३० आश्विन २०८३, शुक्रबार

शेखरलाई किनारा लगाउँदै देउवा

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० पुस । कांग्रेस सभापति शेरबहादुर देउवा महाधिवेशनमा ‘मौन’ बसेर सहयोग गरेका वरिष्ठ नेता रामचन्द्र पौडेललाई सक्रिय बनाएर आफूसँग प्रतिस्पर्धामा उत्रिएका शेखर कोइरालालाई ‘साइज’ मा राख्ने रणनीतिमा अघि बढेका छन् ।

केन्द्रीय कार्यसमितिमा मनोनयन र राष्ट्रिय सभा उम्मेदवारी तय गर्दा उनको रणनीतिको चित्र देखिन थालेको छ ।

केन्द्रीय कार्यसमितिको सोमबार बसेको बैठकले राष्ट्रिय सभा निर्वाचनमा पार्टीका तर्फबाट ६ जना उम्मेदवार टुंगो लगायो । प्रदेश १ मा गोपाल बस्नेत (झापा), वाग्मतीमा कृष्णप्रसाद पौडेल (काठमाडौं), गण्डकीमा कमला पन्त (गोरखा), लुम्बिनीमा युवराज शर्मा (बाँके), कर्णालीमा दुर्गाकुमारी गुरुङ (सुर्खेत) र सुदूरपश्चिममा नारायण मिश्र (कञ्चनपुर) लाई उम्मेदवार बनाउने निर्णय भएको छ । एक केन्द्रीय सदस्यका अनुसार देउवाले पन्त र मिश्रलाई पौडेलको प्रस्तावमा उम्मेदवार बनाएका हुन् ।

महाधिवेशनमा कोइराला प्यानलबाट सहमहामन्त्रीमा चुनाव लडेकी भए पनि पन्त पौडेलनिकट मानिन्छिन् । सुदूरपश्चिम प्रदेश सभापतिमा चुनाव लडेका मिश्र पनि पौडेलका विश्वासपात्र मानिन्छन् ।

‘सरसर्ती हेर्दा सभापतिले अर्को पक्ष (शेखर कोइराला) लाई समेटेजस्तो देखिन्छ तर शेखरजीभन्दा पनि पौडेलको प्रस्तावमा उहाँहरूको उम्मेदवारी तय भएको हो,’ ती केन्द्रीय सदस्यले भने, ‘खासमा सभापतिले पौडेललाई सक्रिय बनाउने र शेखर समूहलाई साइजमा राख्ने रणनीति बनाउनुभएको छ ।’ उम्मेदवारी तय गर्दा देउवाले पदाधिकारी, पूर्वपदाधिकारी र प्रदेश सभापतिसँग परामर्श गरेको उनले बताए ।

१३ औं महाधिवेशनमा देउवासँग सभापतिमा भिडेपछि पौडेलको नेतृत्वमा संस्थापनइतर समूह निर्माण भएको थियो । १४ औं महाधिवेशनमा पौडेल र देउवा समूहकै नाममा वडादेखि प्रदेशसम्म प्रतिस्पर्धा भएको थियो । महाधिवेशनमा भने आफ्नै समूहमा साझा उम्मेदवार बन्न नसक्दा पौडेल विरक्तिएका थिए । आफ्नो समूहबाट उम्मेदवार बनेका कोइराला र प्रकाशमान सिंहको पक्षमा उनी खुलेनन् । पौडेल मौन बस्दाको लाभ देउवाले लिए । उनले विरक्तिएका पौडेललाई निर्वाचनअघि भेटेर ‘पार्टी र देशको राजनीतिमा तपाईंको सक्रिय भूमिका आवश्यक रहेको’ भन्दै फकाएका थिए ।

देउवाले शनिबार पहिलो चरणमा पौडेलसहित १० जना र आइतबार थप ३ जनालाई केन्द्रीय सदस्य मनोनीत गरे । मनोनयनपछि सोमबार बसेको पहिलो बैठकमा देउवाले पौडेललाई दोस्रो वरीयतामा राख्दै पार्टीमा सम्मानजनक भूमिका दिन खोजेको सन्देश प्रवाह गरेका छन् । अन्य वरिष्ठ केन्द्रीय सदस्यको वरीयता भने पदाधिकारीपछि निर्धारण गरिएको छ । कमजोर सम्हूलाई साथमा लिँदै बलियो समूहलाई दबाबमा राख्ने देउवाको पुरानै रणनीति हो । १३ औं महाधिवेशनमा सभापति निर्वाचित भएपछि उनले कृष्णप्रसाद सिटौला समूहलाई साथमा लिएर पौडेल समूहलाई पेलेका थिए । महाधिवेशनको मुखमा तत्कालीन महामन्त्री शशांक कोइरालालाई समेत निकट बनाएर पौडेललाई आफ्नै समूहभित्र सानो घेरामा सीमित पारेका थिए ।

१४ औं महाधिवेशनपछि शेखर ४० प्रतिशत मतसहित पार्टीभित्र नयाँ शक्तिको रूपमा उदाएका छन् । १३ औं महाधिवेशनपछि निष्क्रिय भएको कांग्रेसभित्रको सशक्त र पुरानो ‘कोइराला समूह’ फेरि सक्रिय हुने अवस्था बनेको छ । शेखरनिकट युवा नेता गुरुराज घिमिरेले सभापति देउवाले साझा सभापति बन्ने प्रतिबद्धता जनाए पनि व्यवहारमा त्यस्तो नदेखाएको बताए । ‘विशेषगरी केन्द्रीय सदस्य मनोनयनमा शेखर कोइराला समूहका नेतालाई बेवास्ता गरिएको छ, यसले पार्टी एकतामा अत्यन्तै गलत सन्देश गएको छ,’ उनले भने ।

घिमिरेले भनेझैं देउवाले कोइराला समूहलाई ‘साइज’ मा राख्ने काम केन्द्रीय सदस्य मनोनयनबाटै गरेका छन् । सभापति, उपसभापति र महामन्त्रीमा पराजित पूर्वकेन्द्रीय समितिका सबैलाई मनोनीत गर्दा कोइरालाको प्यानलबाट उपसभापति लडेका चन्द्र भण्डारी र महामन्त्री लडेका मीनेन्द्र रिजाल अझै मनोनीत भएका छैनन् ।

विगतमा देउवाको साथमा रहेका दुवै जना पूर्वकेन्द्रीय सदस्य हुन् । निर्वाचनको अन्तिम परिणाम आएपछि कोइराला समूहले पुस ९ मा आफूपक्षीयको बैठक गरी केन्द्रीय कार्यसमिति र अन्य निकायमा ‘न्यायोचित’ मनोनयन गर्नुपर्ने बताएको थियो । बैठकमा सहभागी केन्द्रीय सदस्य अर्जुननरसिंह केसीका अनुसार महाधिवेशनमा ४० प्रतिशत मत पाएको कोइराला समूहलाई विश्वासमा लिएर अघि बढ्न सभापति देउवालाई सुझाव दिने निर्णय भएको थियो, आजको कान्तिपुर दैनिकमा कलेन्द्र सेजुवालले समाचार लेखेको छन् ।