
काठमाडौं, १४ पुस । कोरोना महामारीमा विद्यालय बन्द हुँदा ललितपुर गोदावरीकी बिना थापा बच्चाहरू बिग्रिने हुन् कि भनेर चिन्तत हुन्थिन् ।
विद्यालय खुल्न थालेपछि भने उनमा भने अर्को चिन्ता थपिएको छ– बच्चाहरूमा संक्रमण पो हुने हो कि ∕ ‘विद्यालय नजाँदा घरमा चकचक गर्छन् भने पीर, विद्यालय जाँदा कोरोना सर्ला भन्ने डर । ‘खोप लगाइदिन पाए अलि ढुक्क भइन्थ्यो कि,’ उनले भनिन् । उनका ८ वर्षीय छोरा र ३ वर्षकी छोरी विद्यालय गइरहेका छन् ।
दाङकी ११ वर्षीया प्रतिभा चौधरी विद्यालय खुलेपछि फुरुंग छिन् । उनी विद्यालयको बसमा जान्छिन् । ‘कत्ति पछि स्कुल लाग्यो । सुरुमा त पठाऊँ कि नपठाऊँ भएको थियो तर अहिले कोरोना कम भएको छ,’ प्रतिभाकी आमा भन्छिन्, ‘नानीलाई मास्क लगाउन, हात धुन सिकाउन पर्दैन । तर स्कुल बसमा भने भीड हुने रहेछ । त्यसैले डर लाग्छ ।’
यी दुईझैं अरू अभिभावक बालबालिकालाई विद्यालय पठाउँदा खुसी त छन् तर संक्रमण सर्न सक्ने जोखिमबारे उत्तिकै चिन्तित देखिन्छन् । कोरोनाले बन्द भएका विद्यालय पुनः खुलेपछि बालबालिका विद्यालय जान थालेका छन् । पठनपाठन चलिरहेको छ ।
हाल परीक्षणका आधारमा संक्रमण दर कम देखिए पनि जोखिम भने कायमै रहेको विज्ञहरूले बताउँदै आएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार १८ वर्ष उमेर समूहकामा पहिलो लहरमा २१ हजार ५ सय २३ जना संक्रमित भएका थिए भने ३८ जनाको मृत्यु भएको थियो । संक्रमणको दोस्रो लहरमा ४५ हजार ३ सय ६७ जना संक्रमित भएकामा ५२ जनाको मृत्यु भयो । भौतिक रूपमा विद्यालय सञ्चालन गर्ने निर्णयपछि कोरोना संक्रमणको रोकथामका लागि ध्यान पुर्याउँदै आएको विद्यालय सञ्चालकको दाबी छ ।
कान्ति बाल अस्पतालका निर्देशक डा. अजित रायमाझीका अनुसार बालबालिका अस्पताल भर्ना हुने संख्या बढेको छ । ‘दुई सातायता बालबालिका भर्ना हुने दर बढेको देखिन्छ । कोभिडका एक जना उपचाररत छन् भने शंकास्पद बिरामी १५ जना भर्ना भएका छन्,’ उनले भने, ‘रुघाखोकीका बिरामी बढेका छन् । ओमिक्रोन भेरिएन्टमा धेरै लक्षण नदेखिएकाको हामी यसबारे पनि अध्ययन गरिरहेका छौं ।’ आजको कान्तिपुर दैनिकमा बुनु थारुले समाचार लेखेकी छिन् ।















प्रतिक्रिया