
काठमाडौं, २५ मंसिर । यस वर्षको ‘विजयबाबु स्मृति पत्रकारिता पुरस्कार’ पत्रकार केशव प्रसाद पौडेललाई प्रदान गरिएको छ ।
२०४२ सालदेखि पत्रकारितामा सक्रिय पौडेललाई शुक्रबार सो पुरस्कार हस्तान्तरण गरिएको हो । नेपाल समाचार केन्द्र प्रालिद्वारा स्थापित सो पुरस्कारको राशि सम्मान पत्रसहित नगद ३४ हजार रहेको छ ।
नेपालमा आर्थिक पत्रकारिताको जग बसाल्न महत्वपूर्ण भूमिका खेलेका स्वर्गीय पत्रकार विजयबाबु खत्रीको स्मृतिमा २०७५ सालमा केन्द्रले पुरस्कार स्थापना गरेको हो । खत्रीको दशौं स्मृति दिवसको अवसरमा गत मंसिर १२ गते यस वर्ष पौडेललाई सो पुरस्कार प्रदान गरिने घोषणा गरिएको थियो ।
पुरस्कार छनोटका लागि नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेल र नेपाल समाचार केन्द्र प्रालिका अध्यक्ष खत्री सहितको समिति गठन भएको थियो । सोही समितिले पत्रकार पौडेललाई तेस्रो विजयबाबु स्मृति पत्रकारिता पुरस्कार दिने निर्णय गरेको थियो ।
केन्द्रद्वारा सञ्चालित न्युजकारोबार डटकमको पाँचौं वार्षिकोत्सवको अवसरमा सो पुरस्कार हस्तान्तरण गरिएको हो । पुरस्कृत व्यक्तित्व पौडेललाई केन्द्रकी अध्यक्ष लक्ष्मी श्रेष्ठ खत्रीले सम्मानपत्र हस्तान्तरण गरिन् ।
सो अवसरमा उनले पौडेलजस्ता अग्रज पत्रकारलाई पुरस्कृत र सम्मानित गर्न पाउँदा समाचार केन्द्र गौरवान्वित भएको बताइन् । पत्रकार पौडेलले पनि केन्द्रले आफू र आफ्नो पत्रकारितालाई सम्झिएकोमा धन्यवाद दिए ।















प्रतिक्रिया