, मासिक ८२ लाख भत्तामा मात्रै खर्च

संस्था घाटामा गएको भन्दै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दासमेत मूल्य नघटाउने आयल निगमले कर्मचारीलाई भत्ता भने अस्वाभाविक रूपमा बढाएर खुवाइरहेको छ ।

निजामतीको तुलनामा झन्डै तीनगुणा बढी तलब–भत्ता बुझिरहेका आफ्ना कर्मचारीलाई निगमले गत कात्तिकदेखि ‘यातायात खर्च’ शीर्षकमा पनि भत्ता दिन थालेको छ । जब कि १२ देखि २६ कात्तिकको बीचमा निगमले उपभोक्ताको ढाड सेक्ने गरी दुईपटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको थियो । १ कात्तिकदेखि निगमले कर्मचारीलाई हाजिरीका आधारमा दैनिक एक सय ७५ रुपैयाँका दरले ‘यातायात भत्ता’ दिने निर्णय गरेको थियो ।

यसबाहेक पनि निगम कर्मचारीले वर्षाैँदेखि झन्डै एक दर्जन शीर्षकमा भत्ता बुझिरहेका छन्, जुन अन्य संस्थानमा विरलै दिइन्छ । निगम कर्मचारीले लुगा धुने भत्ता शीर्षकमा दैनिक १५ रुपैयाँ बुझ्छन् । यस्तो भत्ता अन्य कुनै संस्थानका कर्मचारीलाई छैन । त्यस्तै, पेट्रोलियम जोखिम भत्ता शीर्षकमा निगमले कर्मचारीलाई मासिक चार हजार पाँच सय दिइरहेको छ ।

आयल निगममा कार्यरत करिब ६ सय स्थायी/करार र केही ज्यालादारीमा रहेका कर्मचारीको बैंक खातामा पुग्ने गरी मासिक करिब चार करोड रुपैयाँ तलब, सुविधामा खर्च हुने गरेको छ । यसमध्ये भत्तामा मात्र मासिक ८० देखि ८२ लाख रुपैयाँसम्म खर्च हुने गरेको छ , आजको नयाँ पत्रिका दैनिकमा अजित अधिकारीले समाचार लेखेका छन् ।