
तुलसीपुर, २९ पुस । कोरोना भाइरसको जोखिम बढ्दै गएपछि दाङमा स्थानीय प्रशासनले ‘स्मार्ट लकडाउन’को घोषणा गरेको छ ।
आज बिहीबार बसेको जिल्ला स्तरीय कोरोना व्यवस्थापन समितिको बैठकले कोरोनाको जोखिम बढेपछि स्मार्ट लकडाउन गर्ने निर्णय गरेको हो ।
दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बेलूकी ७ बजेपछि होटल, रेष्टुराँ, पार्टी प्यालेसहरू बन्द गर्ने गरी स्मार्ट लकडाउन गर्ने निर्णय भएको जानकारी दिए ।
यस्तै सार्वजनिक स्थलमा २५ जना भन्दा बढी जमघट गर्न नपाइने निर्णय भएको पनि उनले बताए । यस्तै माघीको अवसरमा मेला महोत्सव गर्न बन्देज लगाइएको छ ।
पाँच सयभन्दा धेरै संक्रमित भएमा स्मार्ट लकडाउन गर्ने अधिकार गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीलाई दिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार दाङमा अहिलेसम्म १४ हजार जनालाई संक्रमण पुष्टि भएको छ ।
यसैबीच दैनिक सक्रिय संक्रमितको संख्या बढ्दै गएपछि काठमाडौँ उपत्यकामा पनि स्मार्ट लकडाउनको सम्भावना उच्च बन्दै गएको छ । काठमाडौं उपत्यकासँगै मोरङ र कास्कीमा पनि ‘स्मार्ट लकडाउन’को सम्भावना बढेको छ ।
काठमाडौँ उपत्यकामा अहिले दैनिक सक्रिय संक्रमितको संख्या पाँच सय नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबारसम्म काठमाडौँ मात्रै सक्रिय संक्रमितको संख्या ५ हजार ८४२ छ । यस्तै भक्तपुरमा ९ सय ६३ र ललितपुरमा १ हजार ५९१ छ ।
सक्रिय संक्रमितको संख्या पाँच सयभन्दा धेरै भएपछि गृह मन्त्रालयले सम्बन्धित प्रमुख जिल्ला अधिकारीलाई ‘स्मार्ट लकडाउन’ गर्ने अधिकार दिएको छ ।















प्रतिक्रिया