
काठमाडौं, १८ पुस । लछुमन माझी (५६ वर्ष) को जीवनमा यस्ता सन्तापका दिन यसअघि आएका थिएनन्, २०७२ को भूकम्पले घर भत्काइदिए पनि उनको जीवन–जग हल्लिएको थिएन ।
भरोसा दिने छिमेकीको जग्गामा सानो टहरो हालेपछि उनी गुजारामुखी जीवनमा फर्किएका थिए । तर अचानक ‘सरकार लागेपछि’ उनको जीवनमा ऐंठन परेको छ ।
माछा मारेर जीविका चलाउने उनले ५ करोड ५६ लाख राजस्व छली गरेको भनेर पाटन उच्च अदालतमा उनीसहित ८ जनालाई मुद्दा परेको छ, राजस्व छलेको अभियोगमा पक्राउ गर्न कति बेला प्रहरी आउने हुन् भनेर माझीगाउँ नै अनिँदो छ ।
कान्तिपुर संवाददाता शुक्रबार उनको झुप्रोमा पुग्दा लछुमन माछा मार्ने जाल बनाइरहेका थिए । दोलखा सदरमुकाम चरिकोटबाट करिब २३ किलोमिटर दक्षिण मोटरबाटो छेउमै उनको घर छ । तामाकोसीको छेवैमा रहेको भीरकोटस्थित माझीगाउँका बासिन्दा कतिपयले भरिया काम गर्छन्, लछुमनजस्ता कतिपय तामाकोसीमा माछा मारेर गर्जो धान्छन् ।
अहिले भने लछुमन माछा मार्न जान डराउँछन् । ‘नियमित खोला झर्दा पुलिस आउलान् भन्ने डर लाग्छ,’ उनी भन्छन्, ‘ज्याला–मजदुरीमा कहिले यता कहिले उता जान पाए हुन्थ्यो भन्ने लाग्छ ।’ तर काम नपाए खोलामा जानुको विकल्प छैन । ३२ वर्षीय जेठो छोरा दिनेश पनि ज्याला–मजदुरी खोजी हिँड्छन् । जीवनकै दुःखले १५ वर्षीय कान्छो छोरा काठमाडौंको एउटा होटलमा काम गर्छन् ।
ठीक एक वर्षअघि २०७७ पुस १९ मा उनको घरमा एउटा पत्र आयो जसले विपत्को सन्देश बोकेको थियो । साँवा अक्षर नचिन्ने लछुमनलाई छिमेकीहरूले पत्र पढेर सुनाइदिए । सार थियो, ‘पीआरके ट्रेड इन्टरनेसनलका प्रोप्राइटर तपाईं लहुमन (लक्षुमन) माझीविरुद्ध ५ करोड ५६ लाख राजस्व चुहावटको मुद्दा दायर भएको छ । १५ दिनभित्र पाटन उच्च अदालतमा हाजिर हुनू ।’
पत्रको व्यहोरा सुनेर लछुमन अलमल परे, हाँस्ने कि रुने ? तामाकोसीमा माछा खोज्दै हिँड्ने माझीले त्यत्रो कम्पनी कसरी खोल्नु ? कसरी अर्बौंको व्यापार गरेर साढे पाँच करोड राजस्व छल्नु ? खासमा लछुमन अझै पनि प्रस्ट छैनन्, यो राजस्व छल्नु भनेको के हो ? कसरी छलिन्छ ? छलेपछि के हुन्छ ?
लछुमन कसरी यस्तो पासोमा परे ? उत्तर खोज्न २०७२ को भूकम्प सम्झनुपर्छ । घर भत्किएकाले राहतका विभिन्न कार्यक्रम घोषणा भइरहेका थिए । त्यही बेला गाउँमा कपडा बेच्दै हिँड्ने सर्लाही डुमरियाका महेन्द्र यादवले उनलाई राहत पाइने आशा देखाए । खासमा महेन्द्र र लछुमनका बैनीज्वाइँ ठाकुर माझी मीत थिए । यही मितेरी साइनोले नजिकिएका महेन्द्रले राहतको आशा देखाएर नरेश राय यादव र लक्ष्मण राय यादवको सम्पर्कमा पुर्याए । ‘महेन्द्रले यिनीहरू मेरै काकाका छोराहरू हुन् भनेर चिनाए, ठाउँमा भएका मान्छेले राहत दिलाइदिन्छन् भनेपछि शंका गरिनँ, दोष त्यही भयो,’ लछुमन ६ वर्षअघिको भूलले पिरोलिन्छन् ।
राहत लिन नागरिकता बोकेर लछुमन काठमाडौं आए । उनलाई लिन नरेश गाउँमै पुगेका थिए । सानोमा काठमाडौं घुमेका उनलाई धेरै वर्षपछि फेरि ठूलो सहर पुग्दा रमाइलो पनि लाग्यो । ‘सुरुमा १४ हजार त गाउँमै दिएका थिए, ठूलो राहत पछि आउँछ भनेर विभिन्न कागजपत्रमा ल्याप्चे लिए । तर राहत तुरुन्तै आउने होइन भनेर फर्काइदिए,’ उनी भन्छन् ।
९ दिनसम्म काठमाडौं धेरैतिर घुमे पनि कहाँकहाँ घुमें भन्ने पत्तो उनलाई भएन । तर विभिन्न चेकहरूमा पनि ल्याप्चे लगाउन लगाएको उनी सम्झन्छन् । कागज र चेकमा जेसुकै लेखेको भए पनि उनी पढ्न सक्दैनथे । राहतका लागि उनी त्यस्ता जति पनि कागजमा ल्याप्चे लगाउन तयार थिए, आजको कान्तिपुर दैनिकमा दोलखाबाट केदार शिवाकोटीले समाचार लेखेका छन् ।















प्रतिक्रिया