
काठमाडौं, ११ पुस । माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई चुनौती दिन सक्ने नेता अब पार्टीमा छैनन् ।
तत्कालीन उपाध्यक्ष मोहन वैद्य र बाबुराम भट्टराईले कुनै बेला दाहाललाई सिधा चुनौती दिन्थे । रामबहादुर थापा, नेत्रविक्रम चन्द, टोपबहादुर रायमाझी, लेखराज भट्ट, लोकेन्द्र विष्ट, गोपाल किराँतीलगायत युद्ध लडेका नेता पनि बाहिर छन् ।
पार्टीबाट ती नेता बाहिरिएपछि दाहाललाई सजिलो भएको छ तर चुनौतीको सामना गर्दै थप उचाइ चुम्ने मौकाचाहिँ छैन । राजनीतिक, वैचारिक र सांगठनिक रूपमा फरक मत राख्ने नेताहरू नहुँदा माओवादी ‘भुत्ते’ भइसकेको विश्लेषकको भनाइ छ ।
के अब नयाँ माओवादी पार्टी निर्माण होला ? दाहालले पार्टी निर्माणका लागि निर्मम कदम चाल्ने बताएका छन् । पार्टीको आइतबारदेखि शुरू हुने महाधिवेशनबाट दाहाल पुनः अध्यक्ष हुने निश्चितजस्तै छ ।
उनी तीन दशकभन्दा बढी पार्टीको नेतृत्वमा रहिसकेका छन् । उनले आफू नेतृत्व छोड्न तयार भए पनि केही वर्ष सक्रिय हुनुपर्ने स्थिति आएको बताए । ‘मलाई अहिले पनि व्यक्तिगत रूपले मेरो उमेर, अवस्था, परिवारको स्थिति हेर्दा अर्को खालको भूमिका खेलेर संस्मरण लेखेर बस्न पाए हुन्थ्यो भन्ने लाग्छ,’ दाहालले भने, ‘तर देशको आवश्यकता, लोकतन्त्रको अवस्था हेर्दा र पार्टीमा उत्तराधिकारीहरू तयार पार्ने आवश्यकता हेर्दा अझ केही वर्ष नेतृत्व गर्नुपर्ने बाध्यता देख्छु ।’, आजको कान्तिपुर दैनिकमा गंगा बीसीले समाचार लेखेका छन् ।















प्रतिक्रिया