
दोलखा, २९ पुस । नेपाल कम्युनिष्ट पार्टी (एमाले) दोलखा काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष गणेश शिबाकोटी दोलखा जिल्ला कमिटीमा निर्वाचित भएका छन् ।
पुस २३ र २४ गते सम्पन्न दोलखा जिल्ला कमिटीको दशौं अधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा शिबाकोटी ५१८ मत प्राप्त गरी विजयी बनेका हुन् । १४ जना खुला सदस्य पदका लागि उम्मेदवारी दिएका शिबाकोटीले तेस्रो स्थानमा जित हासिल गरेका छन् ।
निर्वाचनमा १४ जना सदस्यका लागि २३ जनाले उम्मेदवारी दिएका थिए । उम्मेदवारहरूमध्ये खुला सदस्यतर्फ सबैभन्दा बढी मत प्राप्त गरी टंक जिरेल विजयी भएका छन् । उनी जिरी नगरपालिकाका मेयर समेत हुन् ।
त्यस्तै गौरीशंकर गाउँपालिकाका प्रमुख समेत रहेका स्वयमबहादुर खड्काले ५२७ मत प्राप्त गरी दोस्रो स्थानमा जित हासिल गरेका छन् भने ५१८ मत प्राप्त गरी कालिञ्चोक गाउँपालिकाका गणेश शिवाकोटीले तेस्रो स्थानमा जित हासिल गरेका छन् । एमालेको सम्पर्क मञ्चको विभिन्न कमिटीहरूमा रहेर प्रभावकारी काम गर्दै आएका शिबाकोटी प्रभावशाली युवा नेता तथा समाजसेवीका रुपमा परिचित छन् ।
त्यस्तै खुला तर्फका अन्य सदस्यहरूमा क्रमशः तामाकोशी गाउँपाललिका शान्त केसीले ५०५, गौरीशंकर गाउँपालिकाका महाराज गुरुङले ४८९, बिगु गाउँपालिकाका कुमार खड्काले ४६८, भीमेश्वर नगरपालिकाका नवीन कुमार लामाले ४५३ र भीमेश्वरकै मुरारीराज शिबाकोटीले ४३० मत प्राप्त गरी विजय हासिल गरेका छन् ।

त्यसैगरी कालिञ्चोक गाउँपालिकाका रोहितचन्द्र खड्काले ४२१, भीमेश्वरका कैलाश कुमार श्रेष्ठले ३६५, भीमेश्वरकै रामप्रसाद सापकोटा र बासु श्रेष्ठले क्रमशः ३५२ र ३५० मत प्राप्त गरी विजयी बनेका छन् । यस्तै वैत्यश्वर गाउँपालिकाका रेशम राजश्वराज रिमालले ३२८ र गौरीशंकरका रमेश श्रेष्ठ ३०० मत प्राप्त गरी विजयी बनेका छन् ।
खुलातर्फ विजयी १४ जनामध्ये गणेश शिबाकोटी र बासु श्रेष्ठ मात्रै सम्पर्क मञ्चबाट जिल्ला कमिटीमा निर्वाचित भएका हुन् । निर्वाचित अन्य सदस्यहरू भूगोलकै कमिटीहरूबाट आएका हुन् ।
१४ जना खुला सदस्यका लागि प्रतिस्पर्धामा रहेका भीमेश्वरका प्रविण प्रधान, मेलुङका सुमन योगी, भीमेश्वरका सुजन शिबाकोटी, भीमेश्वरकै श्रीकृष्ण बस्नेत, बिगुका नवराज केसी, कालिञ्चोकका जगदिश शिबाकोटी, तामाकोशीका श्यामकाजी कटुवाल, बिगुका अमरबहादुर लामिछाने र मेलुङका प्रदिप पाठक भने पराजित भएका छन् ।
पराजित उम्मेदवार प्रधानले २९८, योगीले २८१, शिबाकोटीले २७९, बस्नेतले २५३, केसीले २३८, शिबाकोटीले २३७, कटुवालले २२८, लामिछानेले २१७ र पाठकले १९५ मत प्राप्त गरेका छन् ।
सम्पर्क मञ्चबाट को–को भए जिल्ला कमिटी सदस्य ?
यो पटकको जिल्ला अधिवेशनमा सम्पर्क मञ्चले प्रभावशाली उपस्थिति जनाएको छ । सम्पर्क मञ्चबाटै विभिन्न क्लष्टरबाट प्रल्हाद लामिछाने, सविना केसी, शान्ता खड्का र दिपक कार्की पनि जिल्ला कमिटी सदस्यमा निर्वाचित भएका छन् ।
सम्पर्क मञ्चका अन्य कतिपय आकांक्षीहरुले सर्वसम्मतिमा सहजीकरणका लागि उम्मेदवारी फिर्ता समेत लिएका थिए । बिगुका ओमकृष्ण आचार्य र कवन आचार्य तथा कालिञ्चोकका हरि ओली र अर्जुन बुढाथोकीलगायत अन्य विभिन्न गाउँपालिकाको प्रतिनिधित्व गर्दै उम्मेदवारी दिएका सम्पर्क मञ्चका नेताहरूले सहमति कायम गर्न उम्मेदवारी फिर्ता लिएको बताइएको छ ।
अधिवेशनले जिल्लाको नेतृत्वमा मेलुङ गाउँपालिकाका प्रमुख समेत रहेका नरबहादुर श्रेष्ठलाई निर्वाचित गरेको छ । त्यस्तै उपाध्यक्षमा पूर्व पत्रकार राजेन्द्र मानन्धर र सचिवमा हिरा थोकर निर्वाचित भएका छन् ।
त्यस्तै उपसचिवमा धर्मेन्द्र मोक्तान, कमला बस्नेत र सुन्दर कार्की निर्वाचित भएका छन् । नयाँ कार्यसमिति चयनका लागि केही भूगोलतर्फका सदस्यहरूबाहेक सम्पूर्ण पदमा निर्वाचन भएको थियो ।















प्रतिक्रिया