९ कार्तिक २०८३, सोमबार

बाजा बजाएर एमसीसीको स्वागत गर्नुपर्छ : चुनारा

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ पुस । राष्ट्रिय दलित आयोगका पूर्वसदस्य कृष्णबहादुर चुनाराले अमेरिकी सहयोग सम्झौता (एमसीसी) नेपालको हितमा रहेको भन्दै बाजा बजाएर स्वागत गर्नुपर्ने बताएका छन् ।

हिजो शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले यस्तो अभिव्यक्ति दिएका हुन् । उनले एमसीसीले नेपाली जनतालाई समृद्ध बनाउने भन्दै यसलाई नेपाली जनताले बाजा बजाएर स्वागत गर्नुपर्ने धारणा व्यक्त गरेका छन् ।

साथै, उनले एमसीसी पास भए अमेरिकी सेना आउँछ भनेर गलत प्रचार गर्नु नेपाललाई विकासबाट पछाडि धकेल्ने षड्यन्त्र भएको जिकिर गरेका छन् । ‘नेपालमा जंगलको बाघले खानुभन्दा पहिला मनको बाघले खाने प्रचलन रहेको छ,’ उनले भन, ‘अमेरिकी जनताले साम्राज्यवाद र सामन्तीकोविरुद्ध लडेर लोकतन्त्र प्राप्त गरेको हो । अमेरिकालाई सामन्ती भन्नु गलत छ ।’

‘म अमेरिकामा बस्दा महशुस गरेको कुरा के हो भने दुई देशबीच धेरै ठूलो भिन्नता छ । अमेरिकी जनताले सामन्तवादको नाम समेत सुन्न चाहदैनन्,’ उनले भने । यस्तै, अमेरिकाले नेपाली जनताको आर्थिकस्तर उन्नत बनाउनका लागि हाइड्रोमा सम्भावना देखेर सहयोग गर्न लागेको भन्दै उनले एमसीसीलाई विथोल्ने काम कोहीबाट पनि हुन नहुने धारणा व्यक्त गरेका छन् ।

‘विद्युत् उत्पादन गरेर विदेशी राष्ट्रहरूलाई बेच्ने हो । भारतले अहिलेको अवस्थामा हामीले उत्पादन गरेको विद्युत् किन्न मान्दैन् । तर, अमेरिकाले भनेपछि भारतले पनि किन्दिनँ भनेर भन्न सक्दैन् । त्यसैले हामीले भारतलाई पनि बेच्न सक्छौं,’ उनले भने । नेपालमा कतिपय राजनीतिक दलका नेताहरू सामाजिक अभियान्ताको नाममा केही फाइदा हुन्छ कि भनेर एमसीसीको विरोधमा लागेको उनको आरोप छ । ‘अमेरिकी भिसा पाउन मरिहत्ते गर्ने अनि विकास हुँदा किन विरोध गर्ने ?’ उनले प्रश्न गरेका छन् ।

‘२०५७/५८ सालमा नेपालका सरकारी बैंकहरू घाटामा गएका थिए । त्योबेला विदेशीहरूले सहयोग गर्छौं भन्दा पनि विदेशीले बैंक नै लग्न थाल्यो भन्ने हल्ला गरियो, यस्तै विरोध भएको थियो । तर, आखिरमा उनीहरूले बैंकलाई नाफामा पुर्याएर फिर्ता गएका थिए । त्यसैगरी एमसीसीले पनि नेपाली जनतालाई खुसी बनाउने छ,’ उनले भने, ‘अमेरिकी यस परियोजनामा नेता र कर्मचारीले बाँडेर खान नपाउने भएको हुँदा यस्तो भएको हो । त्यसैले यसलाई संसद्ले अनुमोदन गर्नुपर्छ ।’

साथै, उनले बनेपा–बर्दिवासको बाटो जापानले बनाएको स्मरण गराउदै विदेशी लगानी गर्नुहुँदैन् भन्नु गलत मानसिकता भएको टिप्पणी गरेका छन् । एमसीसी पास भए अमेरिकी सेनाले कब्जा गर्छ भन्ने कुरा कल्पना पनि गर्न नसकिने भन्दै एमसीसी पास नगराउन अन्य कुनै देश पनि लागेको छ कि ? भन्दै आशंका व्यक्त गरे ।