
काठमाडौं, २८ मंसिर । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत सभापति चयनका लागि भएको निर्वाचनमा प्रत्याशीहरू कसैले पनि ५१ प्रतिशत मत प्राप्त गर्न नसकेपछि नेतृत्व चयन दोस्रो चरणमा प्रवेश गरेको छ ।
सभापतिका बलियो उम्मेदवार मानिएका शेरबहादुर देउवालले ५१ प्रतिशत मत ल्याउन नसक्दा अन्ततः उनी झिनो मतान्तरले सभापति बन्नबाट रोकिए । उनको यो परिणामका लागि सभापतिका प्रत्याशी बिमलेन्द्र निधिको पर्याप्त प्रभाव रहेको परिणामले देखाएको छ ।
अन्तिम परिणामलाई हेर्दा शेरबहादुर देउवालाई सभापतिमा पराजित गर्न निधि सफल भएको समेत देखिन्छ । निधिले देउवालाई नै साथ दिएर अगाडि बढेको भए पहिलो चरणबाटै देउवा सभापतिमा चुनिने प्राप्त परिणामले स्पष्ट पारिसकेको छ ।
कांग्रेस महाधिवेशनका ४ हजार ७४३ प्रतिनिधिहरूबाट ४ हजार ६८१ मत खसेको थियो । पहिलो चरणमै जित निकाल्नका लागि बहुमत अर्थात् २३४० मत आवश्यक थियो । तर, उम्मेदवारहरू शेरबहादुर देउवा, डा. शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङमध्ये कसैले पनि पार्टी विधानअनुरुप ५१ प्रतिशत मत प्राप्त गर्न नसकेका हुन् ।
अन्तिम परिणाम अनुसार पहिलो चरणमा देउवाले २२५८ मत प्राप्त गरेका छन् । उनले ८२ मतले ५१ प्रतिशत मत ल्याउन सकेनन् । कोइरालाले १७२९, सिंहले ३७१ निधिले २४९ र गुरुङले २०मत प्राप्त गरेका छन् ।
यो परिणामसँगै अब सबैभन्दा धेरै भोट प्राप्त गर्ने देउवा र कोइरालाका बीच प्रतिस्पर्धा हुने छ । तर जित भने डा. कोइरालाको पक्षतिर ढल्किएको देखिन्छ ।
रोचक मोडमा पुगेको कांग्रेस सभापति चयनको प्रक्रियामा अब सभापतिका प्रत्याशीद्वय प्रकाशमान सिंह र बिमलेन्द्र निधिको सहयोग देउवाका निकटतम प्रतिस्पर्धी डा. शेखर कोइरालालाई रहने सम्भावना बढेको छ । यस्तो अवस्थामा देउवा दोस्रो चरणमा पनि झिनो मतान्तरले नै पराजित बन्ने सम्भावना देखिएको छ ।















प्रतिक्रिया