२८ आश्विन २०८३, बुधबार

नेपाल प्रहरी, राजनीतिक हस्तक्षेप र बुढो सालमा उम्रिएको पिपल

3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

राज्यको तल्लो तहसम्म पुग्ने सरकारी ईकाई भनेको नेपाल प्रहरी हो। प्रहरीको त्यो संरचनासँग नै मानिसले सुरक्षाको पहिलो प्रत्याभूति सोचेको हुन्छ। तर, प्रहरीमाथि नै फेरि आम मानिस विश्वास गर्दैन र प्रश्न उठाउँछ– पहुँचवालाको पक्षमा हुन्छन्। सायद प्रहरीको उपल्लो निकायका दुखका विषयमा पनि केही जानकारी भएका कारणले यहि विन्दुबाट नेपालको सामाजिक-राजनीतिक अवस्थाका चर्चा उठाउने प्रयत्नमा छ, टिप्पणीकार।

प्रहरीको सबैभन्दा उपल्लो निकाय भनेको महानिरिक्षक (आईजी) हुन्छ। उसको नियुक्ति प्रक्रिया कुनै मेरिट्सका आधारमा हुँदैन न योग्यता र क्षमताका आधारमा हुन्छ, नेपालमा। भईहालेको खण्डमा त्यसलाई अपवाद मान्नुपर्ने अवस्था छ। त्यो नियुक्ति प्रक्रिया सत्ताको बागडोरको स्वार्थका आधारमा हुन्छ। त्यो सुरक्षा अर्थात् फौजी संगठनले काम कसरी गर्ला? यहिँनेर पहिलो प्रश्नको जन्म हुन्छ।

अर्कोचाहिँ राजनीतिक दलका नेताको दैलो चहार्ने प्रवित्ति छ। यी काम नेपथ्यमा हुन्छन् तर सबै जानकार नै छन्। उसको बफादारिता व्यक्तिको दैलोभन्दा माथि कहाँ उठ्न सक्ला र? समाजको तल्लो ईकाईसम्म जोडिएको सबैभन्दा ठूलो र विश्वासको आधार बन्नुपर्ने ७० हजार संख्याको संगठनको तल्लो तहसम्मको लहरो कसरी फिँजारिएको होला, त्यो व्याख्या गरी साध्य छैन।

नेपाल प्रहरी खास अर्थमा पिपलको बिऊ हो। उसको क्षमता र प्रभावकारिताका विषयमा स्वतन्त्र ढंगले विश्लेषण गर्ने हो भने फरक नतिजा आउन सक्छ। तर, यहाँ स्वतन्त्र को छन् र कसरी विश्लेषण गर्न सकिएला भन्ने अर्को प्रमुख सवाल उठ्छ। त्यसैले टिप्पणीकारले भनेको छ– नेपाल प्रहरी भनेको सखुवा (साल)को रुखमा उम्रिएको पिपलको गेडो हो। जो एउटा रुखका रुपमा हलक्क बढ्न खोज्छ तर मर्छ। जसलाई दुनियाँले पूजा त गर्छन् तर रुख चढीचढीकन पानी चढाउन सक्तैनन्।

यो कसरी भयो ?

यसका लागि नेपालको भ्रष्ट राजनीतिक दल र तिनको चरित्रको चर्चा नगरी हुँदैन। नेपालका अनेक संयन्त्रलाई बिगार्ने मूल तत्व नै राजनीतिक दल हुन्। यो वा त्यो होइन, आफ्नो स्वार्थ, कुबुद्धि प्रयोग गर्ने नेता, भ्रष्टाचारको बिजारोपण गर्ने कथित नेता, अपराधकर्मलाई टाउको लुकाउनका लागि निर्वाचित भएकाहरूलाई आश्रय दिने एमाले, कांग्रेस, माओवादी, जसपा वा अन्य पनि हुन्।

