३० आश्विन २०८३, शुक्रबार

अन्तरजातीय विवाह गरेका दलित युवक एक सातादेखि बेपत्ता

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जुम्ला, ७ पुस । अन्तरजातीय बिहे गरेका हुम्लाको सर्केगाड गाउँपालिका–१ जैरको नात्ता गाउँका चन्द्रे कामी एक सातादेखि बेपत्ता छन् ।

मुगुको सोरु गाउँपालिका–१ लिप्रुकी सुन्तली भनिने रमिला मल्लसँग प्रेम विवाह गरेका उनी गत बुधबारदेखि बेपत्ता पारिएका हुन् ।

परिवारका अनुसार मंसिर २९ को मध्यरात घरमै आएको एक समूहले चन्द्रेलाई कुटपिट गर्दै लगेका थिए । त्यसयता उनको अवस्था अज्ञात छ । केटी पक्षका मानिस आएर चन्द्रेलाई कुटपिट गरेर सुन्तलीलाई फिर्ता लगेको र चन्द्रेलाई पनि अपहरण गरेर बेपत्ता बनाएको परिवारको भनाइ छ ।

चन्द्रे र सुन्तलीले घरबाट भागेर विवाह गरेका थिए । अन्तरजातीय विवाहकै कारण चन्द्रेलाई बेपत्ता बनाइएको पीडित परिवारले दाबी गरेको छ ।

बेपत्ताको खोजी गर्न हुम्लाका डीएसपी हेरम्ब शर्माको नेतृत्वमा ३० जना प्रहरी गाउँमा गएको छ । बेपत्ताको खोजी भइरहेको प्रहरीले जनाएको छ । उक्त गाउँ हुम्ला सदरमुकाम सिमकोटबाट एक दिनको पैदल दूरीमा पर्छ ।

हुम्लाका १८ वर्षीय चन्द्रे र मुगुकी १७ वर्षीया रमिलाले मंसिर ५ मा प्रेम विवाह गरेका थिए । उनीहरूको विवाहलाई माइती पक्षले सजिलै स्विकार्ने सम्भावना नभएपछि चन्द्रे र सुन्तली घरतिर नगएर छिमेकी गाउँमा बसेका थिए ।

उनीहरू मंसिर २४ मा मात्रै जैर गाउँस्थित घर गएका थिए । हुम्लाको जैर गाउँमा दलित समुदायको बसोबास छ । तीन वर्षअघि मुगुको एउटा होटलमा काम गर्दै गर्दा चन्द्रेको भेट सुन्तलीसँग भएको थियो । त्यसपछि उनीहरू प्रेम सम्बन्धमा रहेको गाउँलेको भनाइ छ, आजको कान्तिपुर दैनिकमा एलपी देवकोटाले समाचार लेखेका छन् ।