
काठमाडौं, ३ पुस । गत २६ मंसिरका दिन घोराही १० नारायणपुरका व्यवसायी खिमराज शर्मा घोराहीस्थित सिद्धार्थ बैंकबाट ७ लाख रुपैयाँ निकाली घरतर्फ लागे ।
तर, घर पुग्दा उनीसँग रकमको झोला थिएन । रकम हराएपछि आत्तिएका उनले तुरुन्तै प्रहरीलाई जानकारी गराए । महानगरीय प्रहरी शिक्षालय काठमाडौंमा कार्यरत प्रहरी निरीक्षक अनिता महत साँझ ५ बजे अटो चढेर घोराही उपमहानगरपालिका–१० खैराबाट पूर्व घोराही बजार जाँदै थिइन् ।
त्यसक्रममा उनले सडकमा अनौठो दृश्य देखिन् । दृश्य कस्तो भने व्यस्त बीच सडकमा दुई युवा छिटोछिटो पैसाको बन्डल टिपेर झोलामा राख्दै थिए । ती युवा अलि आत्तिएको र हडबड गरिरहेको उनले ठम्याइन् ।
सडकमा सवारीसाधन गुडिरहेका थिए । पैदल यात्रु पनि थिए । तर, कसैले पनि यो दृश्यलाई गम्भीर रूपमा लिएको प्रहरी निरीक्षक पाण्डेले पाइनन् । आफ्नै मनको एक कुनाले उनलाई भन्यो, ‘पैसा उनीहरूकै भएकाले कसैले केही भनेनन् ।’
तर, अर्को मनले भन्यो, ‘पैसा उनीहरूकै भएको भए उनीहरू आराम साथ टिप्थे । सडकको छेउमा एकछिन गफिन्थे पनि । हडबडाहट पनि गर्दैनथे । र, पैसा टिप्नेबित्तिक्कै मोटरसाइकल हुँइक्याउँदैन थे ।’
आफ्नो मनको पछिल्लो तर्कसँग उनी नजिक भइन् । त्यसपछि उनले प्रहरीको हटलाइन नम्बर १०० मा फोन गरिन् । ‘कतैबाट पैसा हराएको सूचना आएको छ ?’ उनको प्रश्न भुईंमा खस्न नपाउँदै जवाफ आयो– छ ।’
त्यसपछि हतार हतार सडकबाट त्यो पैसा टिप्नेहरूको पैसा नभएको निष्कर्षमा उनी पुगिन् । र एउटा जिम्मेवार नागरिकको कर्तव्य निर्वाह गर्नतर्फ लागिन् ।
हटलाइन नम्बर उठाउने प्रहरी कर्मचारीसँग उनले जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेको नम्बर मागिन् । तर, उनी बिदामा रहेको जानकारी पाइन् ।
त्यसपछि उनले जिल्ला प्रहरी प्रवक्ता डीएसपी मुकुन्द रिजालको नम्बर लिएर सम्पर्क गर्न खोजिन् । डीएसपी रिजालले रिसिभ नगरेपछि उनले ‘सर, आइएम इन्स्पेक्टर अनिता महत’ भनेर म्यासेज गरिन् । त्यसपछिको कल भने डीएसपी रिजालले रिसिभ गरेपछि आफूले देखेको सबै विवरण सुनाइन् । मोटरसाइकल नम्बर पनि टिपाइन् ।
प्रहरी निरीक्षक महत र डीएसपी रिजालको टेलिफोन कुराकानीपछि भने अनुसन्धान प्रक्रियाले तीव्रता पायो । भोलिपल्ट २७ मंसिरको बिहानैदेखि डीएसपी रिजालले आफूले पाएका सूचनाका आधारमा तुलसीपुरस्थित यातायात कार्यालयबाट मोटरसाइकलको खोजी थाले ।
सोधखोजकै क्रममा मोटरसाइकल धनीको पहिचान खुलेपछि इलाका प्रहरी कार्यालयले तुलसीपुर उपमहानगरपालिका–१२ स्थित अस्थायी प्रहरी पोस्ट जसपुरलाई त्यसको रिले गर्यो । जसपुर प्रहरीले लगत्तै तुलसीपुर १२ कचिलाका निमबहादुर चौधरीलाई सम्पर्क गर्यो ।
उनीसँगको सम्पर्कपछि रकम कसरी हरायो ? निमबहादुरको हातमा कसरी त्यो रकम पुग्यो ? उनीहरूले त्यो रकम कसरी राखेका थिए भन्ने बाहिर आयो । सिभिल पोसाकमा बाटोमा हिँडिरहेकी प्रहरी निरीक्षक महतको शंका र त्यसपछि उनले चालेको असल कदमले पीडितले पनि हराएको रकम पाउन सके ।
प्रहरी निरीक्षक महतले जसरी एउटा असल नागरिकको जिम्मेवारी बहन गरेकी थिइन्, रकम फेला पार्ने निमबहादुरले पनि त्यसैगरी असल नागरिकको जिम्मेवारी बहन गरेको पाइएको छ । उनले रकम फेला परेपछि सुरक्षित ढंगले राखेका थिए । प्रहरीले सोधखोज गर्दा पनि उनले कुनै कुरा लुकाएका थिएनन्, आजको राजधानी दैनिकमा समाचार प्रकाशित भएको छ ।















प्रतिक्रिया