कुनै लेखकले भनेका छन्– राजनीतिको नैतिकतासँग कुनै सम्बन्ध हुँदैन। ओलीले संविधानमा नभएको धारा लगाएर संसद विघटन गरे त्यहाँ नैतिकता चाहिएन, संविधानको धारा तोडमोड गरी माधव नेपालको पार्टीको जन्म भयो त्यहाँ नैतिकता चाहिएन। जब पक्ष र प्रतिपक्ष नै अनैतिक छन् भने त्यहाँ नैतिकताको जरो खोज्नुलाई मुर्खता भन्दा अर्को उपमा दिन सकिँदैन। त्यो जगले चलाएको प्रशासनयन्त्रका स–साना ईकाईमा नैतिकता खोज्नु पटमूर्खपन हुन्छ। यसर्थ, नेपालका राजनीतिक दलहरू कुनै वेश्यालय भन्दा खत्तम छन्। कम्तिमा वेश्यालयमा नैतिकता हुन्छ। त्यहाँ पैसा तिरेपछि सम्भोग गर्न पाइन्छ। मानिस पैसा तिरेर त्यत्तिका लागि पुगेका हुन्छन्।

नेपालको संयन्त्रमा तपाई हरेक दिन कर तिर्नुहुन्छ, तर त्यसअनुसारको सेवा र सुविधा खोज्नका लागि पनि नैतिकहिन राजनीतिक दलका कुनै न कुनै प्रतिनिधिलाई अर्को घुस खुवाउनुपर्ने बाध्यतामा पर्नुहुन्छ। तपाई प्रारम्भिक न्यायका लागि प्रहरीकहाँ पुग्नुहुन्छ तर त्यहाँ त्यहि गएगुज्रेका राजनीतिक दलका नेताको दबाबका कारण न्यायघरसम्म पुग्नुहुन्न। अब त न्याय घर नै यति फोहोर भइसकेको छ, न्याय दिलाउनका लागि दलिल पेस गर्नेहरु दलाल भइसकेका छन्, यो अहिलेको परिदृश्यले साबित गरिसकेको छ।

भटाभट महाधिवेशन र राष्ट्रिय सम्मेलन गरीररहेका राज्यको सरकार चलाउने र प्रतिपक्षमा बस्ने राजनीतिक दलका हरेक केन्द्रीय समिति, कमिटी अथवा अनेक संयन्त्रमा निर्वाचित अनुहारलाई देखेपछि तपाईले एक पटक सोच्नुपर्छ– प्रहरीले कसरी काम गर्न सक्छ? उसको नैतिक बल कति होला र?

प्रहरीबाट अवकाश प्राप्त भएका व्यक्तित्व, अनुभवले खारिएका व्यक्ति राष्ट्रिय सुरक्षा, समाज सुरक्षाका विभिन्न संयन्त्रमा विज्ञका रुपमा देखिनुपर्ने, देखाइनुपर्नेमा विचराका रुपमा व्याख्या हुने परिस्थिति कहिले अन्त्य हुन्छ? त्यसैले टिप्पणीकार भन्छ– प्रहरी पिपल हो, उसलाई आम मानिसले पुज्न सक्ने छहारी दिन सक्ने स्वरुपमा अगाडि बढाऊ नकी कुनै अर्को एउटा ढल्न लागेको बुढो रुखको बुट्टो बन्न दिने हो जसमा एउटा फोहोरी चरोको केजाती मात्र देखिन्छ

अपराध, गुन्डागर्दी, तस्करी, चोरी, हत्या, भ्रष्टाचारी खोज्न प्रहरी कहाँ जानुपर्ने? प्रत्येक दलका केन्द्रीय समिति, भ्रातृ संगठन र महाधिवेशनका अनुमोदन हेर्नुहोस्। सामाजिक सञ्जालमा आएका बधाईका ओइरो हेर्नुहोस्। त्यहाँ कस्ता बिम्ब छन्?

यो देशमा सरकार गठन हुँदा रक्षामन्त्री कसलाई नियुक्त गर्ने भन्ने विषयको जानकारी नेपाली सेनामा पुग्दा उसले स्वीकार गरेका व्यक्ति मात्र हुन्छन्। तर, यो देशमा गृहमन्त्री कसलाई बनाउने भन्ने विषय दलाल र भ्रष्टहरूको काँधमा मात्र हुन्छ। यहिँबाट तपाईको अनुमानले गति लिनुपर्छ, यो देशमा प्रहरी कसरी काम गरिरहेको छ।

एउटा अफिसर प्रहरीमा भर्ती हुँदा समाजलाई अपराधमुक्त बनाउँछु भन्ने जाँगरमा हिँडेको हुन्छ। जब उसले विविध कमान्ड सम्हाल्नुपर्ने २५–३० बर्षको जागिरे जीवन बिताउँछ, कुनै बेला मानव हत्या, तस्करी, गुन्डागर्दी वा रक्तचन्दन तस्करी गरेको अभियोगमा मुद्दा लगाएको मानिसलाई आफ्नो उपल्लो मातहतमा निर्देशन मान्नुपर्ने अवस्थामा पुग्दा उसको नैतिक बल कति हुन्छ? यो शिलशिलेबार अवस्था कसले बनायो? यी तथाकथित राजनीतिक दल र यीनका भ्रष्ट आचरण भएका नेताहरूले होइन?

