शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

डब्ल्यूएचओको चेतावनी : युरोपको आधा जनसंख्या ओमिक्रोनबाट संक्रमित हुनसक्छन्

दैनिक नेपाल २०७८ पुष २८ गते ८:२७

काठमाडौं, २८ पुस । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले अबको ६ देखि ८ हप्तामा युरोपका आधा जनसंख्यामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण फैलिने चेतावनी दिएको छ ।

डब्ल्यूएचओका डा. हान्स क्लुगका अनुसार डेल्टा भेरियन्टको संक्रमण फैलिरहेकै बेला अहिले ओमिक्रोन भेरियन्ट तीव्र गतिमा फैलिरहेको हो । सन् २०२२ को पहिलो हप्तामा युरोपमा ७० लाखभन्दा धेरैमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यसलाई नै आधार मानेर डब्ल्यूएचओले चेतावनीसहितको आँकलन गरेको हो ।

डेल्टा भेरियन्टको संक्रमण फैलिन नदिनका लागि प्रयास भइरहेका बेला ओमिक्रोन भेरियन्ट नयाँ चुनौतीका रुपमा आएको डा क्लुगले बताएका हुन् । युरोपका आधा जनसंख्यामा अबको ६ देखि ८ हप्ताभित्र ओमिक्रोन भेरियन्टको संक्रमण हुन सक्ने आँकलन सियाटलमा रहेको इन्स्टिच्युट फर हेल्थ मेट्रिक्स एण्ड इभ्यालुएयनले गरेको अध्ययनका आधारमा गरिएको हो ।

ओमिक्रोन भेरियन्टको जोखिममा युरोप र मध्य एसियाली देश रहेको जनाइएको छ । पछिल्ला अध्ययनहरुका अनुसार ओमिक्रोन भेरियन्टको संक्रमण तीव्र गतिमा फैलिने भए पनि गम्भीर बिरामी पार्ने सम्भावना भने कोभिडका अरु भेरियन्टभन्दा कम रहेको छ । खोपको पूर्ण मात्रा लगाएको भए पनि ओमिक्रोन भेरियन्टको संक्रमण हुन सक्ने वैज्ञानिकले बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित