३० आश्विन २०८३, शुक्रबार

‘अर्ली इलेक्सन’मा नजाने प्रधानमन्त्रीको सन्देश

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ पुस । प्रमुख प्रतिपक्षी एमालेले संसद्को कार्यकाल एक वर्ष बाँकी रहँदै जनादेशमा जानुपर्ने माग गरिरहेका वेला प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले मुलुक ‘अर्ली इलेक्सन’मा नजाने संकेत गरेका छन् ।

आइतबार माओवादीको आठौँ महाधिवेशनमा शुभकामना दिँदै उनले अहिलेको सत्ता गठबन्धन संसद्को कार्यकालभरि चल्ने बताए । ‘अहिले हाम्रो गठबन्धन बनेको छ । यो कसैकाविरुद्ध होइन । संसद् विघटन नभएर पूरै चलोस् भन्ने उद्देश्यका साथ संविधान बनाइएको हो । म पनि संविधानसभा सदस्य थिएँ । संविधान बनाउने काममा मेरो पनि योगदान छ । अदालतमा समेत गएर बनाएको जुन पाँचदलीय गठबन्धन छ यो कसैको खिलापमा होइन,’ प्रधानमन्त्री देउवाले भने, ‘संविधानका साथसाथै संसद् पनि बचाउन गठबन्धन बनेको हो । यो गठबन्धन पूरा कार्यकाल चल्छ । यसमा कसैले शंका नगरे हुन्छ । म त अझै अगाडि पनि गठबन्धन जाओस् भन्ने चाहन्छु । ओलीजीहरू र अरू पार्टीहरूलाई नलागोस्– हाम्रो खिलापमा गठबन्धन बन्यो ।’

पाँचदलीय सत्ता गठबन्धनमा रहेका अन्य दलका शीर्ष नेताहरूले पनि संवैधानिक र राजनीतिक संघर्षको बलमा पुनस्र्थापित संसद्को कार्यकाल पूरा हुनुपर्ने र चुनावसम्मै गठबन्धन लैजानुपर्ने मत राखिरहेका छन् । १४औँ महाधिवेशनबाट कांग्रेसको सभापतिमा दोहोरिएको दुई साता नबित्दै प्रधानमन्त्री देउवाले संसद्को कार्यकाल र गठबन्धनको भविष्यबारे बोलेका हुन् । उनले गठबन्धन कसैको विरुद्ध नरहेको पनि स्पष्ट पारे ।

माओवादी अध्यक्ष प्रचण्डले गठबन्धनका विषयमा प्रधानमन्त्री देउवाले दिएको अभिव्यक्ति धेरै ठूलो रहेको र आफूहरूको चाहना पनि त्यही रहेको बताए । ‘उहाँ (देउवा)ले म गठबन्धन चाहन्छु । चुनावपछि पनि चाहन्छु भन्नुभयो,’ प्रचण्डले भने, ‘तपाईं–हामीले सुन्न चाहेको त्यही थियो, उहाँको मुखबाट । गठबन्धन जान्छ भन्दिनुभयो । त्यो पनि ठूलो स्टेटमेन्ट भन्दिनुभयो, उहाँले । हामी सबैलाई चाहिएकै त्यही हो ।’

आगामी वैशाखमा स्थानीय तहको निर्वाचन गर्न निर्वाचन आयोगले सरकारलाई सुझाव दिएको बेला प्रधानमन्त्री देउवाको भनाइ आएको हो । कांग्रेसकै केही नेता ‘अर्ली इलेक्सन’को पक्षमा नरहेको बेला पार्टी सभापतिसमेत रहेका देउवाले संसद्को कार्यकालमाथि धारणा राखेका हुन् । १२ माघमा हुन थालेको राष्ट्रिय सभाका १९ सिटको चुनावमा पाँचदलीय गठबन्धनले संयुक्त रूपमा लड्ने निर्णय गरिसकेको छ । गठबन्धनकै बलमा देउवा प्रधानमन्त्री बनेका हुन्, आजको नयाँ पत्रिका दैनिकमा दिपेश शाही, किरण दहाल र ज्ञानेन्द्र कार्कीले समाचार लेखेका छन् ।