
काठमाडौं, २२ पुस । आईएमई जनरल इन्स्योरेन्स लिमिटेडले आफ्नो भुक्तानीसम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने गरी दुई संस्थाबीच सम्झौता भएको छ ।
सम्झौतापत्रमा आईएमई जनरल इन्स्योरेन्सका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मानसिंह प्रधानले हस्ताक्षर गरेका छन् ।
उक्त सम्झौतापश्चात आईएमई जनरल इन्स्योरेन्स एनसीएचएलको नेसनल पेमेन्ट स्विच (एनपीएस) अन्तर्गतको नेसनल पेमेन्ट इन्टरफेस (एनपीआई) सँग जोडिने निर्जीवन बीमा कम्पनी बनेको छ भने यसले कम्पनीको आन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचएल–आईपीएस र कनेक्ट आईपीएस प्रणालीसँग जोडी बीमा दाबी भुक्तानी, क्रेडिट नोट भुक्तानी, एजेन्ट कमिसन, सर्भे पेमेन्ट, तलब, भेण्डर भुक्तानी लगायत आफ्नो लगानीसम्बन्धी कारोबारहरु आबद्ध भएका बैंक खाताहरुबाट सोझै गर्न सक्नेछ ।
यसले आईएमई जनरल इन्स्योरेन्सलाई आफ्ना विभिन्न खाताहरुबाट भुक्तानी कारोबारहरु सहजै आफ्नो अपरेटिङ खातामा सार्न पनि मद्दत पुर्याउने छ। यी सबै कारोबारहरु सोझै बीमा कम्पनी तथा लाभग्राहीका बैंक खाताहरुबाट हुने छन् ।
यसरी एनपीआईमा जोडिएपछि आइएमई जनरल इन्स्योरेन्सका सम्पूर्ण भुक्तानीहरु पूर्ण स्वचालित रुपमा हुनुका साथै हिसाब मिलान गर्न पनि सजिलो हुने छ । एनपीआईसँग गरिने उक्त इन्टिग्रेसनमा आइएमई जनरल इन्स्योरेन्सको प्राविधिक पार्टनर अर्हान्त सोलुसन्स प्रालिको पनि महत्वपूर्ण भूमिका रहेको छ जसले आइएमई जनरल इन्स्योरेन्सलगायत १८ भन्दा बढी निर्जीवन बीमा कम्पनीलाई कोर प्रणाली प्रदान गर्दै आएको छ ।
आईएमई जनरल इन्स्योरेन्सलगायत ३० भन्दा बढी जीवन तथा निर्जीवन बीमा कम्पनीका बीमितहरुले आफ्नो बीमा प्रिमियम शुल्क अनलाइनमार्फत कनेक्ट आईपीएसबाट भुक्तानी गर्दै आएका छन् । यसका साथै ९ जीवन तथा निर्जीवन बीमा कम्पनीहरु यसअघि नै एनपीआईमा आबद्ध रहेका छन् ।
एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीहरुको एकीकृत इन्टरफेसका रुपमा विकास गरिएको एनपीआई सञ्चालनमा रहेको छ । जसमा हाल ६० सदस्य बैंक वित्तीय संस्थाहरु आबद्ध छन् भने अन्य पीएसपी/पीएसओ, रेमिटेन्स कम्पनीहरु, मर्चेन्ट बैंक, सरकारी तथा अर्धसरकारी संस्थाहरुलगायतका ७० गैरबैंकिङ संस्थाहरु इन्डाइरेक्ट तथा प्राविधिक सदस्यका रुपमा आबद्ध छन् ।
आईएमई जनरल इन्स्योरेन्सले सन् २००१ फेब्रुअरी १ देखि आफ्नो सेवा प्रदान गर्दै आएको छ । बैंकिङ, ट्रेडिङ, हाइड्रोपावरजस्ता विविध क्षेत्रका ख्यातिप्राप्त उद्योगी तथा व्यवसायीद्वारा प्रवर्द्धित यस कम्पनीले गुणस्तरीय, स्थायित्व, विशेषज्ञतापूर्ण सेवा प्रदान गर्दै आएको छ ।
एनसीएचएलसँगको यो साझेदारीले विभिन्न डिजिटल च्यानलमार्फत प्रदान गरिने बीमा उत्पादनहरुमा आफ्नो उपस्थिति विस्तार गर्न मद्दत गर्ने विश्वास कम्पनीको रहेको छ ।















प्रतिक्रिया