सुरक्षा मामिलासम्बन्धीका समाचारमा सरुवा बढुवाका समाचार पढ्दा टिठ लाग्छ। त्यहाँ स्पष्टसँग को कसको शक्तिका आडमा कुन जिल्ला क्षेत्र वा निकायको प्रमुख भएर पुगेको हुन्छ? शीर्षकहरू पनि बडो गज्जबका हुन्छन्–‘आकर्षक पोष्टिङ’। यो आकर्षकको मापदण्ड के हो? दरबारमार्ग जाँदा आकर्षक तर कालीकोट जाँदा आकर्षक नहुनुको कारण के हो? यो कारणको जरो कहाँनेर बन्यो? तराई र नाकाका प्रमुख भएर जाँदा निक्कै आकर्षक मालदार तर प्रहरी प्रधान कार्यालयभित्रको एउटा युनिट किन आकर्षक हुँदैन? यसको मापनयन्त्र के हो? स्पष्ट छैन र– भ्रष्टाचार! अनि, यसो गर्न आईजी किन बाध्य हुन्छन्? किनभने कि उ भ्रष्ट छ, कि उसलाई जागिर मात्र खानु छ, शासन चलाउनू छैन।

नेपाल प्रहरी असक्षम होइन। असक्षम बनाउन थालिएको छ। विश्वभर हत्याको श्रृङ्खला चलाउने विकिनी किलर चाल्र्स शोभराजलाई जीवनको अर्धबैंशदेखि उत्तरार्धको जीन्दगी देखाउन सक्ने, अपराधीहरूलाई निर्णयका आधारमा ठाउँको ठाउँ गोली ठोक्न सक्ने, बलात्कार प्रकरणमा बाहलबाला सभामुखलाई पक्राउ गरी कारबाही गर्न सक्ने, पत्नी हत्यारा डिआईजीलाई जेलको कालो कोठामा पुर्याउन सक्ने, नक्कली डाक्टर, इन्जिनियर, बलात्कारी पक्राउ गर्न सक्नेले राजनीतिक दलसँग जोडिएका अपराधलाई किन छुन सक्तैन? यो सबैको जग फोहोरी, घिनलाग्दो र नैतिकहिन राजनीतिक दल र तिनका नेतालाई स्थापित गराउनु हो।

प्रहरी संगठनलाई स्वतन्त्र, निर्भयपूर्ण, निर्णायक र कानुनपरक बनाएर चलाउनका लागि राजनीति हुनुपर्ने थियो। तर त्यसलाई फोहोरी बनाउने खेल भएकैले कतिपय पूर्वप्रहरी त राजनीतिमा नै सक्रिय हुन थालिसकेका छन्। प्रहरीबाट अवकाश प्राप्त भएका व्यक्तित्व, अनुभवले खारिएका व्यक्ति राष्ट्रिय सुरक्षा, समाज सुरक्षाका विभिन्न संयन्त्रमा विज्ञका रुपमा देखिनुपर्ने, देखाइनुपर्नेमा विचराका रुपमा व्याख्या हुने परिस्थिति कहिले अन्त्य हुन्छ? त्यसैले टिप्पणीकार भन्छ– प्रहरी पिपल हो, उसलाई आम मानिसले पुज्न सक्ने छहारी दिन सक्ने स्वरुपमा अगाडि बढाऊ नकी कुनै अर्को एउटा ढल्न लागेको बुढो रुखको बुट्टो बन्न दिने हो जसमा एउटा फोहोरी चरोको केजाती मात्र देखिन्छ।

(यो आलेखको आन्तर्य प्रहरीको सम्मानका लागि हो, पेशाको सम्मान गर्दै तमाम पेशाभित्रका फोहोरी चरित्रको विरोधमा हो)