
हेटौंडा, २८ पुस । नेकपा एमालेका केन्द्रीय सदस्य एवम् मकवानपुर सह–इन्चार्ज कृष्णप्रसाद दाहालले पार्टीका अध्यक्ष केपी शर्मा ओलीको अडानले दोस्रो संविधानसभाबाट संविधान जारी हुन सकेको बताएका छन् ।
हिजो मंगलबार पूर्वी मकवानपुरको बकैया–१० मन्थलीको धुवाँकोटमा भएको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले एमालेको अडानले मात्र संविधान जारी हुन सफल भएको बताएका हुन् । उनले संविधान जारी नगर्न देशी–विदेशी शक्ति सक्रिय रहेको अवस्थामा अध्यक्ष ओलीको अडानले संविधान जारी हुन सकेको दाबी गरे ।
मकवानपुर–१ का सांसद समेत रहेका दाहालले २०६४ सालमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको बहुमतको सरकारले पहिलो संविधानसभा बाट संविधान बनाउन नसकेपछि दोस्रो संविधानसभामा एमाले देशको दोस्रो शक्तिको रुपमा उदाउँदा पार्टी अध्यक्ष केपी ओलीको अडानको कारण संविधान जारी हुन सकेको स्मरण गरे । ‘जनताको संविधान ल्याउन कांग्रेस, माओवादी लगायतको राजनीतिक दलको भूमिका रेहको छ तर संविधान जारी नगर्न विभिन्न चलखेल रहेको अवस्थामा एमालेको अडानले मात्र संविधान जारी हुन सक्यो,’ उनले भने ।
‘अध्यक्ष ओलीले अडान नलिएको भए संविधान आउँदैनथ्यो, संविधान बनेपछि भारतले नाकाबन्दी लगायो । नाकाबन्दीपछि ओली सरकारमा आएर ९ महिनासम्म नाकाबन्दीलाई सामाना गरेर नाकाबन्दी खोले । ओली सरकारमा रहँदा गुमेको भूमि नक्सा सार्वजनिकदेखि देशमा चौतर्फी राजमार्ग विस्तार, विद्युतीकरण, स्वास्थ्य श्रेत्रमा महत्वपूर्ण कामहरु भयो,’ दाहालले भने ।
उनले आफू सांसद भएदेखि आफ्नो क्षेत्रको विकास निर्माणको कामहरुलाई अघि बढाउँदै लगिरहेको पनि बताएका छन् । उनले आउँदो एक वर्षभित्र बकैयाको सबै वडामा विद्युत पुग्ने समेत बताए । उनले कृषिलाई जिविकोपार्जनलाई मात्र नलिई व्यावसायीकरण गर्न समेत आग्रह गरेका छन् ।
उनले विदेशमा गर्ने परिश्रम स्वदेशमै गर्नुपर्ने बताउँदै स्थानीय, प्रदेश र केन्द्र सरकारले अनुदान दिइरहेको बताए । उनले एमाले ‘सुखी नेपाली र समृद्ध नेपाल’को अभियानमा निरन्तर अघि बढेको बताएका छन् ।















प्रतिक्रिया