३० आश्विन २०८३, शुक्रबार

विपक्षसँग वार्ता गर्ने प्रधानमन्त्रीको कसरत

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ पुस । संसद् सुचारु गर्न सरकारले प्रमुख प्रतिपक्षी दल एमालेसँग औपचारिक रूपमै संवाद अगाडि बढाउने गृहकार्य थालेको छ ।

दशौँ अधिवेशनअन्तर्गत मंगलबार प्रतिनिधिसभाको दोस्रो बैठक बस्न थालेको अवस्थामा सरकारका एक मन्त्रीले विपक्षी दलसँग वार्ता गर्ने बताएका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसिसी अनुमोदनका लागि गठबन्धन दल र संसद्मा प्रतिनिधित्व गर्ने अन्य दलसँग बैठक गरेलगत्तै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्र बडूले विपक्षीसँगै महत्वका साथ एक्लै संवाद गर्न सरकार तयार रहेको प्रतिक्रिया दिएका छन् । गठबन्धनमा विवाद रहे पनि एमसिसीप्रति विपक्षी एमाले लचक छ ।

‘केही ‘रिजर्भेसन’ राखेर आइतबार सर्वदलीय बैठकमा उहाँहरू (एमाले नेताहरू) उपस्थित हुनुभएन । संसद् चलाउनका लागि सरकारले प्रमुख प्रतिपक्षसँग छुट्टै पनि छलफल गर्छ,’ मन्त्री बडूले भने । उनका अनुसार प्रधानमन्त्रीका दूतले प्रतिपक्षी दलसँग वार्तासमेत गरेका छन् ।

प्रधानमन्त्री देउवाले आइतबार आह्वान गरेको सर्वदलीय बैठक विपक्षी दल एमालेले बहिष्कार गरेको थियो । बैठकले प्रमुख प्रतिपक्षी दल एमालेलाई आफ्ना असहमति प्रकट गर्ने नाममा जननिर्वाचित संसद्लाई बन्धक नबनाउन आग्रह गरेको थियो ।

सरकारले वार्ता अगाडि बढाए पनि एमालेका माग सम्बोधन सहज छैन । एमालेले आफूले कारबाहीका लागि सिफारिस गरेका सांसदहरू समेटेर एकीकृत समाजवादी पार्टी गठन भएको र ती पार्टीका सांसद संसद् उपस्थित रहेसम्म संसद् अवरोध गर्ने बताइरहेको छ ।

आफ्नो पार्टीले सिफारिस गरेका माधव नेपालसहितका सांसदको सूचना टाँस्न ढिला गरेको भन्दै एमालेले सभामुखविरुद्ध पनि आन्दोलन जारी राखेको छ, आजको नयाँ पत्रिका दैनिकमा किरण दहालले समाचार लेखेका छन् ।