
काठमाडौं, २ पुस । कांग्रेसको १४औं महाधिवेशनबाट युवा नेताद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा महामन्त्री निर्वाचित भएका छन् ।
यी दुई नेता प्रमुख कार्यकारी पदमा पुगेसँगै कांग्रेस वृत्तमा उत्साह जागेको छ । थापा र शर्माको जितपछि कांग्रेस केन्द्रीय कार्यालय सानेपामात्र होइन, दिनभर राजनीतिक क्षेत्र नै तरंगित बन्यो । यी नेतालाई प्रमुख प्रतिपक्ष दल एमालेलगायत अन्य दलका नेताहरूले पनि बधाई दिए । सामाजिक सञ्जालबाट बधाईको ओइरो लाग्यो ।
यसो हुनुको एउटै कारण हो– पुरानो पार्टीको कार्यकारी पदमा युवा नेता निर्वाचित हुनु । ‘सम्पूर्ण शक्ति एकजुट हुँदा पनि महाधिवेशन प्रतिनिधिले दुवै जनालाई गुट (प्यानल) भन्दा माथि राखेर मतदान गरेको देखियो, हामी केन्द्रमा बस्नेहरू गुटमा फस्यौं, गाउँ–गाउँबाट आएका महाधिवेशन प्रतिनिधि साथीहरूमा भने विवेकको विकास भएको देखियो,’ कांग्रेस नेता अर्जुननरसिंह केसीले भने, ‘यसले कांग्रेसमा साँच्चिकै रूपान्तरण र पुनर्जागरणको युग सुरु भएको छ ।’ सधैं विधि र लोकतन्त्रका लागि लडेका युवा नेताद्वयको विजयले पार्टीले सही गति लिने उनले बताए ।
सोमबार सम्पन्न निर्वाचनमा थापा र शर्मासँगै अन्य चार जना प्रतिस्पर्धी थिए । थापा शेखर कोइरालाको प्यानलबाट र शर्मा प्रकाशमान सिंहको प्यानलबाट उम्मेदवार बनेका थिए । बिहीबार सम्पन्न मतगणनामा थापाले ३ हजार २३ मत र शर्माले १ हजार ९ सय ८४ मत प्राप्त गरेका छन् । थापाले प्राप्त गरेको मत उनको प्यानलका सभापति उम्मेदवार कोइरालाले पहिलो चरणमा प्राप्त गरेको भन्दा १ हजार ३ सय ३१ ले बढी हो । शर्माले पनि आफ्नो प्यानलका सभापतिका उम्मेदवार सिंहले भन्दा १ हजार ६ सय १३ मत बढी ल्याए ।
शेरबहादुर देउवा पुनः सभापतिमा निर्वाचित हुँदा उनको प्यानलबाट महामन्त्रीका उम्मेदवार बनेका प्रकाशशरण महत र प्रदीप पौडेल भने पराजित भएका छन् । महतले १ हजार ५ सय ५६ र पौडेलले १ हजार १ सय ९३ मत प्राप्त गरे । कोइराला प्यानलका मीनेन्द्र रिजालले ८ सय ९ र विमलेन्द्र निधि प्यानलका राजाराम कार्कीले १ सय ६ मत ल्याए ।
४५ वर्षीय थापा २०६७ मा सम्पन्न १२औं महाधिवेशनबाट केन्द्रीय कार्यसमितिमा प्रवेश गरेका हुन् । उनी उतिबेला सबैभन्दा बढी मत ल्याएर केन्द्रीय सदस्य निर्वाचित भएका थिए । १३ औं महाधिवेशनमा महामन्त्री उम्मेदवार बने पनि पराजित भएका थिए । थापा केन्द्रीय सदस्यमा लोकप्रिय मतका साथ निर्वाचित हुँदा शर्मा भने सोही महाधिवेशनमा झापा जिल्ला सभापतिमा पराजित भएका थिए ।
१३ औं महाधिवेशनमा भने केन्द्रीय सदस्य हुँदै उनले पार्टी प्रवक्ताको जिम्मेवारी पाए । महामन्त्रीमा निर्वाचित भएपछि थापाले पार्टीलाई सबैको साझा बनाएर अघि बढ्ने बताएका छन् । कुनै समूहबाट निर्वाचन लडे पनि आगामी दिनमा त्यसको छनक कहीँ, कतै नदिने उनको भनाइ छ । ‘मैले गलत मान्छेलाई महामन्त्री बनाएछु भन्ने गरी कहिल्यै काम गर्ने छैन,’ उनले भने ।
शर्माले आफ्नो जितसँगै कांग्रेसमा रूपान्तरण अभियान सुरु भएको बताएका छन् । पार्टी कार्यालयमा पत्रकारसँग कुरा गर्दै उनले भने, ‘यो कुनै व्यक्ति र गुटको जित होइन, सिंगै कांग्रेसलाई रूपान्तरण गर्ने अभियानको सुरुवात हो ।’ उनले अबको चार वर्ष आफूमाथिको विश्वास डगमगाउन नदिने बताए ।
थापा र शर्मा दुवै जना नेविसंघको पृष्ठभूमिबाट राजनीतिमा उदाएका हुन्, आजको कान्तिपुर दैनिकमा कलेन्द्र सेजुवालले समाचार लेखेका छन् ।
२०५७ मा शर्मा नेविसंघको अध्यक्ष हुँदा थापा मध्यमाञ्चल विकास क्षेत्रबाट प्रतिनिधित्व गर्दै केन्द्रीय उपाध्यक्ष थिए । त्यसको दुई वर्षपछि गुरुराज घिमिरेको कार्यकालमा थापा महामन्त्री बने । पार्टीले गणतन्त्रको लाइन नलिँदै राजतन्त्रविरुद्ध बोल्दा घिमिरे र थापा हिरासत परेका थिए । २०६२/६३ को गणतान्त्रिक आन्दोलनमा थापा गणतन्त्रका ‘आइकन’ बनेका थिए । त्यही आन्दोलनले उनलाई राष्ट्रिय रूपमा स्थापित गरेको समाचारमा उल्लेख छ ।















प्रतिक्रिया