
काठमाडौं, १७ पुस । नगरकोटस्थित नेपाली सैनिक वार कलेजमा भदौ १३ गतेदेखि सञ्चालन हुँदै आएको सि.सं. १० हाइयर कमाण्ड तथा म्यानेजमेन्ट तालिम सम्पन्न भएको छ ।
प्रधानसेनापति महारथी प्रभुराम शर्माले हिजो शुक्रबार जंगी अड्डास्थित सगरमाथा हलमा आयोजित एक कार्यक्रमका बीच सो तालिमको समापन गरेका हुन् । उक्त समापन कार्यक्रममा शिक्षार्थी अधिकृतहरुलाई सम्बोधन गर्दै सेनापति शर्माले सफलतापूर्वक तालिम समापन गरेकोमा सम्पूर्ण शिक्षार्थीहरुलाई बधाइ दिनाकाका साथै तालिमले कमाण्ड तहको जिम्मेवारी पूरा गर्न सक्षम, प्रभावकारी एवं भविष्यमुखी नेतृत्वको विकासमा अहम भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।
साथै, उनले तालिमले शिक्षार्थीहरुलाई रणनीतिक तथा अपरेशनल तहका नेतृत्वकर्ता, योजनाकार र सल्लाहकारका रुपमा समेत सक्षम बनाएको विश्वास व्यक्त गरेका छन् । नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको उपस्थिति रहेको उक्त समापन कार्यक्रममा उक्त वार कलेजका कमाण्डाण्ट तथा तालिमका मुख्य शिक्षक उपरथी संजय थापाले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
महिला सैनिक अधिकृत २ जना र पुरुष अधिकृत ३३ जना गरी जम्मा ३५ जना महासेनानी दर्जाका शिक्षार्थीहरुको सहभागिता रहेको उक्त तालिममा समग्रमा महासेनानी सुरज गुरुङ्ग प्रथम (बेस्ट स्टुडेन्ड अफिसर) भएका छन् भने महासेनानी विमल कुमार बस्नेत शोधपत्र (बेस्ट इन्डिभिज्युअल रिसर्च पेपर) तर्फ प्रथम भएका छन् ।
हाइयर कमाण्ड तथा म्यानेजमेन्ट तालिम नेपाली सेनामा संचालन हुने सबैभन्दा उच्च स्तरको तालिम हो । २०७१ सालदेखि नगरकोटस्थित नेपाली सैनिक वार कलेजमा सञ्चालन हुँदै आएको यो तालिममा उक्त कलेजबाट हालसम्म महिला सैनिक अधिकृत ९ जनासहित जम्मा २७२ जना अधिकृत दीक्षित भइसकेका छन् ।















प्रतिक्रिया