३० आश्विन २०८३, शुक्रबार

रासायनिक मल ल्याउँदा एक अर्ब भ्रष्टाचार, यी व्यक्तिविरुद्ध पर्यो अदालतमा मुद्दा

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ पुस । गत वर्ष रासायनिक मल आपूर्ति गर्दा एक अर्ब रुपैयाँ भ्रष्टाचार भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक, गुणस्तर प्रमाणित गर्ने कम्पनी र ठेकेदारविरुद्धसमेत गरी १२ जनाविरुद्ध आयोगले आइतबार अदालतमा मुद्दा दायर गरेको हो ।

गत वर्ष १९ हजार चार सय ३३ मेट्रिक टन डिएपी मल खरिद तथा आपूर्ति गर्दा सो परिमाणको रकमबराबर भ्रष्टाचार भएको आयोगको अभियोगपत्रमा उल्लेख छ । सम्झौता गरिएको स्पेसिफिकेसनमा तोकिएभन्दा न्यून गुणस्तरको रासायनिक मल आयात गरेर त्यसका आधारमा भुक्तानी दिइएको एक अर्ब ५३ लाख २२ हजार रुपैयाँ रकमलाई बिगो कायम गरेर आयोगले अदालतमा मुद्दा दायर गरेको हो ।

आयोगले यस प्रक्रियामा संलग्न संस्थान, गुणस्तर प्रमाणित गर्ने कम्पनी र ठेकेदार सबैविरुद्ध मुद्दा दायर गरेको छ । रासायनिक मल खरिद प्रकरणमा आयोगले करिब सात महिना लामो छानबिन गरेर आइतबार अदालतमा मुद्दा दायर गरेको हो । ठेकेदारले ल्याएको मल अहिले प्रयोग भएर पनि सकिएको छ ।

अख्तियारले कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारी, प्रबन्धक विष्णुप्रसाद पोखरेल, सहायक प्रबन्धक दुर्गाप्रसाद पाण्डे र उपप्रबन्धक पुष्करदीप बुढासहित कृषि सामग्री कम्पनीका चारजनाविरुद्ध आयोगले मुद्दा दायर गरेको छ ।

फरक गुणस्तरको मललाई स्पेसिफिकेसनमा तोेकिएबमोजिमकै मल भनेर गलत प्रतिवेदन तयार गर्ने नेपाल इन्भायर्मेन्टल एन्ड साइन्टिफिक सर्भिसेज प्रालिका प्रबन्ध निर्देशक सलिल देवकोटा, प्रयोगशाला निर्देशक सुनिलबाबु खत्री, सिनियर सर्भेयर महेन्द्रकुमार डागा, प्रयोगशाला तथा परामर्शदाता भोलानाथ चौधरी, उक्त संस्था र कृषि सामग्री कम्पनीबीच संस्थाका तर्फबाट सम्झौता गर्ने मनोज आचार्य र संस्था स्वयंविरुद्ध मुद्दा दायर गरिएको छ ।

कम्पनीको स्वीकृत स्पेसिफिकेसनको गुणस्तरभन्दा कम गुणस्तरको डिएपी मल आपूर्ति गर्ने आपूर्तिकर्ता जोशी बीज हाउस प्रालि र त्यसका कार्यकारी निर्देशक विनीत जोशीलाई पनि अभियुक्त बनाएर आयोगले मुद्दा दायर गरेको छ, आजको नयाँ पत्रिका दैनिकमा सुवास भट्टले समाचार लेखेका छन् ।

त्यस्तै ‘मल खरिदमा १ अर्ब ५३ लाख भ्रष्टाचार’ शीर्षकमा आजको राजधानी दैनिकमा निराजन पौडेलले पनि समाचार लेखेका छन् । समाचारमा नेपाल गुणस्तर तथा नापतौल विभागमा जाँच हुँदा कम गुणस्तरको देखिँदासमेत तोकिएबमोजिम गुणस्तर भएको भनी गलत परीक्षण प्रतिवेदन बनाई भन्सार नाका तथा कृषि सामग्री कम्पनी लिमिटेड प्रधान कार्यालयमा पेस गरेको खुलेको अख्तियारले जनाएको उल्लेख छ ।