
काठमाडौं, २ पुस । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापति पदमा पराजित भएका डा. शेखर कोइरालाले निर्वाचन लड्दा आफूले पाएको ४० प्रतिशत मतबाट भावविभोर भएको बताएका छन् ।
आफूलाई प्राप्त मतले कांग्रेस सुधारको प्रकृयालाई अगाडि बढाउने थप जिम्मेवारी आफ्नो काँधमा आएको कोइरालाको भनाइ छ । ‘मलाई प्राप्त मतले कांग्रेस सुधारको प्रकृयालाई अगाडि बढाउने थप जिम्मेवारी मेरो काँधमा आएको छ,’ कोइरालाले भनेका छन्, ‘मलाई प्रतिनिधि साथीहरुबाट प्राप्त ४० प्रतिशत मतले म भावविभोर भएको छु ।’
प्रतिनिधिहरुले आफूप्रति देखाएको विश्वास र भरोसालाई नतोड्ने प्रतिबद्धता व्यक्त गर्दै कोइरालाले आफू अविचलित रहने प्रण समेत गरेका छन् ।
‘नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा म पार्टी सभापतिमा पराजित भएको छु । केही मतबाट पराजित भए पनि हामीले प्रतिनिधि साथीहरु र लोकतन्त्रवादीहरुको ‘मन’ जित्न सफल भएका छौं,’ कोइरालाले आज शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै लेखेका छन्, ‘पार्टीभित्र मात्र होइन, पार्टी बाहिरका आम लोकतन्त्रवादीहरुबीच पनि हामीले कांग्रेसप्रति आकर्षण बढाएका छौँ, भरोसा र विश्वासको वृद्धि गराएका छौं ।’
‘मलाई विश्वास छ, पार्टीका प्रतिनिधि साथीहरु, शुभेच्छुक मित्रहरु र आम नेपाली जनता बीच मेरो उम्मेदवारीले पार्टीलाई रुपान्तरण गर्ने र नयाँ ढंगले चलाउन चाहिने मत प्राप्त भएको छ । म लगायत मेरो टीम विश्वास दिलाउन चाहन्छ, हामी निरन्तर पार्टीलाई सुधार, नीतिमुखी र परिवर्तनकारी शक्तिको रुपमा सञ्चालन गर्न जागृत रहने छौँ,’ विज्ञप्तिमा उल्लेख छ ।















प्रतिक्रिया