३० आश्विन २०८३, शुक्रबार

कांग्रेसको १४औं महाधिवेशन : पदाधिकारीमा सन्तुलित टीम

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ पुस । कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित १३ सदस्यीय पदाधिकारीमा समूहगत, उमेरगत र समावेशी तीनै कोणबाट सन्तुलन मिलेको छ ।

उपसभापति पूर्णबहादुर खड्काबाहेक पदाधिकारीमा सबै नयाँ अनुहार छन्, बहुमत पदाधिकारी ५५ वर्षमुनिका छन् । आगामी तीनै तहको चुनावी तयारीका लागि सभापति शेरबहादुर देउवाले समन्वयकारी भूमिका खेलेर अगाडि बढे पदाधिकारी सहयोगी र मिलाउन नसके चुनौती बन्ने सम्भावना छ ।

महाधिवेशन प्रतिनिधिले पार्टीभित्रको शक्ति सन्तुलन सम्बोधन गर्ने पदाधिकारी चयन गरेका छन् । यसले सिंगो कांग्रेसको प्रतिनिधित्व गर्ने अवस्था छ, तर समग्र पार्टी परिचालनको जिम्मा देउवाको काँधमा छ ।

महाधिवेशनमा पार्टीभित्र रूपान्तरण र पुस्तान्तरणको मुद्दा जोडदार रूपमा उठेको थियो । इतर समूहका नेताहरूले सहयोग र संघर्षको नीति लिने बताइसकेका छन् ।

पार्टीलाई राम्रो बनाउने तथा गुटबन्दी भत्काउन सभापति देउवालाई निःसर्त सहयोग गर्ने र मनोमानी गरे संघर्ष गर्ने इतर समूहबाट पदाधिकारी निर्वाचित नेताहरूले बताएका छन् ।

विधानअनुसार कांग्रेसमा १४ पदाधिकारी हुन्छन् । कोषाध्यक्ष भने केन्द्रीय कार्यसमितिबाट चयन हुने व्यवस्था छ । देउवासँग सभापतिमा प्रतिस्पर्धा गरेका डा. शेखर कोइरालाले १४औँ महाधिवेशनले पार्टी यथास्थितिमा चल्न सम्भव नरहेको बताएका छन् । आफूहरूले त्यसैअनुसार अघि बढ्ने उनको भनाइ छ ।

‘कांग्रेस परिवर्तनको पक्षमा उभिने हामी मतपरिणामबाट धेरै उत्साही र धेरै हतोत्साही हुनेछैनौँ । पार्टीको आन्तरिक निर्वाचनमा जय र पराजयलाई स्वाभाविक रूपमा लिँदै कांग्रेस रूपान्तरणको एजेन्डामा निरन्तर क्रियाशील हुनेछौँ,’ शुक्रबार विज्ञप्ति निकाल्दै कोइरालाले भनेका छन्, ‘मेरो उम्मेदवारीले पार्टीलाई रूपान्तरण गर्ने र नयाँ ढंगले चलाउन चाहिने मत प्राप्त भएको छ । मलगायत मेरो टीम विश्वास दिलाउन चाहन्छ– हामी निरन्तर पार्टीलाई सुधार, नीतिमुखी र परिवर्तनकारी शक्तिको रूपमा सञ्चालन गर्न जागृत रहनेछौँ ।’ आजको नयाँ पत्रिका दैनिकमा हिमाल पौडेल र केशवप्रसाद पाण्डेले समाचार लेखेका छन् ।