३० आश्विन २०८३, शुक्रबार

पुनर्निर्माणका अधिकांश काम बाँकी छँदै राष्ट्रिय पुनर्निर्माण प्राधिकरण खारेज

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० पुस । भूकम्पपछिको पुनर्निर्माण तथा पुनस्र्थापनाको जिम्मा पाएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्धारित समय र अतिरिक्त थप गरेको समयावधि सकिएसँगै खारेज भएको छ ।

प्राधिकरणले पुनर्निर्माण र पुनर्स्थापनासम्बन्धी कतिपय काम सम्पन्न गर्न भने सकेन । त्यस्ता अधुरा रहेका काम विभिन्न निकायलाई जिम्मा लगाइएको छ ।

प्राधिकरणले विद्यालय भवनतर्फ ७ हजार ५ सय ५३ विद्यालय भवनको पुनर्निर्माणको लक्ष्य राखेको थियो । प्राधिकरणका अनुसार ६ हजार ६ सय ४७ भवन मात्रै पुनर्निर्माण सम्पन्न भएको छ । अझै ९ सय ३६ विद्यालय भवन पुनर्निर्माण तथा पुनस्र्थापना बाँकी रहेको छ ।

१ हजार १ सय ९७ स्वास्थ्य संस्थानका भवन पुनर्निर्माण गर्नुपर्नेमा ७ सय ५१ वटाको मात्रै सम्पन्न भएको छ । अझै ३ सय ५४ भवनको पुनर्निर्माण हुन सकेको छैन । शिक्षा र स्वास्थ्यजस्तो महत्वपूर्ण क्षेत्रको पुनर्निर्माण गर्न नै प्राधिकरण असफल बनेको हो । स्वास्थ्य तथा शिक्षाभन्दा सरकारी भवनमा भने प्राधिकरणले अलिक बढी चासो देखाएको पाइएको छ ।

४ सय १५ वटा सरकारी भवनको पुनर्निर्माण गर्नुपर्नेमा ३ सय ८८ वटाको सम्पन्न गरेको छ । २० वटाको मात्र बाँकी रहेको पाइएको छ ।

सांस्कृतिक सम्पदातर्फ ९ सय २० वटाको पुनर्निर्माण गर्नुपर्नेमा अझै २ सय ८८ वटाको पुनर्निर्माण बाँकी रहेको छ । सुरक्षा निकायतर्फ २ सय १६ वटा पुनर्निर्माण प्राधिकरणमार्फत गर्ने लक्ष्य लिएकोमा सबै पूरा भएको प्राधिकरणले जनाएको छ । ४० लाख नागरिकसँग सरोकार जोडिने काठमाडौं परिसर भने अहिले पनि टेकुमा पाल टाँगेर बस्दै आएको छ ।

आवास पुनर्निर्माणतर्फ पनि झन्डै डेढ लाखको काम सम्पन्न हुन बाँकी रहेको पाइएको छ । पुनर्निर्माण लाभग्राहीका लागि अनुदान सम्झौतामा ८ लाख २९ हजार ६६७ ले सम्झौता गरेकोमा तेस्रो किस्ता लिनेको संख्या ७ लाख ३ हजार ३ सय ७ मात्रै रहेको छ ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भने यस अवधिमा उल्लेखनीय उपलब्धि हासिल गरेको बताएका छन् । उनले बुधबारको निर्देशक समितिको बैठकमा मात्रै पुनर्निर्माणबाट प्राप्त उपलब्धिको चर्चा गर्दै विपद् उत्थानशील विकासलाई राष्ट्रिय विकास योजनाको अभिन्न अंगका रूपमा लैजानुपर्ने बताएका थिए, आजको राजधानी दैनिकमा टेनिश रोकाले समाचार लेखेका छन् ।