३० आश्विन २०८३, शुक्रबार

दुधे बालक च्यापेर मैदानमा

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ पुस । राति चार/पाँचपटक उठेर छोरालाई दूध चुसाउनुपर्छ ।

दिसा–पिसाब गरे/नगरेको हेर्नुपर्छ । बिहान ६ बजेदेखि नै प्रशिक्षण । त्यसैले ८ महिने छोरा अमनलाई काखी च्यापेर दाङ लमही–७ हसनापुरकी अनिता चौधरी क्रिकेट खेल्न मैदान पुगिन् ।

प्रशिक्षण सुरु भएपछि छोरालाई मैदानबाहिर सुताएर खेल्न थालिन् । बेलाबेला रोए/नरोएको हेर्ने र दूध चुसाउने कार्य निरन्तर चलिरह्यो । दुधे बालक स्याहार्दै खेल्दै गरिरहेकी अनिता एक वर्षको अन्तरालपछि क्रिकेट मैदान फर्किएकी हुन् । त्यसैले उनलाई अभ्यास थाल्न सहज भने भएन ।

‘हात र ढाड दुखेर सुरुका दिन केही अप्ठ्यारो भयो,’ उनले सुनाइन्, ‘तर प्रशिक्षणले पुनः लयमा फर्किएँ ।’

उनी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटका लागि लुम्बिनीस्तरीय छनोट खेल्न भैरहवामा आइपुगेकी हुन् । २४ वर्षीया अनिताको ‘कमब्याक’ को यो पहिलो प्रतियोगिता थियो । दुई वर्षअघि विवाह गरेर आमा बनेपछि उनले मैदान टेक्न पाएकी थिइनन् ।

बोल्न लजाउने र पातलो ज्यानकी उनी बलिङ गर्न माहिर छन् । सानोमा गाउँका दाइहरूले चौरमा क्रिकेट खेलेको हेर्दै हुर्केकी उनी भन्छिन्, ‘सुरु–सुरुमा ब्याट र बल देख्दा डर लाग्थ्यो, बल छोप्न नसकेर भाग्ने र ब्याट फालिदिने गर्थें । तर साथी र दाइहरूसँग खेल्दाखेल्दै ब्याट र बल नै प्यारो लाग्न थाल्यो ।’

ढुंगोजस्तो साह्रो ड्युज बल समात्दा नडराएकी होइनन्, धेरैपल्ट छोडेर भागिन् पनि । तर गुरुले हातमै थमाएर धेरैबेर समात्न सिकाएपछि आफूलाई बानी पर्दै गएको अनिताले सुनाइन् । उनी दाङ महिला क्रिकेट टोलीकी तेस्रो ब्याचकी खेलाडी हुन् । दाङ टोलीबाट लगातार १० वर्षसम्म खेलिरहेकी छन् । त्यसबीचमा उनले आठ राष्ट्रिय, दुई प्रधानमन्त्री कप र अन्य धेरै प्रतियोगितामा भाग लिएकी छन् ।

मिडियम पेस बलर अनिताले २०७२/७३ मा इटहरीमा सम्पन्न आठौं राष्ट्रिय खेलकुदमा एकै खेलमा चार विकेट लिएकी थिइन् । ‘प्लेयर अफ द म्याच’को उपाधि नै चुमिन् । त्यो आफ्ना लागि स्मरणीय उपलब्धि भएको उनी सुनाउँछिन् ।

विवाहपछि अनिताले खेल्छिन् कि खेल्दिनन् भन्ने साथीहरूबीच बहस नै हुन्थ्यो रे । त्यसमाथि कोरोना महामारीका कारण महिला क्रिकेट प्रतियोगिता नभएको अवस्था थियो भने अनिता पनि आमा बनेकी थिइन्, आजको कान्तिपुर दैनिकमा सञ्जु पौडेलले समाचार लेखेकी छिन् ।