
काठमाडौं, १४ पुस । चिसो बढेपछि महोत्तरीका अधिकांश दलित बस्तीमा जाडो छल्ने मुख्य साधन पराल बनेको छ ।
परालकै ओछ्यान र परालकै घुर तापेर चिसो छल्नुको विकल्प विपन्न दलित समुदायसँग छैन । अघिल्ला वर्षहरूमा महोत्तरीमा शीतलहरबाट मृत्यु हुनेको वास्तविक तथ्यांक कसैसँग पनि छैन ।
०७४ मा भने तीनजनाको मृत्यु भएको प्रहरी तथ्यांक छ । गत वर्षझैँ यस वर्ष पनि सम्सी गाउँपालिका– ५ पोखरभिन्डाका सौखी सदाको परिवार चिसोमै कठ्यांग्रिन बाध्य छ । सरकारले गत वर्षको शीतलहरमा उनका लागि पक्की घर बनाइदिने प्रतिबद्धता जनाएको थियो ।
तर, एक वर्ष बितिसक्दा पनि उनको घर बन्न सकेको छैन । यो वर्ष पनि उनको परिवारले काठले अड्याइएको त्रिपालमुनि लालाबालासहित जाडो कटाउनुपर्नेछ । सौखीकी पत्नी ललिता सदाले आफ्नो घर देखाउँदै भनिन्, ‘गत वर्षकै चिसोमा घर बनाइदिने भनेर सरकारका मान्छेले आश्वासन दिएका थिए, तर अहिलेसम्म पनि सोधखोज गर्न कोही आएन ।’
दिनभरजसो आकाश धुम्म हुँदा मंगलबार देशभर चिसो बढेको छ । तराईका जिल्लामा शीतलहर सुरु भएको छ । शीत र स्याँठ नछेक्ने झुपडपट्टीमा पराल ओछ्याएर बस्न बाध्य विपन्न परिवारका वृद्धवृद्धा, बालबालिका र सुत्केरी उच्च जोखिममा छन् । तर, तीनै तहका सरकारले जोखिमका वेला अल्पकालीन राहतको योजनासमेत बनाएको छैन ।
हरेक वर्ष प्रदेश २ का आठ जिल्ला शीतलहरले बढी प्रभावित हुने गरेका छन् । पछिल्ला चार वर्षमा ७४ जनाको मृत्यु भएको छ । प्रदेश प्रहरी कार्यालय जनकपुरको तथ्यांकअनुसार गत वर्ष मात्रै चिसोका कारण १० जनाले ज्यान गुमाए । ०७४र७५ देखि ०७७र७८ सम्म चार वर्षमा रौतहटमा सबैभन्दा धेरै ३२ जनाको मृत्यु भएको छ । सप्तरीमा १८, सिराहामा सात, पर्सामा ६, धनुषामा चार, महोत्तरी र सर्लाहीमा तीन–तीन तथा बारामा एकजनाको मृत्यु भएको छ ।
सिराहाको कल्याणपुर नगरपालिका– १२ की बुलो सदालाई राज्यले जनता आवासको घर बनाइदिन सुरु गरेको चार वर्ष भयो । सुरु भएको आर्थिक वर्षमै आवास तयार गर्नुपर्नेमा चार वर्ष भइसक्दासमेत डिपिसी लेभलमै छ । सरकारले नै नयाँ घर बनाउन पुरानो घर भत्काउन लगायो, तर न नयाँ मिल्यो, न पुरानो नै रह्यो । शारीरिक रूपमा अशक्त ५४ वर्षीया बुलो शीत र हावा नछेक्ने भत्किएको झुपडीमा समय गुजार्दै छिन् । त्यसमा पनि लगाउने न्यानो कपडा छैन, ओछ्याउने त परको कुरा । श्रीमान् गुमाइसकेकी बुलोका दुई छोरी छन्, आजको नयाँ पत्रिका दैनिकमा लहानबाट मणिलाल विश्वकर्मा, सर्लाहीबाट श्रवण थापा, बाराबाट बसन्त खतिवडा, रामेछापबाट दीपक भट्ट, बुटवलबाट विष्णु घिमिरे, बाँकेबाट विश्वराज पछल्डङ्ग्या र धनगढीबाट तेजराज भट्टले समाचार लेखेका छन् ।
समाचारमा शीतलहरमा विपन्न दलितलाई ज्यान जोगाउनै मुस्किल, प्रदेश सरकार पूर्वतयारीमा जुटेको, चिसोमै कठ्यांग्रिन बाध्य छ सौखी सदाको परिवार, मुख्यमन्त्री एकीकृत बस्ती विकास कार्यक्रम अलपत्र, घर निर्माणमा ठेकेदारको लापरबाही, कञ्चनपुर र डोटीका विपन्नको अवस्था पनि उस्तै, शीतलहरले कष्टकर बन्दै विपन्नको जनजीवन, चिसोमा कठ्याग्रिँदै विपन्न, आगो तापेर रात काट्दै, चिसोबाट बचाउन स्थानीय तहको तयारी शून्य, शीतलहरबाट जोगाउन बाँकेका स्थानीय तहसँग छैन कुनै योजना, चिसो बढेपछि टिफिन समयपछि विद्यालय खालीलगायत विषयवस्तुलाई समावेश गरिएको छ ।
साथै कुनै कुनै स्थानमा प्रदेश तथा स्थानीय सरकारले केही राहतको योजना बनाएको विषय पनि समाचारमा समेटिएको छ ।















प्रतिक्रिया