
काठमाडौं, १५ पुस । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बुधबार सञ्चारकर्मीलाई ‘नेतृत्व चयन प्रक्रिया लोकतान्त्रिक तरिकाले अगाडि बढ्ने’ प्रतिक्रिया दिए पनि पदाधिकारी र केन्द्रीय सदस्य सकेसम्म सर्वसम्मत गराउन प्रयास भइरहेको छ ।
दाहाल हलबाट सर्वसम्मत केन्द्रीय सदस्य टुंगो लगाउने र उनीहरूबाट पदाधिकारी चयन गर्ने योजनामा छन् । पदाधिकारी सर्वसम्मत हुने अवस्था नआए केन्द्रीय सदस्य टुंगो लगाएर महाधिवेशन समापन गर्ने विषयमा समेत छलफल चलेको छ ।
दाहालनिकट नेताहरूका अनुसार जारी महाधिवेशनमा नेतृत्व चयनका लागि निर्वाचन हुने सम्भावना कम छ । सर्वसम्मत गराउन अध्यक्ष दाहालले निकट नेताहरूसँग परामर्श थालेको एक स्थायी समिति सदस्यले जानकारी दिए । ‘पार्टी एकताको सन्देश दिनुपर्नेछ । त्यसैले चुनावी प्रक्रियामा जाने सम्भावना थोरै छ,’ ती नेताले भने । उनले केन्द्रीय समिति सर्वसम्मत भएपछि पदाधिकारीका लागि चुनाव हुने सम्भावना रहेको पनि बताए । उनका अनुसार हाल केन्द्रीय समितिमा रहेका मध्येबाट आधा र समावेशी कोटाबाट आधा ल्याएर केन्द्रीय समितिलाई पूर्णता दिने दाहालको तयारी छ ।
युवा नेताहरूले भने सर्वसम्मतका नाममा खुला प्रतिस्पर्धालाई रोक्न नहुने आवाज उठाइरहेका छन् । केन्द्रीय सदस्य दलजित श्रीपालीले अध्यक्ष दाहालको विकल्प नभए पनि अरूका लागि प्रतिस्पर्धा हुनुपर्ने बताए । ‘अध्यक्षले प्रस्तुत गरेको राजनीतिक दस्ताबेजलाई गति दिन प्रतिस्पर्धाबाट नेतृत्व चयन गर्नु राम्रो हुन्छ,’ उनले भने, ‘चुनावी प्रतिस्पर्धाबाट नेतृत्व चयन हुँदा संगठनमा गति आउँछ । अध्यक्षले अघि सारेका कार्यदिशा सफल हुन्छन् ।’
अर्का एक नेताले खासगरी महासचिवमा सहमति हुन नसके अरू पदाधिकारी पछि केन्द्रीय समितिले चयन गर्ने गरी महाधिवेशन समापन गर्ने छलफल चलेको जानकारी दिए । ‘तर अहिले पदाधिकारी नछान्दा महाधिवेशन खल्लो हुन्छ,’ उनले भने, ‘पदाधिकारीमा सहमति नभए चुनावी प्रतिस्पर्धाबाट चयन गर्नुपर्छ ।’
मंगलबार बसेको स्थायी समिति बैठकले समावेशीतर्फको कोटा निर्धारणका लागि देव गुरुङ, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल, शक्ति बस्नेत र विष्णुपुकार श्रेष्ठ रहेको समिति बनाएको छ । समावेशीतर्फको कोटा टुंगो लागेपछि व्यक्ति चयनबारे औपचारिक छलफल सुरु हुने एक नेताले बताए । पार्टीको निर्वाचन आयोगले बन्दसत्रमा राजनीतिक प्रतिवेदन र विधान पारित भएलगत्तै चुनावी प्रक्रिया थाल्ने जनाएको छ ।
आयोगका अध्यक्ष विष्णुपुकार श्रेष्ठले सहमति नभए चुनाव गराउन आफूहरू तयारी अवस्थामा रहेको बताए । ‘राजनीतिक प्रतिवेदनमाथि समूहको रिपोर्टिङ सकिएपछि विधानका विषयमा पनि विचार आउँछन् । त्यसपछि बिहीबार विधान पास हुन्छ । पास भएलगत्तै हामी निर्वाचन प्रक्रिया सुरु गर्ने तयारीमा छौं,’ उनले भने । केन्द्रीय समिति महाधिवेशन प्रतिनिधिले चयन गर्छन् भने पदाधिकारी केन्द्रीय समितिले छान्छ, आजको कान्तिपुर दैनिकमा बबिता शर्माले समाचार लेखेकी छिन् ।















प्रतिक्रिया