
काठमाडौं, २८ मंसिर । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत सभापति चयनका लागि भएको निर्वाचनमा सभापतिका बलियो उम्मेदवार मानिएका शेरबहादुर देउवाले ५१ प्रतिशत मत ल्याउन नसक्दा अन्ततः कसैले पनि जित हासिल गर्न सकेनन् ।
महाधिवेशनका ४ हजार ७ सय ४३ प्रतिनिधिहरूमध्ये ४ हजार ६८१ मत खसेको थियो । पहिलो चरणमै जित निकाल्नका लागि बहुमत अर्थात् २३४० मत आवश्यक थियो । तर, उम्मेदवारहरू शेरबहादुर देउवा, डा. शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङमध्ये कसैले पनि पार्टी विधानअनुरुप ५१ प्रतिशत मत प्राप्त गर्न नसकेका हुन् ।
अन्तिम परिणाम अनुसार पहिलो चरणमा देउवाले २२५८ (४८.२३ प्रतिशत) मत प्राप्त गरेका छन् । उनले ८२ मतले ५१ प्रतिशत मत ल्याउन सकेनन् । कोइरालाले १७२९, सिंहले ३७१ निधिले २४९ र गुरुङले २०मत प्राप्त गरेका छन् ।
यो परिणामसँगै अब सबैभन्दा धेरै भोट प्राप्त गर्ने देउवा र कोइरालाका बीच प्रतिस्पर्धा हुने छ ।
रोचक मोडमा पुगेको कांग्रेस सभापति चयनको प्रक्रियामा अब सभापतिका प्रत्याशीद्वय प्रकाशमान सिंह र बिमलेन्द्र निधिको सहयोग अर्का देउवाका निकटतम प्रतिस्पर्धी डा. शेखर कोइरालालाई रहने सम्भावना बढेको छ । यस्तो अवस्थामा देउवा दोस्रो चरणमा पनि झिनो मतान्तरले नै पराजित बन्ने सम्भावना देखिएको छ ।
कांग्रेसको विधानअनुसार सभापतिमा निर्वाचित हुन बहुमत अर्थात् ५० प्रतिशतभन्दा बढी मत ल्याउनैपर्छ । यदि कसैले पनि ५० प्रतिशत नकटाएको अवस्थामा सबैभन्दा धेरै मत प्राप्त गर्ने दुई प्रतिस्पर्धीकाबीच पुनः मतदान गराउनुपर्ने व्यवस्था छ ।
निर्वाचन समितिले मतपत्रको तयारी गरेर तुरुन्तै मतदान प्रक्रिया अघि बढाउने जनाएको छ । कांग्रेसमा यसपटक सभापति १, उपसभापति २, महामन्त्री २ र सहमहामन्त्री ८ सहित १३४ पदका लागि निर्वाचन भएको छ ।















प्रतिक्रिया